कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नयाँ संक्रमितको संख्या बढ्दै गएपछि कोरियाका विद्यालय फेरि बन्द

बिहीबार ७९ र शुक्रबार ५८ जनामा संक्रमण देखिएपछि ५ सयभन्दा बढी विद्यालयमा पठनपाठन बन्द गरिएको हो
(एजेन्सी)

सोल — कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या बढ्दै गएपछि दक्षिण कोरियामा विद्यालयहरू पुन: बन्द गरिएको छ ।

नयाँ संक्रमितको संख्या बढ्दै गएपछि कोरियाका विद्यालय फेरि बन्द

अधिकारीहरूका अनुसार पाँच सयभन्दा बढी विद्यालयहरूमा पठनपाठन सुचारु भएको केही दिनमै बन्द गरिएको हो । भाइरसको संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधबारदेखि विद्यालयमा पठनपाठन सुचारु गरेको थियो । तर बिहीबार ७९ जना संक्रमित थपिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको हो । उक्त संख्या एकै दिन संक्रमित भएका दुई महिनायताकै बढी हो । अधिकारीका अनुसार बिहीबार संक्रमण देखिएका अधिकांश राजधानी सोलबाहिरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् ।

देशकै ठूलो कम्पनी कुपाङको बुचनस्थित एक गोदाममा कार्यरत कर्मचारीलाई संक्रमण देखिएको हो । कम्पनीमा दसौं हजार जना कार्यरत भएकाले अधिकारीलाई कन्ट्याक्ट ट्ेरसिङ गर्न निकै कठिन देखिएको छ । जसका कारण दक्षिण कोरियामा आगामी दिनमा संक्रमितको संख्या बढ्ने लगभग निश्चित जस्तै देखिएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बारे विश्वव्यापी रूपमा तथ्यांक अद्यावधिक गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण कोरियामा शुक्रबार साँझसम्म संक्रमितको संख्या ११ हजार ४ सय २ पुगेको छ । भाइरसको संक्रमणका कारण हालसम्म २ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् ।

शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै कोरिया टाइम्सले बुचन तथा सोलका ५ सयभन्दा बढी विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको जनाएको छ । मन्त्रालयले राजधानी सोलका १ सय १७ विद्यालयमा पठनपाठन सुचारु गर्ने मिति केही पर सारिएको जनाएको छ । सीएनएनका अनुसार शुक्रबारसम्ममा देशभरका ८ सय ३८ विद्यालय खुल्ने समय पछि सारिएको छ ।

अधिकारीका अनुसार सोलस्थित एक विद्यालयका विद्यार्थीलाई भाइरसको संक्रमण देखिएको छ । उनकी आमाले बुचनको उक्त गोदाममा काम गर्दै आएकी थिइन् ।

नयाँ संक्रमितहरू फेला परेसँगै राजधानी सोल तथा वरपरका सार्वजनिक पार्क र संग्रहालयहरू पनि बन्द गरिएको छ । त्यस्तै व्यवसायीहरूलाई सकभर कर्मचारीलाई घरबाटै काम गराउन भनिएको छ भने मानिसहरूलाई भीड हुने कुनै पनि काम नगर्न आग्रह गरिएको छ ।

दक्षिण कोरियामा सन् २०२० को सुरुवातमै भाइरसको संक्रमण व्यापक फैलिएको थियो । तर बृहत् रूपमा ‘परीक्षण, ट्रेसिङ र उपचार’ का कारण छोटो समयमै नियन्त्रणमा आएको थियो । भाइरसको संक्रमण लगभग नियन्त्रणमा आएपछि कोरियामा चुनावसमेत गरिएको थियो ।

तर पछिल्ला केही सातायता नाइट क्लबबाट फेरि संक्रमण फैलिएको हो । अधिकारीका अनुसार सोलको इथेवन क्षेत्रका ५ वटा नाइट क्लब र बार पुगेका एक व्यक्तिमा संक्रमण देखिएको थियो । कोरियाली सञ्चारमाध्यमका अनुसार इथेवन क्षेत्रसँग सम्बन्धित २ सय ६६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?