१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ब्राजिल भ्रमण गर्नेलाई अमेरिकामा प्रतिबन्ध

(एजेन्सी)

वासिङ्टन — अमेरिकाले दुई सातायता ब्राजिलको भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो देशमा छिर्न प्रतिबन्ध लगाएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या अप्रत्याशित रूपमा वृद्धि भएपछि अमेरिकाले त्यस्तो निर्णय गरेको हो । भाइरस संक्रमितको संख्याका आधारमा ब्राजिल हाल दोस्रो स्थानमा छ ।

सोमबार साँझसम्म ब्राजिलमा ३ लाख ६० हजारभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । २२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा १६ लाख ८६ हजारभन्दा बढी संक्रमित छन् । अमेरिकामा ज्यान गुमाउनेको संख्या ९९ हजार नाघिसकेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी एक प्रवक्ताले अमेरिकामा नयाँ संक्रमित भित्रिन नदिन त्यस्तो प्रतिबन्ध आवश्यक भएको बताएकी छन् । उनका अनुसार त्यस्तो प्रतिबन्धले दुई देशबीचको व्यापारमा भने असर गर्ने छैन ।

उक्त प्रतिबन्ध अमेरिकी नागरिक, उनीहरूका पतिपत्नी, अभिभावक, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएकाहरूका हकमा भने लागू नहुने ह्वाइटहाउसले जनाएको छ ।

यसअघि ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टो ब्राइनले अन्य देशबारे पनि आवश्यकताअनुसार निर्णय लिइने बताएका थिए । अमेरिकाले चीन, इरान, युरोपको सेन्जेन क्षेत्र, बेलायत र रिपब्लिक अफ आयरल्यान्डको भ्रमण गर्नेलाई अमेरिकामा प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?