२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भारतमा सलहको सन्त्रास

राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहका कारण ठूलो मात्रामा बालीनाली नष्ट भएको छ ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा हो ।

भारतमा सलहको सन्त्रास

सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति पुर्‍याउने भएकाले सलहलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतका वर्षहरुमा सलहको हुल भारतलगायतका दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यस वर्ष केही पहिले नै आएको छ । जसले गर्दा कोरोना महामारीका कारण अर्थतन्त्रनै धरासायी हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गई संकट थप गहिरिने त्रास बढेको छ ।

भारतमा सामान्यत: गर्मीयाममा पाकिस्तानको सीमा हुँदै पश्चिम राजस्थान र गुजरातमा सलह प्रवेश गर्ने गर्छ । तर, यस वर्ष भने चैतको अन्त्यतिर नै सलह देखिएको थियो । हाल भारतका राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहले ठूलो मात्रामा बालीनाली नष्ट पारेको छ ।

भारतमा अहिले देखिएको सलह अफ्रिकी मूलको भएको र पछि इरान र पाकिस्तानमा प्रजनन हुँदै गएको बुझिएको छ । सलहको एउटा सामान्य हुल एक वर्गकिमि देखि कैयौं वर्ग किमि क्षेत्रफलसम्म फैलने गर्छ । एक वर्गकिमिमा फैलिएको बथानमा ४ करोडदेखि ८ करोडवटासम्म सलह हुने गरेको अनुमान छ । अझ ठूला हुलमा त त्यो संख्या अरबसम्म पुग्ने गर्छ । भारतीय सञ्चरामाध्यमहरुले विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै एउटा सलहले हरेक दिन आफ्नो तौलबराबर करिब २ ग्रामबराबर खानेगर्छ । एउटा सानो हुलले हरेक दिन २ हजार ५ सय जनाले खानेबराबरको खाद्यबाली खान सक्छन् । हुल बाँधेर हिँड्ने यो कीराले हजारौं किलोमिटर यात्रा गर्न सक्छ ।

सामान्यत: भारतमा आउने सलह एकपटक वर्षाका बेला प्रजनन भएर र असोज लाग्दासँगै बाहिरिने गरेकोमा गत वर्ष वर्षा ढिलोसम्म भएको र यस वर्ष प्रिमनसुन पनि धेरै भएकाले तीनपटकसम्म प्रजनन भएको हुँदा संख्यामा पनि उल्लेख्य वृद्धि भएको दाबी गरिएको छ । जसका कारण यस वर्षको सलहको हुल अघिल्ला वर्षहरुभन्दा निकै ठूलो भएको बताइएको छ ।

यसैले पनि भारतका विज्ञहरुले अघिल्ला वर्षको तुलनामा खाद्यान्न बालीमा ठूलो क्षति पुग्ने अनुमान गरेका छन् । यस वर्ष वैशाखको सुरुवातमै भारत र पाकिस्तानको सीमा देखिएको बताइएको छ । राजस्थानमा एक महिनाअघि यसले त्रासदी मच्चाइसकेको छ । राजस्थान, हरियाणा र मध्यप्रदेशमा गहुँलगायतका कृषि बालीमा ठूलो मात्रामा क्षति पुर्‍याएको छ ।

राजस्थान र गुजरातका केही भागमा त मंसिर र पुस महिनामै सलहको प्रकोप देखिएको बताइएको छ । तर, पछिल्लो समय सलहको हुल निकै बढेको र उत्तरप्रदेश, दिल्ली, पन्जाबतिर बढिरहेको बताइएको छ । उत्तरप्रदेश र पन्जाब कृषि उपजका लागि चिनिएका राज्य हुन् ।

विभिन्न अध्ययनहरुले वर्षाका कारण सुक्खा क्षेत्रमा पनि हरियाली बढ्दा सलहको प्रजनन र हुर्कनमा सघाउने गर्छ । यस वर्ष प्रिमनुसनका कारण हरियो चरण क्षेत्रमा वृद्धि भएकाले सलहका लागि थप अनुकूल मानिएको छ । सलहबाट हुने क्षतिको अनुसन्धान र नियन्त्रणका लागि भारतमा कृषि मन्त्रालयअन्तर्गत लोकस्ट वार्निङ अर्गनाइजेसन (एलडब्लूओ) नामको विशेष इकाई नै स्थापना गरिएको छ । विभिन्न अध्ययनले हालसम्म सलहका दस प्रजाति पहिचान भएकोमा भारतमा मरुभूमि, प्रवासी, रूख सलहमात्र देखिएको छ । हालै भारतमा देखिएको सलह मरुभूमि प्रजातिको भएको बताइएको छ ।

सलहले कृषि बालीलाई क्षति पुर्‍याउने भए पनि अहिलेसम्मको अनुसन्धानले यिनीहरुले मानिसलाई असर पार्ने कुनै पनि रोगको संक्रमण नगराएको विभिन्न अध्ययनहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्व खाद्य संगठनले सलहको प्रकटका कारण कृषि उत्पादनमा असर पर्ने चेतावनी दिएको थियो । साथै एलडब्लूओले पनि यस वर्ष सलहको प्रजनन अत्यधिक हुने अनुमानसँगै राज्य सरकारलाई यसलाई नियन्त्रणको कदम तत्काल चाल्न पनि भनेको छ ।

सलहको सम्भावित प्रकोपलाई ध्यानमा राख्दै भारतका विभिन्न राज्य सरकारहरुले किसानहरुलाई पूर्वसावधानी अपनाउन आग्रह गरेका छन् । सलहको हुल राज्यस्थान हुँदै दिल्लीतर्फ सोझिन थालेपछि दिल्ली राज्य सरकारले सलहको सम्भावित आक्रमणबाट बच्न एड्भाइजरी जारी गरेको छ । विशेषगरी खाद्यान्न बालीलाई हुन सक्ने क्षतिलाई मध्येनजर गर्दै उक्त एड्भाइजरी जारी गरिएको हो । जसअन्तर्गत सलहको हुललाई रोकिन नदिन विभिन्न उपायहरु अवलम्बन गर्न सुझाइएको छ । त्यसैगरी सलहको आक्रमणबाट खाद्यान्न बालीमा हुने क्षति रोक्नका लागि विभिन्न विषादीको प्रयोग गर्न राज्य सरकारले किसानहरुलाई आग्रह गरेको छ । त्यसैगरी कृषि उत्पादनका लागि भारतकै अग्रणी राज्यमा चिनिने पन्जाबले पनि सम्भावित सलह प्रकोपका लागि सतर्क रहन आग्रह गरेको छ ।

सलहको हुल नेपाल प्रवेश गर्ने नगर्ने अझै यकिन हुन सकेको छैन । तर, पछिल्ला दिनहरुमा नेपालका तराई क्षेत्रमा गर्मी अत्यधिक बढेका कारण उत्तरप्रदेशतिर र दिल्लीतर्फ अगाडि बढेको सलहको हुल नेपालतर्फ पनि सोझिन सक्ने खतरा रहेको छ । वैज्ञानिकहरुका अनुसार उच्च तापक्रमले हावामा चप न्यून हुँदा उड्न सहज हुने भएकाले सलहको हुल अत्यधिक गर्मी भागतर्फ जाने सम्भावना बढी रहन्छ । यसलाई आधार मान्दा पनि नेपाल पनि सलहको प्रकोपको जोखिममा रहेको देखिन्छ ।

सम्बन्धित समाचार

के नेपाल आइपुग्ला सलह ?

प्रकाशित : जेष्ठ १६, २०७७ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?