कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ट्रम्पको अपरिपक्‍व कूटनीति : झन् बिग्रँदै चीनसँगको सम्बन्ध

कोरोना भाइरसबारेको आरोप–प्रत्यारोपसँगै सुरु भएको पछिल्लो विवाद अर्थतन्त्र र चुनावी मुद्दामा मात्र केन्द्रित नभई नयाँ शीतयुद्धसम्म पुग्न सक्‍ने देखिएको छ ।
बुद्धिसागर मरासिनी

काठमाडौँ — व्यापार युद्धका कारण चिसिएको चीन र अमेरिकाबीचको सम्बन्ध कोरोना भाइरस (कोभिड–१९) का कारण झन् बिग्रँदै गएको छ ।पछिल्लो समय दुई देशबीचको सम्बन्ध थप बिग्रनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बढी जिम्मेवार ठानिएको छ ।

ट्रम्पको अपरिपक्‍व कूटनीति : झन् बिग्रँदै चीनसँगको सम्बन्ध

खासगरी कोभिड–१९ लाई ट्रम्पले ‘चिनियाँ भाइरस’ का रूपमा व्याख्या गरिदिएपछि चिढिएको चीन हालैका दिनमा अमेरिकाप्रति झन् बिच्किएको छ ।

अमेरिकामा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका नीतिका कारण राष्ट्रपति ट्रम्पको आलोचना हुने गरेको छ । तर उनले भने महामारी रोक्न समयमै आवश्यक पहल नगरेकोमा बारम्बार चीनको आलोचना गर्दै आएका छन् । ‘यो स्रोतमै रोकिनुपर्थ्यो । चीनमै रोकिनुपर्थ्यो । तर त्यसो भएन,’ ट्रम्पको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले कोभिड–१९ चीनको प्रयोगशालामा निर्माण गरिएको दाबी गर्दै आएका छन् । कोभिड १९ को भाइरस चीनको प्रयोगशालामा बनाइएको आफूसँग ठोस प्रमाण रहेको बारम्बार बताउने गरे पनि सार्वजनिक गर्न भने सकेका छैनन् ।

अमेरिकी गुप्तचर संस्थाको प्रतिवेदनविपरीत उनले कोभिड–१९ चीनको वुहानस्थित प्रयोगशालाबाट चुहिएको दाबी गरेका हुन् । हुबेई प्रान्तको राजधानी वुहानमा गत वर्षको डिसेम्बर ३१ मा पहिलोपटक कोभिड–१९ को संक्रमण देखिएको थियो ।

नेसनल इन्टेलिजेन्स ब्युरोले केही दिनअघि भाइरसको उत्पत्तिबारे अनुसन्धान भइरहेको बताएका थिए । ब्युरोका निर्देशकले प्राप्त तथ्यका आधारमा कोभिड–१९ को भाइरस प्रयोगशालामा बनाइएको नदेखिएकामा आफू विश्वस्त रहेको बताइसकेका छन् । तर ट्रम्प यसमा टसमस छैनन् ।

‘प्रयोगशालामै तयार पारिएको कसरी दाबीका साथ भन्न सक्नुहुन्छ ?’ भन्ने पत्रकारले राखेको प्रश्नमा गतसाता उनी अनकनाएका थिए । ‘मैले तपाईंलाई भन्न मिल्दैन, तपाईंलाई जानकारी दिन मलाई अनुमति छैन,’ उनको भनाइ थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि भाइरसको संक्रमण फैलिनुमा चीन जिम्मेवार रहको बारम्बार दोहोर्‍याउँदै आएका छन् । उनले कोभिड–१९ को भाइरस कसरी फैलियो भन्नेमा चीनले स्पष्ट जवाफ दिनुपर्ने बताएका थिए ।

चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारीको रुप लिएको उनको दाबी छ । तर कोभिड–१९ को भाइरस प्रयोगशालामा तयार पारिएको ठोस प्रमाण छैन । विश्वका वैज्ञानिकहरूले पनि चमेरोबाट कुनै समुद्री जीव हुँदै मानिसमा संक्रमण सरेको बताउँदै आएका छन् ।

अमेरिकाका एक वरिष्ठ जनस्वास्थ्यविद्ले प्राप्त तथ्यहरुका आधारमा कोभिडको भाइरस प्रयोगशालामा बनाइएको नदेखिएको बताइसकेका छन् । ट्रम्प प्रशासनका कोरोना भाइरस कार्यदलका सदस्य समेत रहेका डा. एन्थोनी फाउचीले भाइरस प्राकृतिक रुपमै उत्पन्न भएको बताएका छन् ।

चीनले पनि कोभिड–१९ को भाइरस प्रयोगशालामा तयार पारिएको भन्ने अमेरिकी आरोप बारम्बार अस्वीकार गर्दै आएको छ । भाइरस नियन्त्रणका लागि असफल भएकाले मानिसहरूको ध्यान अन्तै मोड्न आफूमाथि आरोप लगाइएको प्रतिक्रिया जनाएको छ ।

चीनको विदेश मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै भाइरस प्रयोगशालामा नबनाइएको बताइसकेको छ । डब्लूएचओले कोभिड–१९ को भाइरस प्रयोगशालाबाट चुहिएको बारे कुनै प्रमाण नभेटिएको प्रस्ट पारिसकेको छ । साथै, उसले भाइरसको उत्पत्तिबारे आधारहीन आरोप नलगाउन सबैलाई चेतावनी दिँदै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझाङले बेइजिङमा गत साता पत्रकारहरुसँग भनेका थिए, ‘कोरोना भाइरस प्रयोगशालामा उत्पत्ति भएको कुनै प्रमाण नभेटिएको डब्लूएचओका अधिकारीले बारम्बार भनिरहेका छन् ।’

डब्लूएचओका भनाइका कारण रुष्ट अमेरिकी राष्ट्रपतिले उसलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने घोषणा गरिसकेका छन् । डब्लूएचओले चीनप्रति सदाशय देखाएको तथा कोभिड–१९ को संक्रमणबारे समयमै ठोस सूचना नदिएको ट्रम्पको आरोप छ । तर संगठनका प्रमुखले यसको खण्डन गर्दै आएका छन् ।

त्यसैगरी, गत साता बेलायतस्थित चिनियाँ राजदूतले पनि कोरोना भाइरसबारे चीन ‘खुला र पारदर्शी’ रहेको जनाउँदै अमेरिकाले गलत आरोप लगाएको बताएका थिए । लिउ सियाओमिङले आरोप–प्रत्यारोपले दुई देशबीचको सम्बन्धमा तगारो मात्र तेर्सिने बताए । ‘अमेरिकाले आरोप त चीनलाई लगाउन सक्छ, सारा विश्वलाई नै लगाउन सक्छ,’ उनले भनेका छन्, ‘यदि अमेरिकाले चीनलाई शत्रु ठान्छ भने त्यो उनीहरूको गलत निसाना हो ।’

कोरोना भाइरसबारे चीनले हालसम्म परिपक्व कूटनीति प्रदर्शन गरिरहेको छ । उसले आफ्ना कूटनीतिक माध्यमलाई परिचालित गर्दै ‘पर्ख र हेर’ को रणनीतिमा देखिएको छ । अझ राष्ट्रपति सी चिनफिङले त यसबारे सार्वजनिक रुपमा हालसम्म कुनै टिप्पणी नै गरेका छैनन् ।

तर यस मामिलामा अमेरिका भने अपरिपक्व देखिएको छ । ट्रम्पले त नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूलाई पराजित गर्न चीन लागिपरेको आरोपसमेत लगाउन भ्याइसकेका छन् । चीनले कोभिड नियन्त्रणका लागि चालेका कदम त्यसको प्रमाण भएको उनको दाबी छ ।

‘चीनले मलाई हराएर डेमोक्र्याटिक उम्मेदवारलाई जिताउन प्रयास गरिरहेको छ । के–के हुन्छ म हेर्दै छु,’ समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले गतसाता भनेका थिए, ‘चीनले डेमोक्र्याटिक पार्टीका जो बाइडन अमेरिकाको राष्ट्रपति बनून् भन्ने चाहन्छ ।’

तर अमेरिकाभित्र भने भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै ट्रम्प निकै आलोचित छन् । कोरोनाविरुद्ध ह्वाइटहाउसको गलत र राष्ट्रपति ट्रम्पको अदूरदर्शी नीतिका कारण अमेरिकी जनताले दुःख मात्र पाएका छैनन् अर्थतन्त्रसमेत निकै प्रभावित भएको छ । बेरोजगारीको संख्या इतिहासकै बढी अर्थात् करिब ६ करोड ९० लाख पुगेको छ । तीमध्ये करिब ३ करोड ३० लाखभन्दा बढी ६ सातायता बेरोजार बनेका संघीय सरकारको तथ्यांकले देखाएको छ ।

पछिल्लो समयमा देशमा देखिएका समस्याबाट बच्न तथा दोस्रो कार्यकाल पदमै रहिरहन ट्रम्पले आरोपहरू बेइजिङतिर तेर्स्याएका कतिपय विश्लेषकहरूको दाबी छ । सतहमा भाइरसको महामारी देखिए पनि अर्थतन्त्र र राष्ट्रपतीय चुनाव नै प्रमुख मुद्दाका रूपमा देखिएका छन् ।

चीनविरोधी अभिव्यक्ति र गतिविधिले अमेरिकामा चुनाव जित्न सहज हुने आकलन ट्रम्पको छ । पेउ रिसर्च सेन्टरले हालै गरेको सर्भेमा ६६ प्रतिशत अमेरिकी चीनको विपक्षमा देखिएका छन् जुन १५ वर्षयताकै बढी हो ।

अमेरिकी अर्थतन्त्र सन् १९३० यता सबैभन्दा बढी प्रभावित भएको छ । तीन महिनाको तथ्यांकअनुसार विश्वकै ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको गिरावट आउने देखिएको छ । विवाद बढ्दै जाँदा चीनभन्दा अमेरिकालाई बढी हानि हुने अमेरिकी अर्थशास्त्री डा. स्टेफन एस रोचको भनाइ छ । उनका अनुसार अमेरिकाले चीनबाट आयात हुने सामानको अभाव झेल्नुका साथै तेस्रो ठूलो तथा तीव्र वृद्धि भइरहेको बजार गुमाउनेछ ।

त्यसका साथै दुई देशबीचको सम्बन्ध थप बिग्रेको खण्डमा यसको असर अर्थतन्त्र र चुनावी मुद्दाभन्दा परसम्म पनि पुग्ने आकलन गरिएको छ । त्यसो भएको खण्डमा नयाँ शीतयद्ध सुरु हुने र विश्व शक्तिको सन्तुलनमा समेत परिवर्तन ल्याउन सक्ने रोचको विश्लेषण छ । त्यसैले गलत कुरामा गर्व गर्ने र चर्को स्वरमा अरूलाई गाली गर्नुको साटो विवाद अन्त्यका लागि आवश्यक पहल गर्नु नै राष्ट्रपति ट्रम्पका लागि बुद्धिमानी पूर्ण हुने देखिन्छ ।

प्रकाशित : वैशाख २७, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?