२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

फ्रान्सका मेयरहरू लकडाउन खुकुलो पार्ने सरकारी निर्णयको विरोधमा

निर्णय फिर्ता लिन माग गर्दै राष्ट्रपतिलाई पठाए खुला पत्र
ददि सापकोटा

पेरिस — फ्रान्सका मेयरहरू मे ११ देखि लकडाउन खुकुलो पार्ने सरकारी निर्णयको विरोधमा उत्रिएका छन् । पेरिसको प्रान्तीय क्षेत्र इल द फँसका तीन सयभन्दा बढी मेयरले सरकारी निर्णय बदर गरी लकडाउन अझ लम्ब्याउन माग गरेका छन् ।

फ्रान्सका मेयरहरू लकडाउन खुकुलो पार्ने सरकारी निर्णयको विरोधमा

उनीहरूले आफ्नो एसोसिएसनका तर्फबाट राष्ट्रपति एमानुयल माख्रोंलाई पठाएको खुलापत्रमा स्कुल पुनः खोल्ने निर्णय अस्थिर र अवास्तविक रहेको उल्लेख गरेको फ्रेन्च १ टिभीले जनाएको छ ।

मेयरहरूले स्वास्थ्यको दृष्टिले इल द फँस उच्च जोखिमपूर्ण क्षेत्रमा वर्गीकृत गरिएकाले त्यहाँका स्कुल खोल्ने निर्णय स्थगित गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपतिलाई पठाइएको पत्रमा पेरिसकी महानगरकी आन हिडाल्गोसहित ३ सय १५ मेयर छन् । पत्रमा लकडाउनलाई मार्च महिनामै बाध्यात्मक तरिकाले लागू गरिएको, स्थानीयलाई लकडाउन खुला पार्न तयार बनाउनका लागि आफूहरूलाई कुनै जानकारी नगराइएको समेत मेयरहरूले गुनासो गरेका छन् ।

लकडाउन खुलेपछिको परिस्थितिमा शिक्षक व्यवस्थापन, पाठ्यक्रमबाहिरका गतिविधिका लागि ‘एनिमेटर’ निर्क्योल र कति अभिभावकले आफ्ना बालबालिका स्कुल पठाउन चाहन्छन् भन्ने स्पष्ट नभई स्कुल खोल्न नहुने मेयरहरूको तर्क छ ।

खोल्नै पर्ने भए स्कुलको पुनःसंरचनामा ध्यान दिएर सबैभन्दा पहिले विपन्न विद्यार्थीका लागि खुला गर्नुपर्ने खाँचो उनीहरूले औंल्याएका छन् ।

हरेक विद्यार्थी र तिनका परिवारको अवस्था बुझी कुन तहको स्कुल खोल्ने, कुन तहको नखोल्ने स्पष्ट गरेर स्कुल पठाउनै पर्नेहरूका लागि मात्रै खोल्न सकिने उनीहरूको सुझाव छ ।

लकडाउन खोल्नेबारे पटकपटक निर्णय हेरफेर गर्दै आएको सरकारलाई मेयरहरूको पत्रले थप अप्ठेरोमा पार्न सक्ने फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख २२, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?