चीनमा थप १७ जना संक्रमित, वुहानमा परीक्षण अभियान

रासस

बेइजिङ — चीनमा कोरोना भाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेहरु थपिनेक्रम नरोकिएपछि वुहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

चीनमा थप १७ जना संक्रमित, वुहानमा परीक्षण अभियान

कोरोना भाइरसको उद्गमस्थल समेत मानिने वुहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिँदै गएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म वुहानका मात्रै झण्डै एक करोड १० लाख मानिसमा कोरोना भाइरसको संक्रमण भए/नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप ५ जना संक्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय संक्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन सहरमा यसै हप्तादेखि लकडाउन लागू गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?