कश्मीरी फोटोपत्रकारहरुलाई पुलित्जर पुरस्कार

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका तीन जना फोटोपत्रकार विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन् । भारत सरकारको गत वर्ष ५ अगस्टमा जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि कश्मीर उपत्यकामा सिर्जित परिस्थितिमा आधारित उत्कृष्ट तस्बिरहरुका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

कश्मीरी फोटोपत्रकारहरुलाई पुलित्जर पुरस्कार

पुरस्कृत तीनै जना फोटोपत्रकार यासीन डार, मुख्तार खान र चन्नी आनन्द जम्मू–कश्मीर निवासी हुन् । उनीहरु तीनै जना अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)मा आबद्ध छन् । पुरस्कार सोमबार राति घोषणा गरिएको हो ।

भारत-पाकिस्तान सीमाबाट गतिविधि नियाल्दै बीएसफ जवान तस्बिर : चन्‍नी आनन्द/एपी

भारतको केन्द्र सरकारले धारा ३७० खारेज गर्नुका साथै उक्त राज्यलाई जम्मू–कश्मीर र लद्दाख गरी दुईवटा केन्द्र शासित प्रदेश (यूटी) मा टुक्राउने निर्णय गरेको थियो । धारा ३७० खारेजीको विरोधमा कश्मीर उपत्यकामा प्रदर्शन भएका थिए । त्यसो त सरकारले सम्भावित विरोध प्रदर्शनलाई रोक्न धारा ३७० खारेज हुनुअघि नै राज्यमा कफ्र्युमा लगाउने र स्थानीय राजनीतिज्ञहरुलाई पक्राउ गर्ने र नजरबन्दमा राखेको थियो । त्यसका बाबजुद पनि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । स्थानीय प्रशासनले महिनौंसम्म कफ्र्यु लगाएको थियो । र, टेलिफोन र इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।

गत डिसेम्बर ९ मा श्रीनगरमा प्रार्थना गर्दै स्थानीय तस्बिर मुख्तार खान/एपी

कतिपय प्रदर्शनमा हिंसात्मक झडप पनि भएका थिए । त्यस्तो तनावपूर्ण परिस्थितिमा पनि त्यहाँ रहेका सीमित पत्रकार र फोटोपत्रकारहरुले समाचार र तस्बिरहरु विभिन्न सन्चारमाध्यमका लागि सम्प्रेषण गरेका थिए । र, ती सामग्रीलाई भारतीय मात्र नभएर अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले पनि उच्च प्राथमिकता दिएका थिए । र, त्यस्ता सामग्री पस्किने कुरामा पुरस्कृत फोटोपत्रकारहरुका अग्रमोर्चामा थिए ।

मास्क लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड गर्दै तस्बिर : डार यासिन/एपी

उनीहरुका तस्बिरहरु धारा ३७० खारेजीपछिको कश्मीर उपत्यका र त्यहाँको जनजीवनमा आधारित थिए । सन् १९१७ मा स्थापना गरिएको पुलित्जर पुरस्कार हरेक वर्ष विश्वभरका पत्रकारिता, नाटक र संगीतको क्षेत्रमा योगदान पुऱ्याए प्रदान गरिँदै आएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?