१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सहज बन्दै अस्ट्रेलिया

विज्ञका सुझावअनुसार अर्थतन्त्र र जनस्वास्थ्य व्यवस्थापनका लागि चरणबद्ध कार्यक्रम ल्याएका कारण अस्ट्रेलिया कोरोना भाइरस नियन्त्रणमा सफल भएको हो ।
नारायण खड्का

सिड्‍नी — अस्ट्रेलियाको सिड्नीमा व्यवसाय गर्दै आएका लक्ष्मण सापकोटाले २ महिनामा पहिलोपल्ट रेन्टुराँ खोल्न पाए । उनले शुक्रबार ग्राहकलाई आफ्नो रेन्टुराँमा पुन: स्वागत गरे । दक्षिण अस्ट्रेलियामा बस्दै आएकी सुनिता अधिकारीले समेत आफ्ना बालबालिकालाई पार्कमा लिएर गइन् । लामो समयदेखि घरबाहिर जान नपाएका उनका बच्चा पार्कमा खेल्न पाएर दंग थिए ।

सहज बन्दै अस्ट्रेलिया

कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश व्यवसायका साथै सामाजिक जनजीवन नै प्रभावित भएको अस्ट्रेलिया विस्तारै सहज बन्न थालेको छ । दैनिक रूपमा भाइरसको संक्रमण निकै कम हुँदै जानु र केही राज्यमा नयाँ संक्रमण नै नभेटिएपछि अस्ट्रेलिया सरकारले देशव्यापी रूपमा लगाएको प्रतिबन्ध खुकुलो पार्ने निर्णय गरेको हो ।गतसाता प्रधानमन्त्री स्कट मरिसनले पार्क, खेलकुदस्थल, रेस्टुरेन्टलगायतका व्यवसाय र विद्यालय खोल्ने निर्णय गरेसँगै यहाँका राज्यले समेत अधिकांश क्षेत्र सञ्चालनमा ल्याइसकेका छन् । यहाँका ६ राज्य र दुई टेरिटोरी सबैमा हाल अधिकांश क्रियाकलाप सामान्य भइसककेका छन् ।

यहाँ राज्य तथा टेरिटोरीमा रेस्टुराँ १० जनासम्म बस्न पाइने व्यवस्थाका साथ सबै रेस्टुरेन्ट खुला गरिएको छ भने न्यु साउथ वेल्स राज्यले पब तथा क्लबसमेत शुक्रबारदेखि खुला गर्ने निर्णय गरेको छ । ‘सरकार, कर्मचारी र समुदायलाई सहयोग पुग्ने गरी आफ्ना व्यवसाय खुला गरेकोमा म धन्यवाद दिन चाहन्छु,’ मरिसनले भनेका छन् ।

मुख्य स्वास्थ्य अधिकारी डा. ब्रान्डन मर्फीले अस्ट्रेलियाली नागरिकले भाइरसको संक्रमण नियन्त्रणका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका कारण यो सफलता हात लागेको बताएका छन् । उनले संक्रमणको दोस्रो चरण आउन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै संक्रमण नियन्त्रणका लागि दिइएका सुझाव निरन्तर पालना गरिरहन सुझाव दिए ।

सिड्नीमा इन्द्रेणी फंक्सन सेन्टर सञ्चालक लक्ष्मण सापकोटाले सिड्नीका सबै रेस्टुराँलाई सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्न दिने व्यवस्था गरिनु सकारात्मक कदम भएको समेत बताए । ‘१० जना मात्र बस्न पाउने गरी आफ्नो रेस्टुराँ खोल्न पाउनु पनि व्यवसायीका लागि ठूलो राहत हो,’ उनले भने । यसअघि सिड्नीका रेस्टुराँ टेक अवेमा सीमित थिए ।

घरबाटै काम गरिरहेका सिड्नीका अधिकांश मानिस शुक्रबारदेखि कार्यालय जान थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेको छ भने बन्द गरिएका सामुद्रिक किनार, पार्कसमेत सामाजिक दूरी कायम गर्दै खुला गरिएका छन् ।

घरबाहिर १० जनासम्म भेला हुन अनुमति दिइएको छ भने घरभित्र ५ जनासम्मलाई अनुमति दिइएको छ । यसैगरी, विवाह तथा अन्तिम संस्कारमा २० जनासम्म भेला हुन पाइने भएको छ ।

प्रतिबन्धपछि कार्यालय खुलेका भए पनि सरकारले सम्पूर्ण कार्यस्थललाई स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्ड पूरा गर्न कडाइ गरेको छ । सेफ वर्क नामक सरकारी निकायलाई कार्यस्थलको अनुगमनमा अझ सक्रिय बनाइएको छ । यसैगरी पार्क, रेस्टुरेन्टलगायतका स्थानमा सामाजिक दूरी कायम भए नभएको समेत अनुगमन सुरु गरिएको छ ।

सकारले विभिन्न चरणमा विज्ञहरुसँगको छलफल गर्दै योजना बनाएका कारण स्थिति छिटो नियन्त्रणमा आएको कपितयको विश्लेषण छ । ‘वास्तवमा विभिन्न चरणमा विज्ञको सल्लाह र सुझावअनुसार अर्थतन्त्र र जनस्वास्थ्य व्यवस्थापनलाई चरणबद्ध कार्यक्रम ल्याएर लागू गरेका कारण अस्ट्रेलिया सफल भएको हो,’ सञ्चारविद् डा. भरतराज पौडेल भन्छन् । जुलाईसम्ममा कोरोनामुक्त अर्थतन्त्र बनाउने उद्देश्यका साथ सरकार लागिपरेको र प्रविधिको प्रयोग र संयन्त्रको परिचालनमार्फत सरकारले काम गरिरहेको उनको बुझाइ छ ।

अस्ट्रेलियामा अहिले सक्रिय संक्रमण देखिएकाको संख्या ६ सय ५० छ । ५१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १८ जनामात्र आईसीयूमा छन् । अहिले भिक्टोरिया राज्यमा दैनिक २० को हाराहारीमा नयाँ संक्रमित भेटिएको भए पनि दक्षिण अस्ट्रेलिया, तास्मानिया, पश्चिम अस्ट्रेलिया, नर्दन टेरिटोरी, क्यापिटल टेरिटोरीमा संक्रमण पाइएको छैन ।

प्रधानमन्त्री मरिसनले जुलाईदेखि आन्तरिक उडानसमेत सुचारु हुन सक्ने बताएका छन् । अहिले अस्ट्रेलियाका सबै राज्यले आफ्नो सिमाना बन्द गरेका छन् । तर अन्तरराज्य यात्रा गर्न परेको खण्डमा दुई साता अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।

बेरोजगारी दर बढ्यो

भाइरसको संक्रमण रोक्नका लागि सरकारले लगाएको आंशिक प्रतिबन्धको प्रत्यक्ष असर यहाँको रोजगार क्षेत्रमा देखिएको छ । सरकारी निकायका अनुसार एक महिनाको अन्तरमा मात्र यहाँ बेरोजगार दर एक प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

राष्ट्रिय प्रसारण संस्था एबीसीका अनुसार अप्रिलमा ५ लाख ९० हजारले रोजगारी गुमाएका छन् । करिब त्यति नै संख्याका अन्य कर्मचारीको ‘वर्किङ आवर’ मा कमी आएको छ । अस्ट्रेलियाको बेरोजगार दर १० प्रतिशतसम्म पुग्ने विज्ञहरुले अनुमान गरेका छन् ।

ट्रेरजरर जोस फ्रयाडनबर्गले कूल गार्हस्थ उत्पादन १० प्रतिशतले कम हुने बताएका छन् । यसैगरी, अस्ट्रेलियामा १५ लाख बेरोजगार बन्न सक्ने, व्यावसायिक लगानी १८ प्रतिशतले घट्ने, घरको मूल्यमा ४० प्रतिशतसम्म कमी आउने र हवाई यातायातमा ९७ प्रतिशतले कमी आउने सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि ट्ेरजरर फ्रायडनबर्गले तीन चरणमा खुला हुने प्रतिबन्धपछि ८ लाख ५० हजार जनशक्ति आफ्नो रोजगारमा फर्कने दाबी गरेका छन् ।

सरकारले रोजगारमा आउने समस्यालाई मध्यनजर गर्दै करिब १ सय ५० बिलियन डलर बराबरको जब किपर र जब सिकर अनुदान घोषणा गरेर कार्यान्वयन गरिरहेको छ । जसअन्तर्गत भाइरसका कारण काम गुमाएकालाई ६ महिनासम्म मासिक ३ हजार डलर व्यवसायमार्फत प्रदान गरिँदै आएको छ भने जागिर नभएकालाई समेत पाक्षिक रूपमा आर्थिक सहयोग प्रदान गरिँदै आएको छ ।

प्रधानमन्त्री मरिसनले बेरोजगार दर अत्यासलाग्दो देखिए पनि यो अपेक्षाकृत नै भएको बताएका छन् । उनले यो अत्यन्तै कठिन समय भएको तर यो समयालाई सबैले मिलेर पार लगाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपाली विद्यार्थी बढी पीडित

भाइरसको संक्रमणका कारण अस्ट्रेलियामा परेको असरबाट नेपाली समेत अछुतो छैन । खासगरी विद्यार्थी वर्ग सबैभन्दा बढी समस्यामा परेका छन् । सरसफाइ, होटल, क्याफेलगायतमा काम गर्ने विद्यार्थीले रोजगारी गुमाएका कारण दैनिक जीवन चलाउन अरूको भर पर्नुपरेको छ । ‘आम्दानीको स्रोत नभएपछि र घरबाट समेत पैसा ल्याउन नपाएपछि हामीलाई अत्यन्तै समस्या परेको छ,’ एक विद्यार्थीले भने । एनआरएनएलगायत संघसंस्थाले कतियलाई राहतको व्यवस्था गरेका छन् ।

एनआरएन अस्ट्रेलियाका अनुसार अहिलेसम्म करिब २ हजार ८ सय विद्यार्थीले सहयोगका लागि आग्रह गरिसकेका छन् । सहयोग समन्वय गरिरहेका एनआरएन उपाध्यक्ष नवीन पन्तले प्राथमिकताका आधारमा सबै विद्यार्थीलाई दैनिक आवश्यक पर्ने दाल, चामल, तरकारी, दूधलगायतका सामग्री उपलब्ध गराइरहेको बताए ।

पन्तले अप्ठ्यारो अवस्था कहिलेसम्म रहन सक्छ भन्ने अनुमान गर्न गाह्रो भएकाले दीर्घकालीन रूपमा विद्यार्थीलाई कसरी सहयोग पुर्‍याउन सकिन्छ भनेर आफूहरु छलफलमा जुटेको जनाए । ‘अहिले अस्ट्रेलियाको संक्रमण दर कम भइरहेका कारण समस्या विस्तारै हट्ला भन्ने आशा गर्न सकिन्छ । तर तत्काल विद्यार्थीको समस्या अन्त्य भने भएको छैन,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?