कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पेरिसका स्वास्थ्यकर्मीमा मानसिक समस्या

आफूलाई कोरोना भाइरस सर्न सक्ने चिन्ता, परिवार र प्रियजनको चिन्ता र व्यक्तिगत सुरक्षा उपकरणको अभावक प्रमुख कारण
ददि सापकोटा

पेरिस — कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न पेरिस अस्पतालका अधिकांश नर्स, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू मानसिक रोगको सिकार भएका छन् ।

पेरिसका स्वास्थ्यकर्मीमा मानसिक समस्या

कोभिड–१९ को महामारीका बेला अन्य समयमा भन्दा बढी तनाव र चिन्ता भएका कारण उनीहरूमा मानसिक स्वास्थ्य अवस्था खराब देखिएको नर्सिङ टाइम्सको गरेको सर्वेक्षणले देखाएको हो । स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको सेवा सुविधा र उनीहरूको अवस्थाबारे सोधिएका प्रश्नमा ३३ प्रतिशतले आफ्नो स्वास्थ्य र मानसिक अवस्था धेरै नराम्रो रहेको जनाएका छन् ।

अध्ययनमा संलग्नमध्ये ८७ प्रतिशतले पहिलेको तुलनामा कोभिड–१९ का बिरामीको उपचारका क्रममा निकै तनाव थपिएको र आफूहरू विचलित भएका बताएका छन् । ५० प्रतिशतले भने कोरोना प्रकोपका कारण आफूहरू चिन्तित बनेको उल्लेख गरेका छन् । उक्त सर्वेक्षण पेरिस क्षेत्रका ३ हजार ५ सय नर्स तथा स्वास्थ्यकर्मीमा गरिएको हो ।

सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशील कर्मचारीलाई दिइएको सेवा सुविधा र प्रोत्साहन अपर्याप्त भएको गुनासोसमेत गरेका छन् । सर्वेक्षणमा संलग्न केहीले आफूहरूलाई सहयोग आवश्यक भएको बेलासमेत बेवास्ता भएको जनाएका छन् ।

आफूलाई भाइरस सर्न सक्ने चिन्ता, परिवार र प्रियजनहरूको अवस्था तथा व्यक्तिगत सुरक्षा उपकरणको अभावका कारण मानसिक समस्या देखिन थालेको उत्तरदाताहरूको भनाइ छ । सहभागीमध्ये ९७ प्रतिशतमा भाइरस सर्न सक्ने तनाव वा चिन्ता देखिएको छ । त्यस्तै ५३ प्रतिशतले पीपीई अभावका कारण तनाव र चिन्ता थपिएको बताए ।

‘मृत्यु हेरिरहन, सहन गाह्रो महसुस भयो । किनभने हामीले कोरोना भाइरस फैलिनुअघि मृत्युका घटना अति न्यून देख्थ्यौं । त्यसले पनि हामीलाई मानसिक चिन्ता थप्यो,’ सर्वेक्षणमा सहभागी एक नर्सले भनिन् ।

सामाजिक दूरीका कारण मृत्युको मुखमा पुगेका बिरामीमाझ आफूहरूमात्र हुने, आराम गर्न नपाई काम गर्नुपर्ने, तनावले भोक हराउने, खानाको उचित प्रबन्ध नहुने, परिवारबाट टाढा रहनुपर्ने, बिरामीको चापले गर्दा समयको अभाव र अन्य कर्मचारीको दबाबका कारण उच्च तनाव र चिन्ता बढेको उनीहरूले बताएका छन् ।

कतिपय चिकित्सक र नर्सले आफूमा तनाव बढी भएको बताउँदा काममा बाधा पुग्ने देखिने भएकाले अन्यलाई समस्या सुनाउन नसकेको उल्लेख गरेका छन् । कतिपयले भने फ्रान्सका अस्पतालहरूमा अझै पनि पीपीई अभाव रहेको जनाएका छन् ।

सर्वेक्षणमा सहभागी ५४ प्रतिशतले हाल उपलब्ध सुविधा निकै कम भएको जवाफ दिएका छन् । २० प्रतिशतले सेवासुविधा ठीकै रहेको र ११ प्रतिशतले राम्रो रहेको जवाफ दिएका नर्सिङ टाइम्सले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?