कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चीनले यस वर्ष आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने

एजेन्सी

बेइजिङ — चीनले यस वर्ष आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको छ । शुक्रबार बिहानदेखि सुरु भएको चिनियाँ संसद्को वार्षिक बैठकमा प्रधानमन्त्री ली खछ्याङले आगामी वर्षका लागि आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने बताएका छन् ।

चीनले यस वर्ष आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने

प्रधानमन्त्री खछ्याङले भने, ‘हाम्रो देश केही समस्यासँग जुधिरहेको छ । यस्तो अनिश्चिततापूर्ण समयमा प्रगतिको अनुमान लगाउन कठिन हुन्छ । यो अनिश्चितता कोरोना भाइरसका कारण पैदा भएको हो । यसले विश्वकै अर्थव्यवस्था र व्यवसायमा ठूलो प्रभाव पारेको छ ।’

त्यस्तै चीनको बजेट घाटा पनि गत वर्षको तुलनामा बढेको बताइएको छ । चीनले सन् १९९० देखि आर्थिक वृद्धिदरको लक्ष्य प्रकाशित गर्न थालेको थियो । त्यसयता लगातार चीनले आफ्नो आर्थिक वृद्धिदर घोषणा गर्दै आएको थियो । यस वर्ष पहिलो पटक चीनले आर्थिक वृद्धिदरको लक्ष्य तय नगर्ने भएको हो ।

गत वर्ष चीनले ६ प्रतिशतदेखि ६.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेको थियो । चीनमा गत वर्ष कुल ग्राहस्थ उत्पादन(जीडीपी) ३० वर्षयताकै कम ६.१ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै कोरोना महामारीका कारण महिनौंसम्मको लकडाउन र व्यावसायिक प्रतिष्ठानहरु बन्द गरिएकाले यस वर्षको पहिलो त्रैमासिकमा चीनको जीडीपी ६.८ प्रतिशतमै संकुचित भएको थियो । सन् १९७६ पछिको यो सबैभन्दा ठूलो संकुचन थियो ।

कोरोना महामारीका बीच अमेरिकासँगको व्यापारिक तथा कूटनीतिक टकरावले आगामी वर्ष चिनियाँ अर्थतन्त्रमा अझ असर पर्न सक्ने अर्थशास्त्रीहरु बताउँछन् ।

शुक्रबारदेखि सुरु भएको वार्षिक संसदीय बैठक(नेसनल पिपल्स कंग्रेस) मा करिब तीन हजार प्रतिनिधि सहभागी छन् । यही बैठकले आगामी बजेटलाई अनुमोदन गर्ने र आर्थिक वृद्धिदरको लक्ष्य तय गर्ने प्रचलन छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अहिलेसम्म ८४ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितमध्ये ७९ हजार ३ सय १० जना निको भएका छन् । चीनमा पछिल्लो समय संक्रमण न्यून भएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?