समुद्री आँधीले लियो भारत र बंगलादेशमा ८४ जनाको ज्यान

भारतका पश्चिम बंगाल र उडिसा राज्यकाका साथै बंगलादेशको तटीय क्षेत्र निकै प्रभावित
सुरेशराज न्यौपाने

नयाँदिल्ली — बंगालको खाडीबाट विकसित शक्तिशाली समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा कम्तीमा ८४ जनाको ज्यान गएको छ । दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्य निकै प्रभावित भएका छन् । अम्फान उडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा बुधबार अपराह्न प्रवेश गरेको थियो । त्यसको असरस्वरूप प्रतिघण्टा १ सय ८५ किलोमिटरभन्दा बढीको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जीउधनको क्षति पुर्‍याएको हो ।

अम्फानका कारण पश्चिम बंगालमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ भने छिमेकी उडिसामा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बंगलादेशमा कम्तीमा १२ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारीले पूरै भारतलाई आतंकित पारिरहेका बेला अम्फानले थप अर्को संकट निम्त्याएको छ ।

समुद्री आँधीका कारण सबैभन्दी बढी क्षति पश्चिम बंगालका कोलकाता, पूर्व मिडनापुर र हाउडा जिल्लामा भएको बताइएको छ । त्यसका क्षेत्रका दर्जनौं घरहरु भत्किएका छन् । बुधबार साँझदेखि नै कोलकाता र आसपासका क्षेत्रमा बिजुली र फोन अवरुद्ध भएको थियो ।

कोलकाता सहरमा मात्र १२ जनाको ज्यान गएको छ । अधिकांशको आँधीका कारण ढलेका ठूला रूखहरुले किचेर मृत्यु भएको बताइएको छ । आँधीसँगै भएको घनघोर वर्षाका कारण नदीको सतह बढ्दा त्यस भेगका धेरै ठाउँ जलमग्न भएका छन् । कोलकाता विमानस्थल जलमग्न भएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृत्यु भएकाहरुको परिवारका लागि राहतस्वरूप प्रतिव्यक्ति २ लाख भारु सहयोगको घोषणा गरेकी छन् । मुख्यमन्त्री बनर्जीले पछिल्लो विपद्ले कोभिडरू१९ महामारीसँगै थप अर्को संकट निम्त्याएको बताएकी छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँधी प्रभावित क्षेत्रको अवलोकन गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले बिहीबार ट्वीट गर्दै पछिल्लो विपद्सँग जुध्न उडिसा र पश्चिम बंगाल सरकारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन् ।

भारतको जल तथा मौसम पूर्वानुमान विभागका अनुसार बिहीबार अपराह्नदेखि समुद्री आँधी बंगलादेशको धु्रवी र रंगपुरतर्फ सोझिएको र यसको प्रभावस्वरूप भारतका पूर्वोत्तर राज्यहरु असम, मेघालय र अरुणाचलमा भारी वर्षा हुनेछ । समुद्री आँधी बंगालदेशका घना बस्तीतर्फ सोझिएकाले ठूलो मात्रामा क्षति हुन सक्ने अनुमान गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरुका अनुसार अम्फानका कारण तटीय क्षेत्रका सयौं गाउँका जलमग्न भएका छन् र दर्जनभन्दा बढी बाँधहरु भत्किएका छन् ।

अम्फानका कारण उडिसा, पश्चिम बंगाल र बंगलादेशका केही तटीय क्षेत्रमा घनघोर वर्षा हुने पूर्वानुमानसमेत विभागले यसअघि नै गरेको थियो । विभागको चेतावनीपछि उडिसा र पश्चिम बंगालका तटीय क्षेत्रका २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

विस्थापित हुने मानिसलाई राख्नका लागि पश्चिम बंगाल र उडिसाका सरकारी कार्यालय, स्कुल र कलेजहरुलाई खाली गराइएको छ । ओडिसा र पश्चिम बंगालका प्रवासी कामदारहरुलाई आ–आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि सुरु गरिएको विशेष श्रमिक रेल सेवा बिहीबारसम्मका लागि बन्द गरिएको छ । त्यसैगरी बिहीबार बिहानसम्मका लागि कोलकाता विमानस्थल पनि बन्द गरिएको थियो ।

सामान्यत: वर्षाका बेला यस किसिमका सामुद्रिक आँधी आउने गर्छ । अम्फानलाई पछिल्लो दुई दशककै सबैभन्दा खतरनाक चक्रवात अर्थात् सुपर साइक्लोन दाबी गरिएको छ । सन् १९९९ मा आएको यस्तै भीषण चक्रवातले उडिसामा १० हजारभन्दा बढीको ज्यान लिएको थियो भने २ लाखभन्दा बढी गाईवस्तु मारिएका थिए । उक्त चक्रवातबाट ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

सन् २००८ मा बंगालको खाडीबाट उठेको सामुद्रिक आँधी ‘नरगिस’ ले म्यान्मारमा मात्र १ लाखभन्दा बढीको ज्यान गएको थियो । गतवर्ष उडिसामा आएको सामुद्रिक आँधी ‘फणी’ ले ९० भन्दा बढीको ज्यान गएको थियो । आँधीका कारण राज्यका डेढ करोडभन्दा बढी मानिस नराम्ररी प्रभावित भएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०६:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तीन हजार नक्सा छाप्‍न प्रेसमा पठाइयो

मातृका दाहाल

काठमाडौँ — नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई नि:शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । ‘बिहीबार प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका छौं,’ उनले भने ।

सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि विभागले चितवनमा रहेका कर्मचारीलाई नक्सा छाप्न राजधानी बोलाएको थियो । ढकालका अनुसार शनिबारसम्म ३ हजार प्रति नक्सा छाप्ने तयारी छ । त्यसपछि साधनस्रोत र जनशक्ति जुटाएर ५० हजार प्रति छापिने उनले बताए । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, अन्य कार्यालय, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका तथा वडा कार्यालयसम्म नक्सा नि:शुल्क उपलव्ध गराइने उनले बताए । ‘तत्काल स्थानीय पालिका कार्यालयसम्म नक्सा प्रयोगमा ल्याउने गरी उपलव्ध गराइने छ, लकडाउन खुलेपछि भने देशभरका स्थानीय तहअन्तर्गतका वडा कार्यालयसम्म नै निशुल्क उपलव्ध गराउने गरी काम थालेका छौं,’ ढकालले कान्तिपुरसँग भने, ‘आमनागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताअनुसार विभागले नै छापेर बजारमा पठाउने छ, लागेको न्युनतम मूल्य कायम हुने छ ।’

विभागले पछिल्लो पटक सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा गैरकानुनी रुपमा छापिए त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्न प्रहरीमा पत्राचार गरिने ढकालले बताए । विगतमा पनि यस्तै अनधिकृत रुपमा नक्सा छापिएका कारण सरकारी र त्यस्ता नक्सामा फेरवदल हुने गरेको उनले बताए । अन्यत्रबाट नक्सा अनधिकृत रुपमा छापिनसक्ने जोखिम भएरै वेबसाइटमा नक्साको इपेपर नराखिएको विभागले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ २२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×