१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देशका रुपमा उल्लेख गरिएपछि...

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ । दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो ।

दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देशका रुपमा उल्लेख गरिएपछि...

उक्त विज्ञापनमा आवेदनका लागि आवश्यक पर्ने पूर्वयोग्यतामा भारतीय नागरिक वा सिक्किम, भुटान वा नेपालको नागरिक र दिल्लीको बासिन्दा हुनुपर्ने उल्लेख थियो । विज्ञापनमा सिक्किमलाई भुटान र नेपालजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएका कारण दिल्ली सरकारको व्यापक आलोचना भएको छ । विज्ञापनलाई लिएर विवाद चर्किँदै गएपछि दिल्ली सरकारले जिम्मेवार अधिकारीलाई निलम्बनसमेत गरेको छ ।

उक्त विज्ञापन प्रकाशित भएपछि सिक्किम सरकारले तत्काल आपत्ति जनाउँदै त्यसबाट अत्यन्त चोट पुगेको भन्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो । सिक्किम सरकारका मुख्यसचिव एससी गुप्ताले दिल्ली सरकारलाई पत्र लेख्दै सिक्किमका जनताले भारतीय नागरिक भएकोमा गर्व गर्ने गरेको भन्दै विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुगेको जनाएका थिए । ‘१६ मे १९७५ मा भारतको २२ औं राज्यका रहँदै आएका सिक्किमका जनताका जसले महान भारतको नागरिक हुनुमा गर्व गर्छन् । यो विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुऱ्याएको छ त्यसैले उक्त विज्ञापन फिर्ता गर्न अनुरोध गर्छौं,’ पत्रमा लेखिएको थियो । साथै सिक्किमका मुख्यमन्त्री प्रेमसिहं तामाङ (गोले)ले पनि विज्ञापनमा भएको गल्ती भत्सर्नायोग्य भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका थिए ।

विज्ञापनलाई लिएर विवाद सिर्जना भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत् विज्ञापनलाई हटाइएको र जिम्मेवार अधिकारीलाई निलम्बन गरिएको बताएका छन् । ‘सिक्किम भारतको अभिन्न अंग हो । यस्ता त्रुटि सहन सकिँदैन । विज्ञापन हटाइएको छ र जिम्मेवार अधिकारीमाथि कारबाही गरिएको छ,’ केजरीवालले ट्वीटमा भनेका छन् । विज्ञापनलाई लिएर दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि ट्वीट गर्दै विज्ञापनलाई तत्कालै रोक्नुपर्ने र त्यसले भारतको भौगोलिक अखण्डताको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

साथै भारतीय जनता पार्टीले अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको थियो । त्यसको जवाफमा केजरीवाल नेतृत्वको आम आद्मी पार्टीले दिल्ली सरकार अहिलेको कठिन परिस्थितिमा अन्य राज्यहरुसँग मिलेर काम गर्न चाहेको तर भाजपा र कांग्रेस राजनीति गर्न व्यस्त रहेको आरोप लगाएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?