फ्रान्सको दुग्ध व्यवसाय धराशायी

दूध, क्रिम, नौली, घ्यू, आइसक्रिम र चिजको उत्पादन बढेसँगै व्यवस्थापनमा झन् समस्या
ददि सापकोटा

पेरिस — कोरोना भाइरस (कोभिड–१९) को संकटसँगै फ्रान्सको दुग्ध व्यवसाय धराशायी भएको छ । कृषकहरूको दबाब धान्न नसकेर कृषिमन्त्री डिडिय गियोमले युरोपेली युनियनसँगको सहयोगको याचनासमेत गरिसकेका छन् ।

फ्रान्सको दुग्ध व्यवसाय धराशायी

उत्पादनका आधारमा फ्रान्स दुग्धजन्य पदार्थमा युरोपकै जर्मनीपछि दोस्रो हो । बढी उत्पादन हुने यो मौसममा माग भने लगभग शून्य छ । जसका कारण कृषकहरू निकै मारमा परेका छन् । दूध, क्रिम, नौली, घ्यू, आइसक्रिम र चिजको व्यवस्थापन कसरी बन्ने भन्ने उनीहरूमा चिन्ता छ ।

कृषि मन्त्रालयका अनुसार फ्रान्समा ३ हजार ५ सय दुग्ध पदार्थसम्बन्धी उद्योग छन् । फ्रान्सका १ हजार ५ सय कम्पनीमा १ हजार ६ सय प्रकारका चिज बन्छन् । फ्रान्सको चिज विश्व बजारमा निकै लोकप्रिय छ । यहाँको चिजका मुख्य ग्राहक पर्यटक हुन् । तर भाइरसको संक्रमणसँगै पर्यटन व्यवसाय पनि बन्द भएपछि चिजको व्यवस्थापन हुन सकेको छैन ।

त्यसैगरी, जर्मनी अर्को मुख्य बजार हो । फ्रान्सको सबैभन्दा बढी नौनी इटालीले किन्ने गरेको थियो । त्यस्तै फ्रान्सले उत्पादितमध्ये ६७ प्रतिशत दुग्धजन्य पदार्थ युरोपेली मुलुकभित्रै निकासी गर्छ । चर्चा कम नभए पनि फ्रान्सले दुग्धजन्य उत्पादनले ठूला बोइङ र जेट विमानहरूको हाराहारीमै आम्दानी गर्छ ।

रेन क्षेत्रको कन्स्टेन्ट ह्यामेल डेरी प्रोडक्टका पास्कल जोइसको कृषि फार्मले हरेक महिना ३५ हजारदेखि ४० हजार लिटर दूध उत्पादन गर्छ । तर बजारमा पठाउने कुनै अवस्था छैन । सबै दूध आफंैले उपयोग गर्ने क्षमता पनि छैन । ‘यही साता मात्रै ३ हजार लिटरभन्दा बढी दूध रोकियो । अब के गर्ने सोचिरहेको छु,’ उनले टेलिफोनमा भने ।

जोइसका अनुसार एउटा गाईले एकै दिन ८० देखि सय लिटर त पानी नै पिउँछ । ७० किलो घाँस र दाना चाहिन्छ । उनीजस्ता सयौं किसानले हजारौं गाई पालेका छन् । दाना दिन, भकारो सोहोर्न मान्छे चाहिने नै भयो । वसन्त ऋतु सुरु हुन लागेकाले अहिले त झन् गाईहरूलाई चरनमा लैजानुपर्छ । ‘गाई पाल्ने खर्च उस्तै छ । तर दूध, चिज, नौनीको बिक्री स्वाट्टै घट्यो । सरकारले अनुदान दिएन भने त धेरै किसानको बिजोग हुने स्थिति छ,’ जोइसको गुनासो छ ।

त्यस्तै, संकलन केन्द्रमा दूध पुर्‍याउने गाडी पनि विभिन्न समस्याका कारण अनियमित छन् । जसका कारण यस्तो बेला कृषकहरूले दूध फाल्नुपर्ने अवस्था आउँछ । ‘जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ । समस्या देखाएर आउन सकिएन भन्ने खबर आयो भने केही गर्न सकिन्नँ । दूध मिल्काउने हो,’ जोइसको भनाइ छ । त्यसका साथै उत्पादन घटाउने र त्यसको सदुपयोग कसरी गर्ने भन्ने उपाय पनि कृषकले गरिरहेका छन् ।

कृषिमन्त्री गियोमले कृषकहरूलाई दुग्धजन्य पदार्थको उत्पादन घटाउन र भण्डारण गर्न सकिने सामग्री बनाउन आह्वान गरेका छन् । कृषकहरूले पनि चिज, मखन, दूध पाउडरको उत्पादन बढाएका छन् । त्यस्तै, कतिपयले वृद्धाश्रम, अनाथालय र स्वास्थ्यकर्मीलाई बाँडिरहेका पनि छन् ।

प्रकाशित : वैशाख २०, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?