कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतमा सामान्य बन्दै जनजीवन

आन्तरिक उडान सोमबारदेखि सुचारु, अर्को सातादेखि यात्रुवाहक रेल चल्ने
जुलाई १ देखि विद्यालयहरू खोल्ने तयारी
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासकै बीच पनि जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ । मंगलबार बिहानसम्म संक्रमितको संख्या करिब एक लाख ४५ हजार पुगिसकेको छ । ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला केही दिनयता संक्रमणमा तीव्र वृद्धि भइरहेको छ ।

भारतमा सामान्य बन्दै जनजीवन

तर भाइरसको महामारीका कारण अर्थतन्त्र नै धराशायी हुने परिस्थिति बन्दै गएपछि आर्थिक क्षेत्रका गतिविधि पुन: सुचारु गराउन विभिन्न कदम चालिएको छ ।

त्यसका साथै संक्रमणको उच्च जोखिम भएका कन्टेनमेन्ट जोनबाहेकमा सामान्य अवस्थामा जस्तै यातायातदेखि व्यापार व्यवसाय खुला गरिएको छ । जसका कारण सहरदेखि गाउँघरसम्मको चहलपहल बढ्दै गएको छ । भारतमा गत मे १८ देखि २ साताका लागि जारी गरिएको चौथो चरणको लकडाउन भने निकै खुकुलो पारिएको छ ।

त्यसअघि भारतको गृह मन्त्रालयले लकडाउन क्रमश: खुकुलो बनाउने गरी सोहीअनुसारको दिग्दर्शन जारी गरेको थियो । जसमा आर्थिक गतिविधिदेखि सार्वजनिक यातायातसम्बन्धी विभिन्न निर्देशन समावेश गरिएको थियो । त्यसका साथै मन्त्रालयले राज्य तथा प्रदेश सरकारहरूलाई परिस्थिति हेरेर निर्णय लिने छुटसमेत दिएको थियो । त्यसपछि राज्य सरकारहरूले लकडाउन र आर्थिक कारोबारलाई सुचारु गराउन व्यापार र व्यवसायसम्बन्धी विभिन्न निर्णयहरू लिएका छन् ।

गृह मन्त्रालयद्वारा जारी दिग्दर्शनअनुसार ठूला बजार र उद्योगहरू पूर्णरूपमा सञ्चालन गर्न छुट दिइएको छ । तर ठूला बजार क्षेत्रमा एउटा बिराएर पसल खोल्न पाइने भएको छ । त्यसैगरी निजी सवारी चलाउन दिइएको छ । सरकारी र निजी कार्यालयहरू पनि क्रमश: खुल्दै गएका छन् । वैवाहिक कार्यक्रममा पचास जनासम्म भेला हुन छुट दिइएको छ । रेस्टुराँहरू खुला गरिएको छ तर त्यहाँ बसेर खान पाइँदैन ।

सार्वजनिक यातायातलाई पनि क्रमश: खुला गर्दै लगिएको छ । ट्याक्सी, अटोरिक्सा, ब्याट्री रिक्सा, नगर बसमा तोकिएको सुरक्षा मापदण्डसहित चलाउन अनुमति दिइएको छ । मानिसहरूको ठूलो उपस्थिति रहने होटल, सिनेमा हल, सपिङ मल, मेट्रोहरू भने बन्द रहनेछन् । साथै रंगशालालगायतका खेलस्थलमा दर्शकको उपस्थितिबिना खेलस्पर्धाहरू गराउन खुला गरिएको छ ।

राजधानी दिल्लीको भना कन्टेनमेन जोनबाहेकका सबै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै किसिमका आर्थिक गतिविधि खुला गरिएको छ । दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरिवालले गत साताको डिजिटल पत्रकार सम्मेलनमा लकडाउनलाई मात्र निरन्तरता दिइरहँदा अर्थव्यवस्था धराशायी हुने जोखिम बढेका कारण बिस्तारै जनजीवनलाई सामान्य बनाउँदै लगिएको जानकारी दिएका थिए । ‘खोप नआउन्जेलसम्म संक्रमण रोकिनेवाला छैन । त्यसैले कोरोनासँगै जिन्दगी चलाउनुपर्ने बाध्यता छ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले भनेका थिए ।

त्यसैगरी, करिब दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवासमेत सोमबारदेखि सुचारु भएको छ । तर पश्चिम बंगाल र आन्ध्र प्रदेश राज्यले भने केही दिनपछि उडान खुला गर्ने भएका छन् । भारतमा कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै मार्च २५ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । तर भाइरसको संक्रमण फैलिने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि त्यसलाई सुरु गर्ने निर्णय गरिएको हो । तर केही समयका लागि सीमित उडान मात्र सञ्चालन हुने भएका छन् । जस्तै महाराष्ट्र सरकारले मुम्बईबाट दैनिक ५० उडान सञ्चालन गर्ने भएको छ । दक्षिण भारतीय सहर हैदराबादले दैनिक ३० उडान मात्र गर्ने भएको छ ।

उडानका लागि आवश्यक दिग्दर्शन पनि जारी गरिएको छ । भारतको गृह मन्त्रालयद्वारा जारी गरिएको दिग्दर्शनअनुसार यात्रुहरू २ घण्टाअगावै एयरपोर्ट पुग्नुपर्नेछ भने चेकइन अनलाइनबाट गर्नुपर्नेछ । साथै, उडानका क्रममा खाना/नास्ता र पत्रपत्रिका दिइने छैन । सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ । त्यसैगरी उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिङ गरिनेछ ।

योसँगै गृह मन्त्रालयले राज्य तथा केन्द्रशासित सरकारलाई आफूअनुकूल मापदण्ड बनाउन पनि छुट दिएको छ । त्यहीअनुसार कतिपय राज्य तथा केन्द्रशासित सरकारले संक्रमणको जोखिम हुने भन्दै यात्रुहरूका लागि विभिन्न मापदण्ड पनि बनाएका छन् । ११ वटा राज्य तथा केन्द्रशासित प्रदेश सरकारले हवाई यात्रुहरूका लागि क्वारेन्टाइन अनिवार्य गरेका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि पनि तयारी सुरु गरिएको छ । उडान सुचारु गर्ने मिति तय नभए पनि भारतीय सञ्चारमाध्यमहरूले अगस्ट १ देखि अन्तर्राष्ट्रिय उडान नियमित हुने उल्लेख गरेका छन् । त्यसका लागि आवश्यक मापदण्ड पनि जारी गरिएको छ । जसअनुसार यात्रुहरूले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । ७ दिन सरकारले तोकेको कुनै क्वारेन्टाइन सेन्टर र बाँकी ७ दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । क्वारेन्टाइन सेन्टरमा बसेको खर्च यात्रु आफैंले व्यहोर्नुपर्नेछ । तर गर्भवती, गम्भीर बिरामी, परिवारमा यदि कसैको निधन भएको अवस्थामा र १० वर्षभन्दा मुनिका छोराछोरीका बुबाआमाका लागि भने घरमै क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको छ ।

त्यस्तै, जुन १ देखि यात्रुवाहक रेल सेवा पनि सञ्चालन गर्ने तयारी पनि सुरु गरिएको छ । त्यसका लागि अग्रिम बुकिङसमेत खुला भइसकेको छ । यसअघि लकडाउनका कारण विभिन्न राज्यमा अलपत्र परेका प्रवासी कामदारहरूका लागि भनेर मे १ देखि विशेष श्रमिक रेल सेवा सुरु गरिएको थियो । अधिकांश राज्यहरूमा लामो दूरीका यात्रुवाहक बस त यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

त्यसैगरी भारतको केन्द्र सरकारले कोरोना संक्रमणको जोखिम क्षेत्र हेरेर जुलाई १ देखि माथिल्लो तहका कक्षाहरू सञ्चालनका लागि विद्यालय खोल्ने तयारी पनि सुरु गरेको छ । ८ सम्मका कक्षा भने संक्रमण सामान्य हुँदै गएपछि क्रमश: सुचारु गरिने जनाइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?