१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पेरिस क्षेत्रमा कोरोनाबाट १६ सय स्वास्थ्यकर्मी  संक्रमित

ददी सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र इल द फँसमा १ हजार ६ सय २० स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये ३० जना चिकित्सकको मृत्यु भएको छ ।

पेरिस क्षेत्रमा कोरोनाबाट १६ सय स्वास्थ्यकर्मी  संक्रमित

पेरिस क्षेत्रको सार्वजनिक अस्पतालहरुको समूह एपीएचपी (पब्लिक हस्पिटल एसिस्टेन्ट अफ पेरिस) को ब्यालेन्ससिटबाट यो तथ्य सार्वजनिक भएको हो ।

एपीएचपीको रिपोर्टमा उल्लेख भए अनुसार कोरोनाको संक्रमणको उच्च जोखिममा नर्स र केयर टेकरहरु छन् । अस्पतालमा बिरामीहरु आउनासाथ सबैभन्दा पहिले बिरामीको अवस्था बुझ्ने, हेरचाह गर्ने, बेडमा लैजाने र डाक्टरहरुलाई सिफारिस गर्ने सबै काममा पहिलो सम्पर्क हुनाले नर्स र केयर टेकरहरु उच्च जोखिममा रहने गरेका हुन् ।

पेरिसको सार्वजनिक सहयोग-अस्पताल नेटवर्कको एक विज्ञप्ति अनुसार पेरिस नेटवर्कका अस्पतालहरूमा कार्यरत १ हजार ६ सय २० स्वास्थ्यकर्मीहरू उनीहरूको काम गर्ने ठाउँ वा घरमा संक्रमित भइसकेका छन् । संक्रमितको संख्या बढ्दो छ । संक्रमित कर्मचारीहरूको औसत उमेर ३९ वर्ष छ । तर ५५ वर्ष माथिका एक सयभन्दा बढि छन् ।

फ्रान्सको दक्षिणमा पर्ने मोपलिए भन्ने सानो सहरको स्थानीय सी एच यू अस्पतालमा मात्रै ४८ जना कर्मचारी संक्रमित छन् र ती मध्ये १७ जना चिकित्सकहरु छन् । त्यस्तै, तुलुज सहरका लगभग चार हजार कर्मचारीमध्ये तीन चिकित्सकहरुलाई कोरोना संक्रमण देखिएको छ ।

फ्रान्समा ३१ ठूला क्षेत्रिय शिक्षण अस्पताल, ५ सय ५८ केन्द्रीय अस्पताल, ९२ वटा विभिन्‍न रोग विशेषका अस्पताल र ३ सय ४८ स्थानीय अस्पताल गरी एक हजार २९ अस्पताल छन् । यी अस्पतालमा केकति स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित छन् भन्ने स्पष्ट तथ्यांक सरकारी स्तरबाट सार्वजनिक गर्ने गरिएको छैन । यस्तो तथ्यांक सार्वजनिक गरिनुपर्ने माग फ्रान्सेली मिडिया र कतिपय चिकित्सकहरुले गरिरहेका छन् ।

प्रकाशित : वैशाख १९, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?