२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

निको भइन् ११३ वर्षीया

(एएफपी)

मड्रिड — स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी वृद्धा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको भएकी छन् । स्पेनी अधिकारीले ११३ वर्षीया ब्रानयास पूर्णरूपमा निको भएकी बताएका छन् ।

निको भइन् ११३ वर्षीया

ब्रानयासलाई गत मार्चमा संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनलाई कोभिड–१९ का मध्यम खालका लक्षणहरु देखिएका थिए ।

‘उहाँ अब स्वस्थ हुनुहुन्छ । उहाँ सुन्दर देखिनुभएको छ । उहाँले आफ्नो अनुभवन बताउन चाहनुहुन्छ,’ उनकी छोरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् । ब्रानयासले सन् १९१८–१९ को स्पेनिस फ्लु, १९३६–३७ को स्पेनी गृहयुद्ध र सन् २०२० को कोभिड–१९ बाट बाँच्न सफल भएकी छन् ।

केयर होमकी प्रवक्ताले ब्रानयास बाँच्न सफल भएकी र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताएका छन् । ‘ब्रानयासको गतसाता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखियो,’ प्रवक्ताको भनाइ छ ।

ब्रानयासलाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो । उनको रेखदेख गर्न एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो ।

एक स्पेनी टेलिभिजनले शताब्दी वृद्धाको समाचार कथा प्रसारण गरेको छ । टेलिभिजन फुटेजमा ब्रानयासले आफूलाई केयर होमका कर्मचारीले निकै माया गरेको बताएकी छन् ।

मेक्सिकोमा सन् १९०७ मार्च ४ मा जन्मिएकी ब्रानयासलाई उनका पिताले २ वर्षपछि अमेरिकाको सानफ्रान्सिस्को लगेका थिए । उनी आफ्ना पत्रकार पितासहित पहिलो विश्वयुद्धताका स्पेनको क्याटालान क्षेत्रमा पुगेकी हुन् । त्यसताका उनी डुंगा चढेर स्पेन फर्केकी थिइन् ।

तीन सन्तानकी आमा ब्रानयासका पहिलो सन्तान हालै ८६ वर्षका पुगेका छन् । ब्रानयास दुई दशकदेखि क्याटालोनिया क्षेत्रको ओलट सहरस्थित केयर होममा बस्दै आएकी थिइन् ।

केयर होमका एक कर्मचारीले यति दीर्घजीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा उनले भनिन्, ‘त्यो त थाहा छैन । तर म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।’ प्रवक्ताका अनुसार केयर होममा भाइरसका कारण कैयौंले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा कोभिड–१९ का कारण २७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या २ लाख २८ हजार नाघिसकेको छ ।

प्रकाशित : वैशाख ३१, २०७७ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?