१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतमा कोरोनाबाट मृत्यु हुने चीनमा भन्दा बढी

(एजेन्सी)

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी पुगेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुने चीनमा भन्दा बढी

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ४ हजार ७ सय ९७ पुगेको छ । भाइरसको संक्रमण सुरु भएको चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३८ छ । भारतले कुल संक्रमितको संख्यामा भने चीनलाई केही साताअघि नै उछिनेको थियो ।

मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या १ लाख ६७ हजार ४ सय ४२ छ । विश्वव्यापी रूपमा भाइरसको तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा संक्रमितको संख्या ८४ हजार १ सय १९ मात्र छ ।

भारतमा हाल चौथो चरणको लकडाउन जारी छ । पछिल्लो समय लकडाउन खुकुलो पारिएसँगै भारतमा संक्रमितको संख्या झन् बढेको छ । जनस्वास्थ्यविद्हरूले भारतमा संक्रमण अझै उच्च बिन्दुमा पुगिनसकेको बताएका छन् । उनीहरूका अनुसार जुन र जुलाई महिनामा भारतमा संक्रमितको संख्या निकै बढ्नेछ ।

भाइरसका कारण भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । शुक्रबार साँझसम्म महाराष्ट्रमा संक्रमितको संख्या ५९ हजार ५ सय ४६ पुगेको छ भने करिब २ हजार जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी, तमिलनाडु १९ हजार ३ सय ७२ जना संक्रमति छन् । १ सय ४५ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा १६ हजार २ सय ८१ र गुजरातमा १५ हजार ५ सय ६२ जना संक्रमित छन् । गुजरातमा ९ सय ६० र दिल्लीमा ३ सय १६ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालसँग सीमा जोडिएकामध्ये उत्तरप्रदेश राज्य बढी प्रभावित देखिएको छ । त्यहाँ ७ हजार १ सय ७० जना संक्रमित छन् भने १ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, पश्चिम बंगालमा ४ हजार ५ सय ३६, बिहारमा ३ हजार २ सय ९६ र उत्तराखण्डमा ५ सय जना संक्रमित छन् । पश्चिम बंगालमा २ सय ९५, बिहारमा १५ र उत्तराखण्डमा ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?