१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बेलायतमा बुधबारदेखि लकडाउन खुकुलो पारिँदै

सरकारले सार्वजनिक गर्‍यो चरणबद्ध योजना
नविन पाेखरेल

लन्डन — बेलायतले झन्डै ६ सातादेखि जारी लकडाउन खुकुलो बनाउन चरणबद्ध योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार देशवासीका नाममा सम्बोधन गर्दै लकडाउन केही सर्तसहित क्रमिक रूपमा खोल्ने घोषणा गरेका हुन् ।

बेलायतमा बुधबारदेखि लकडाउन खुकुलो पारिँदै

पहिलो चरणमा बुधबारदेखि नागरिकले घरबाहिर थप समय व्यायाम गर्न, पार्कमा बस्न, समुद्र वा राष्ट्रिय निकुञ्ज भ्रमण र गल्फ, टेनिसजस्ता खेल गतिविधि गर्न सक्ने उनले बताए । तर, यस्ता गतिविधि एकै परिवारका सदस्यबीच मात्र हुनुपर्नेछ । नत्र ३ हजार २ सय पाउन्डसम्म जरिवाना तिर्नुपर्नेछ ।

प्रधानमन्त्रीले घरबाट काम गर्न असमर्थलाई कार्यालय जान दिइने तर सकभर सार्वजनिक यातायात नचढ्न आग्रह गरेका छन् । काम गर्ने ठाउँमा सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

जोन्सनका अनुसार दोस्रो चरणमा आगामी जुनदेखि प्राथमिक विद्यालय र केही पसल खुल्नेछन् । तर, पसल खुल्ने–नखुल्ने भाइरस नियन्त्रणको अवस्थामा निर्भर हुनेछ ।

प्रधानमन्त्रीको सम्बोधनमा बन्द रहेका व्यापार–व्यवसाय, विद्यालय एवं अन्य सार्वजनिक स्थल भने मेभरि खुल्ने संकेत देखिँदैन ।

सरकारले आगामी महिनादेखि हवाई मार्गबाट बेलायत आउने यात्रुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने नियम ल्याएको छ । नियम उल्लंघन गरे एक हजार पाउन्ड जरिवाना वा डिपोर्ट नै हुन सक्ने प्रावधान राखिँदै छ ।

तेस्रो चरणअन्तर्गत आगामी जुलाईदेखि हस्पिटालिटी क्षेत्र र सार्वजनिक स्थल खुल्न सक्ने प्रधानमन्त्रीले बताएका छन् ।

हस्पिटालिटी क्षेत्रबारे स्पष्ट नखुलाइए पनि सामाजिक दूरी कायम गरी बाहिर बस्न पर्याप्त ठाउँ भएका क्याफे, रेस्टुरेन्ट खोल्न दिइने सम्भावना रहेको बेलायती अखबारहरूले जनाएका छन् ।

सरकारले ‘कोभिड १९ अलर्ट प्रणाली’ पनि सार्वजनिक गरेको छ जसले खतराका पाँच तह छुट्ट्याएर चेतावनी दिन सक्नेछ ।

सरकारले मानिसलाई ‘घरमै बस्नोस्’ को सट्टा ‘सावधान रहनोस्’ भन्ने सन्देश सार्वजनिक गरेको छ । तर, स्कटल्यान्डकी प्रथममन्त्री निकोला स्टरजनले भने अझै पनि घरमै बस्न सल्लाह नै दिइने बताएकी छिन् ।

यसैबीच, ब्रिटेनको मुख्य विपक्षी लेबर पार्टीका नेता सर कियर स्टारमरले प्रधानमन्त्रीको वक्तव्यमा स्पष्टता र सहमति नरहेको प्रतिक्रिया दिएका छन् ।

‘अब इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्स फरक–फरक दिशामा अघि बढ्ने सम्भावना देखिएको छ । त्यसैले सरकारले ठूलो खाडल भर्नुपर्ने देखिन्छ,’ उनले बीबीसीसँग भनेका छन् ।

सरकारले लकडाउन पूरै खुलाउन पाँचवटा जाँच पूरा हुनुपर्ने घोषणा यसअघि नै गरिसकेको छ । यिनमा पहिलो– राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को भारवहन क्षमता, दोस्रो– दैनिक मृत्युदरमा ‘लगातार र एकनासले कमी’, तेस्रो– नयाँ संक्रमणको दर व्यवस्थित गर्न सक्ने तहमा घट्नु, चौथो– कोरोनाको पर्याप्त परीक्षण तथा पीपीईको भविष्यमा हुने माग पूरा गर्न सक्ने सुनिश्चय र पाँचौं– कुनै पनि नियम फेरबदल गर्दा त्यसले एनएचएसले थेग्न नसक्ने गरी फेरि दोस्रो उभार नल्याओस् भन्ने उल्लेख छ ।

बेलायतमा कोभिड–१९ का कारण आइतबारसम्म ३१ हजार ८ सय ५५ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या करिब २ लाख २० हजार पुगेको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार यहाँ यो भाइरसबाट मृत्यु हुने नेपालीको संख्या ४६ छ ।

प्रकाशित : वैशाख २९, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?