कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकासँग बन्दी साट्न इरान तयार

एजेन्सी

तेहरान — इरानले अमेरिकासँग बन्दी साटासाट गर्न तयार रहेको बताएको छ । यसका लागि कुनै पनि सर्त मान्य नहुने तेहरानको भनाइ छ ।

अमेरिकासँग बन्दी साट्न इरान तयार

‘इरानी र अमेरिकी कैदीबन्दी आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौं,’ सरकारका प्रवक्ता अली रबिईलाई उद्धृत गर्दै इरानी समाचार संस्था आईएसएनएले जनाएको छ । ‘अमेरिका पहिलेभन्दा अहिले यो अवस्थालाई अन्त्य गर्न बढी इच्छुकजस्तो देखिएको छ,’ उनले भने । यसबारे आफूहरूले अमेरिकी प्रतिक्रिया पर्खिरहेको रबिईले बताए । तर अमेरिकाले भने इरानी प्रस्तावप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

यसबारे आफूहरूले वासिङ्टनलाई प्रस्ट जानकारी दिएकाले कुनै पनि मध्यस्थताको आवश्यकता आवश्यक नभएको रबिईको भनाइ छ । इरानले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई साटेको थियो । त्यसयता इरानले समान रूपमा हुने बन्दी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो ।

अमेरिकी जेलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताको भनाइ छ । उनले आफ्ना नागरिकलाई अमेरिकाले मानवीय व्यवहार नगरेको दाबी गरे । अमेरिकी नियन्त्रणमा रहेका इरानी वैज्ञानिक सिरोअस अस्गारी कोरोना भाइरसबाट संक्रमित रहेको इरानी विदेश मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ताले गतसाता सबै कुरा तयारी भएको र उनी छिट्टै इरान फर्किने घोषणा गरेका थिए । तर रबिईले यसबारे विस्तृत विवरण बताएनन् । इरानले अमेरिकी नागरिक साइमक नमाजी, उनका बुबा बाकेर र वातावरणविद् मोराद तावेजलाई कारागारमा राखेको छ । उनीहरुलाई इरानी अदालतले जासुसीलगायत अभियोगमा दोषी ठहर गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च अमेरिकी नौसैनिक अधिकारीलाई मार्च १९ मा अस्थायी रूपमा रिहा गरिएको थियो । अमेरिका र इरान दुवै मुलुकले कोरोना भाइरसको प्रकोपलाई ख्याल गर्दै बन्दीहरूलाई छाड्न आग्रह गर्दै आएका छन् ।

इरान कोरोना महामारीका कारण मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित भएको छ भने अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । इरानले करिब दुई महिनाको अवधिमा एक लाख कैदीलाई कोरोना भाइरसको जोखिमका कारण विभिन्न चरणमा रिहा गरिसकेको छ ।

सन् २०१५ मा इरानसँग शक्ति राष्ट्रहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपक्षीय रूपमा अलग हुने घोषणा गरेपछि दुई देशबीच जारी तनाव थप चुलिएको हो ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?