कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कोरोनाबारे अमेरिकाले झूट फैलायो : चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाका नेताहरू राजनीतिक भाइरसबाट संक्रमित भएका कारण चीनलाई बारम्बार आक्रमण गरिरहेको बताएका छन् ।
एजेन्सी

बेइजिङ — कोरोना भाइरस (कोभिड–१९) का विषयमा अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका ‘राजनीतिक भाइरस’ ले संक्रमित भएको आरोप लगाएका छन् ।

कोरोनाबारे अमेरिकाले झूट फैलायो : चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ विश्वव्यापी रूपमा फैलिनुमा चीन मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् । चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस फैलिएको उनीहरूको दाबी छ ।

राष्ट्रपति ट्रम्प र विदेशमन्त्री पोम्पियोप्रति इंगित गर्दै वाङले अमेरिकाका नेताहरू राजनीतिक भाइरसबाट संक्रमित भएकै कारण चीनलाई बारम्बार आक्रमण गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकालाई कोभिड–१९ को महामारी नियन्त्रणका क्षेत्रमा क्रियाशील रहन र मूल्यवान नागरिकको जीवन बचाउन सुझावसमेत दिएका छन् ।

कोभिड–१९ पहिलो पटक चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा देखिएको थियो । भाइरस फैलन सुरु भएसँगै अमेरिका र बेइजिङबीच तनाव चुलिँदै गएको थियो । चीनले भाइरसको प्रकोप लुकाउन खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप छ ।

नोभेम्बरमा हुने चुनावमार्फत उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन खोजिरहेका छन् । तर भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका कारण उनी देशभित्र निकै आलोचित भइरहेका छन् ।

तर विदेशमन्त्री वाङले विश्वको जनस्वास्थ्यको सुरक्षाका लागि चीनले सुरुदेखि नै जिम्मेवारपूर्वक काम गरेको बताए । ‘राजनीतिक भाइरस’ को प्रयोग चीनमाथि हमला गर्न तथा बदनाम गर्ने अवसरका रूपमा लिइएको उनको दाबी छ । वाङले भने, ‘केही राजनीतिज्ञले आधारभूत तथ्यलाई पूर्ण रूपमा बेवास्ता गर्दै चीनलक्षित झूट सिर्जना गर्छन् र षड्यन्त्र खडा गर्छन् ।’

चिनियाँ विदेशमन्त्री वाङले ‘अमेरिका क्रियाशील केही राजनीतिक शक्तिले दुई देशबीचको सम्बन्धलाई बन्धक बनाएको’ बताए । उनले त्यस्तो राजनीतिक शक्तिबारे थप प्रस्ट नपारे पनि नयाँ शीतयुद्धका लागि क्रियाशील रहेको जनाए । ‘त्यस्ता शक्तिले दुई देशलाई एउटा नयाँ शीतयुद्धको संघारमा धकेल्न चाहन्छन्,’ वाङले भने ।

भाइरस नियन्त्रण तथा रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भूमिका र चीनले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता विषयमा ट्रम्प र बेइजिङबीच लामो समयदेखि आरोपप्रत्यारोप जारी छ । यसै सन्दर्भमा कुरा गर्दै वाङले ‘चीनमाथि मुद्दा लगाउने विषयलाई ‘दिवास्वप्न’ को संज्ञा दिए ।

ट्रम्पले डब्लूएचओ चीनको कठपुतली भएको जनाउँदै एक पत्र लेखेका थिए । संगठन प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्रमा ट्रम्पले अमेरिकाको तर्फबाट डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका थिए ।

पत्रमा ट्रम्पले ३० दिनभित्र डब्लूएचओले आफूलाई निकै सुधार गर्नुपर्ने सुझाव दिएका थिए । त्यसलगत्तै डब्लूएचओको आफ्नो कामबारे समीक्षा गर्न सहमत रहेको जनाएको थियो । तर वाङले संगठनको कामको प्रशंसा गर्दै चीनले पूर्ण रूपमा समर्थन गर्ने बताए । ‘डब्लूएचओलाई सघाउनु भनेको जीवन बचाउन सघाउनु हो । कस्तो नतिजा बेहोर्ने भन्ने कुरा त्यो देशको रोजाइ हो,’ उनले भने । भाइरसको उत्पत्तिबारे अन्तर्राष्ट्रिय वैज्ञानिकलाई अनुसन्धान गर्न चीनले अनुमित दिनुपर्ने डब्लूएचओको मागबारे भने वाङले केही बताएनन् ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?