३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारतमा घरेलु उडान खुला

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि नियमित गरिएको छ । तर, पश्चिम बंगाल र आन्ध्र प्रदेश राज्यले केही दिनपछि मात्र उडान खुला गर्ने भएका छन् ।

भारतमा घरेलु उडान खुला

भारतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएका थिए । संक्रमण फैलने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि खोल्ने निर्णय गरिएको हो ।

हाललाई केही सीमित उडान मात्र सञ्चालन हुने भएका छन् । जस्तै, महाराष्ट्र सरकारले मुम्बईबाट दैनिक ५० उडान र हैदरावादले दैनिक ३० उडान मात्र गर्ने भएको छ । उडानका लागि भारतको गृह मन्त्रालयद्वारा जारी गरिएको दिग्दर्शनअनुसार यात्रुहरूले दुई घण्टाअगावै एअरपोर्ट पुग्नुपर्नेछ भने काउन्टर चेकइन नगरी अनलाइनबाट हुनेछ । उडानमा खाना/नास्ता र पत्रपत्रिका दिइने छैन । सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ । उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिङ हुनेछ । साथै यात्रुलाई घरमै १४ दिन क्वरेन्टाइनमा बस्न भनिएको छ ।

गृह मन्त्रालयले राज्य तथा केन्द्रशासित सरकारलाई आफूअनुकूल मापदण्ड बनाउन पनि छुट दिएको छ । त्यहीअनुसार कतिपय राज्य तथा केन्द्रशासित सरकारले कोरोना संक्रमणको जोखिम गर्न भन्दै यात्रुका लागि विभिन्न मापदण्ड बनाएका छन् । ११ वटा राज्य तथा केन्द्रशासित प्रदेश सरकारले हवाई यात्रुका लागि क्वारेन्टाइन अनिवार्य गरेका छन् ।

त्यसै गरी अन्तर्राष्ट्रिय उडानका लागि पनि तयारी सुरु गरिएको छ । सरकारले आधिकारिक घोषणा नगरे पनि भारतीय सञ्चारमाध्यमले १ अगस्टदेखि अन्तर्राष्ट्रिय उडान नियमित हुने उल्लेख गरेका छन् । त्यसका लागि आवश्यक मापदण्ड पनि जारी गरिएका छ जसअनुसार यात्रुहरुले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नै पर्नेछ । सात दिन सरकारले तोकेको कुनै क्वारेन्टाइन सेन्टर र बाँकी सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । क्वारेन्टाइन सेन्टरमा बसेको खर्च यात्रु आफैंले बेहोर्नुपर्नेछ । तर, गर्भवती, गम्भीर बिरामी, परिवारमा कसैको निधन भएको अवस्थामा र दस वर्षभन्दा मुनिका छोराछोरीका बुबाआमाका लागि घरमै क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको छ ।

भारतमा सोमबार बिहानसम्म १ लाख ३८ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने ४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?