कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानको अस्पतालमा आक्रमण, दुई शिशुसहित १४ को मृत्यु

(एजेन्सी)

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा मंगलबार गरिएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई नवजात शिशु, सुत्केरी महिला र नर्स छन् । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् ।

अफगानिस्तानको अस्पतालमा आक्रमण, दुई शिशुसहित १४ को मृत्यु

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रहरीको पोसाक लगाएका कम्तीमा दुई जना बन्दुकधारी मंगलबार बिहान दास्त–ए–बार्ची अस्पतालमा प्रवेश गरेका थिए । बन्दुकधारीले अस्पतालको गेटमा ग्रिनेड विस्फोट गराएलगत्तै प्रसूति कक्षमा पसेर अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

आक्रमणको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मी र बन्दुकधारीबीच केही घण्टा गोली हानाहान भएको थियो । बन्दुकधारीलाई सुरक्षाकर्मीले मारिदिएका समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणको समयमा अस्पतालमा कम्तीमा १ सय ८० जना रहेको बीबीसीले उल्लेख गरेको छ ।

‘अस्पतालमा बिरामी र डाक्टरहरूको बाक्लो उपस्थिति थियो । तर एकैछिनमा निकै दर्दनाक अवस्था सिर्जना भयो,’ एक प्रत्यक्षदर्शीले भने । सय शय्याको सरकारी अस्पतालको प्रसूति विभाग अन्तर्राष्ट्रिय परोपकारी संस्था मेडिसिन्स सान फ्रन्टायर्स (एमएसएफ) ले सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा केही विदेशीहरूसमेत कार्यरत छन् । आक्रमणपछि विशेष सुरक्षा फौजले अस्पतालबाट सय जनाभन्दा बढी महिला, उनीहरूका बच्चा र केही विदेशीको उद्धार गरेको जनाएको छ ।

अमेरिकासँग युद्धविराम सम्झौता गरेका तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यसअघि उक्त क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट (आईएस) ले पटकपटक विदेशी नागरिकलाई लक्षित गरी आक्रमण गर्दै आएको थियो । आईएसले घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । अफगानिस्तानको गुप्तचर संस्थाका अनुसार मंगलबार चारजना शक्तिशाली नेतालाई सुरक्षाकर्मीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?