कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कराची विमान दुर्घटना : अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि

अवतरणका क्रममा दुवै इन्जिन फेल भएपछि चालक दलका सदस्यसहित ९९ जना सवार जहाज कराची विमानस्थल बाहिरको आवासीय क्षेत्रमा खसेको हो
एजेन्सी

इस्लामाबाद — पाकिस्तानको लाहोरबाट उडेको यात्रुबाहक विमान कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा शुक्रबार दुर्घटना हुँदा कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विमानमा ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।

कराची विमान दुर्घटना : अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि

अधिकारीहरुले अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या अझ बढी रहेको जनाइएको छ । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन शाहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको उनले जनाए ।

विमानमा पन्जाब बैंकका अध्यक्ष जफार मसुद र २४ न्युज टेलिभिजनका कार्यक्रम निर्देशक रहेको थिए । मसुदको परिवारका सदस्यहरुले उनीको अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

ए–३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर बाहिरको आवासीय क्षेत्र मोडेल कोलोनीमा खसेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विमान स्थानीय समयअनुसार दिउँसो २.३० बजे दुर्घटनामा परेको हो ।

अधिकारीहरुका अनुसार लाहोरबाट कराचीका लागि उडेको पाकिस्तान इन्टरनेसनल एयरलान्इन्सको विमान दुवै इन्जिन फेल भएपछि दुर्घटना भएको हो । ‘हामी सिधै आउने प्रयास गर्दै छौं सर । हामीले दुवै इन्जिन गुमायौं,’ एयर ट्राफिक कन्ट्रोलसँगको कुराकानीमा विमानका क्याप्टेनले भनेका थिए ।

अधिकारीहरुका अनुसार इन्जिन फेल भएलगत्तै चालकले विमानलाई रनवेमा लैजाने प्रयास गरेका थिए । तर विमानस्थलबाहिरका अग्ला भवनमा विमान ठोकिएपछि उनी असफल भएका हुन् ।

‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरुमाथि खस्यो,’ प्रत्यक्षदर्शी सकिल अहमदले समाचार संस्था रोयटर्ससँग भने । दुर्घटनास्थलका केही घर ध्वस्त भएका छन् । ‘कम्तीमा ४ वटा घर पूर्णरूपमा ध्वस्त भएका छन् । ती घर मेरो घरनजिकैका हुन्,’ स्थानीय मोहम्मद उजइरले भने । उनका अनुसार अन्य दुई घरमा सामान्य क्षति पुगेको छ ।

विमान खसेलगत्तै आवासीय क्षेत्रका केही घरमा आगलागीसमेत भएको थियो । सामाजिक सञ्जालमा राखिएका दृश्यहरुमा निकै ठूलो धुवाँको मुस्लो आवासीय क्षेत्रमा फैलिएको देखिन्छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

अधिकारीहरुका अनुसार आवासीय क्षेत्रका करिब ३० जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ‘कम्तीमा २५/३० जना स्थानीयलाई घाइतेलाई उद्धार गरि अस्पताल पठाएका छौं,’ उद्धारमा खटिएका इदी फाउन्डेसनका प्रवक्ता साद इदीले भने ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अप्रत्यासित घटनाप्रति निकै दु:ख लागेका बताएका छन् । ‘तत्कालका लागि उद्धार र राहत पहिलो प्राथमिकता हो,’ इमरानले भने, ‘म पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अर्शद मलिक र उद्धार टोलीसँग नियमित सम्पर्कमा छु ।’ उनले घटनाबारे तत्काल छानबिन गरिने बताएका छन् ।

पाकिस्तानमा हवाई सुरक्षा अवस्था त्यति भरपर्दो मानिँदैन । यहाँ बारम्बार विमान दुर्घटनामा पर्ने गरेका छन् । सन् २०१० मा निजी कम्पनी एयर ब्लुको विमान इस्लामाबादनजिकै दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५२ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनालाई पाकिस्तानको उडान क्षेत्रके सबैभन्दा खराब मानिन्छ ।

त्यस्तै, सन् २०१२ मा भोजा एयरको विमान खराब मौसमका कारण रावलपिण्डीमा दुर्घटना भएको थियो । दुर्घटनामा १ सय २७ जनाको ज्यान गएको थियो । त्यसैगरी, ४ वर्षअघि भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान उत्तरी पाकिस्तानबाट इस्लामाबादतर्फको उडान भर्ने क्रममा आकाशमा नै विस्फोट भएको थियो । दुर्घटनमा ४७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?