चीनमा विद्यार्थी र कर्मचारीको दैनिक परीक्षण

(एएफपी)

बेइजिङ — चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरूमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । हरेक दिन पढ्न जाने विद्यार्थी र सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ । हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरू यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ ।

चीनमा विद्यार्थी र कर्मचारीको दैनिक परीक्षण

कक्षाकोठाभित्र छिर्नुअघि उनीहरूको स्वाब परीक्षण गरिन्छ । त्यसपछि उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षाकोठाभित्र छिर्न दिने गरिएको बताइएको छ । सांघाई र बेइजिङका विद्यालयहरू गत सातादेखि सञ्चालन गरिएको हो । भाइरसको संक्रमणसँगै बन्द विद्यालयमा हाल नियमित रूपमा पठनपाठन सुरु भएको जनाइएको छ ।

त्यसैगरी, सरकारी तथा निजी काममा रहेका कर्मचारीहरूको पनि स्वाब परीक्षण गरेरमात्र कार्यालयभित्र जान दिने गरिएको समाचारमा जनाइएको छ । त्यस्तै एक प्रान्तबाट अर्काेमा जान चाहने नागरिकले पनि परीक्षण नेगेटिभ आएपछि मात्र अनुमति पाउने गरेका छन् ।

बायोटेक कम्पनीहरूले भाइरसको परीक्षणसम्बन्धी किटहरू निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका पनि बताइएको छ । चीनका अधिकांश स्थानमा उच्च सतर्कताका साथ व्यवसाय तथा कार्यालयहरू विस्तारै खुला गर्न थालिएको छ ।

वुहानबाट गतवर्षको डिसेम्बरमा फैलिएको भाइरसका कारण चीनमा ४ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित : वैशाख १९, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?