लक्जमवर्गका नागरिकलाई घरघरै पुगेर मास्क वितरण

ददी सापकोटा

फ्रान्स — लक्जमवर्गको सरकारले आफ्ना नागरिकलाई घरघरै मास्क पुर्‍याउने भएको छ । प्रधानमन्त्री साभिय बेतेलले आफ्ना नागरिकलाई घरघरै मास्क पुर्‍याउने र छिमेकी देशहरुबाट लक्जमवर्गमा काम गर्न आउने कर्मचारीहरुलाई समेत मास्क उपलब्ध गराउने मंगलबार घोषणा गरेका हुन् ।

लक्जमवर्गका नागरिकलाई घरघरै पुगेर मास्क वितरण

सुरुमा राज्य र नगरपालिकाहरु मिलेर १ लाख ८० हजार मास्क खाममा राखी हुलाकमार्फत पठाउन लागिएको फ्रेन्च १ टिभीले जनाएको छ । मास्क वितरणका लागि केही क्षेत्रमा सेनासमेत खटाइने छ । ६५ वर्ष माथिका नागरिक र असहाय, अपांगता भएकाहरुका लागि भने नगरपालिकाले मास्कहरु हातहातै उपलब्ध गराउने छ । मास्कहरु कसरी पठाइन्छ र जनताले पाए/नपाएको निरीक्षण लक्जमवर्गकी गृहमन्त्री ताईना बोफेरदिङ आफैंले गर्ने भएकी छन् ।

सुरुमा प्रत्येक व्यक्तिका लागि ५ वटा मास्कसहितको किट प्राप्त हुने छ । किटमा मास्क लगाउने निर्देशनसहित स्पष्टीकरणात्मक पानाहरू छापिएको फारम राखिने छ र त्यसलाई अनलाइनमा समेत उपलब्ध गराइने छ ।

प्रधानमन्त्रीले बुधबारबाटै नागरिककहरुका लागि ६० देखि ७० लाख मास्क राज्य र नगरपालिकाहरुको सक्रियतामा उपलब्ध गराउने घोषणा गरेको लक्जावर्गको लेसँसियल एल युले जनाएको छ । दुई व्यक्तिका बीचमा दुई मिटर दूरी कायम गर्न नसकिने अवस्थामा मास्क प्रयोगलाई बाध्यकारी मानिने प्रधानमन्त्रीले उल्लेख गरे । बैंक, निर्माणस्थल, हुलाक, पसल, अस्पतालहरुमा बढी मात्रामा भीड हुनाले त्यस्ता ठाउँमा प्रत्येक दुई ब्यक्तिकाबीच दुई मिटर दूरी कायम गर्न नसकिने हुँदा मास्कलाई बाध्यकारी बनाइएको हो ।

त्यस्तै, नागरिकहरूले घरघरै हुलाकमार्फत मास्क र स्वास्थ्य किट प्राप्त गर्ने लक्जमवर्गका स्वास्थ्यमन्त्री पाउलेट लनेटले स्पष्ट पारेका छन् । मास्क प्राप्त नभइसकेको अवस्थामा स्काप वा कुनै रुमाल बेरेर भए पनि नाक र मुख ढाक्नुपर्ने स्वास्थ्यमन्त्रीको भनाइ छ ।

प्रकाशित : वैशाख २४, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?