भारतमा कामदारलाई एकबाट अर्को राज्य आउजाउ खोलिँदै

नेपालीहरू भने सरकारको निर्णयको पर्खाइमा
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले लकडाउनका कारण अलपत्र कामदार, विद्यार्थी र पर्यटकलाई एकबाट अर्को राज्य जान खुला गरेको छ । दोस्रो चरणको लकडाउन सकिन केही दिन मात्र बाँकी रहँदा गृह मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो ।

भारतमा कामदारलाई एकबाट अर्को राज्य आउजाउ खोलिँदै

लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका प्रवासी कामदार, तीर्थयात्री, विद्यार्थी, पर्यटक र अन्य व्यक्तिलाई आउजाउ खुला गरिएको छ,’ गृहसचिव अजय भल्लाद्वारा जारी निर्देशनमा उल्लेख छ ।

दोस्रो चरणको लकडाउन मे ३ मा सकिँदै छ । दुई राज्यबीचको समझदारीमा आउजाउ खुला गर्दा सामाजिक दूरी र स्यानिटाइज्डको व्यवस्था भने कायमै हुनुपर्ने मन्त्रालयले जनाएको छ । कोभिड–१९ को लक्षण नभएकालाई यात्रा अनुमति दिइने तर गन्तव्य पुगेपछि सम्बन्धित राज्य सरकारले उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्देशनमा उल्लेख छ । मन्त्रालयले मे ४ देखि लागू हुने गरी कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामबारे नयाँ दिग्दर्शन जारी गर्दै छ ।

केही समययता गुजरात र महाराष्ट्रमा अलपत्र उत्तर प्रदेश र विहारका कामदारले गाउँ फर्कन पाउनुपर्ने माग राखी प्रदर्शन गर्दै आएका छन् । कतिपय ठाउँमा झडपसमेत भएको थियो ।

उत्तर प्रदेश, मध्य प्रदेश, विहार, महाराष्ट्र, हरियाणालगायत राज्यले सरकारको निर्देशनअघि नै अलपत्र कामदारको नाम दर्ता गर्न थालिसकेका छन् । कतिपयले ओसार्नसमेत थालिसके । हिमाचल सरकारले पनि कश्मीरमा रोकिएका श्रमिकलाई फिर्ता ल्याउन पहल गरिरहेको छ । त्यसरी आएकालाई १४ दिन क्वरेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ ।

दिल्ली र हरियाणामा अलपत्र परेका आफ्ना नागरिकलाई उत्तर प्रदेशले सम्बन्धित जिल्ला सदरमुकाममा छाड्न सुरु गरेको छ । सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले दुई महिनाभित्र करिब १० लाख जना फर्कने भन्दै आवश्यक तयारी गर्न जिल्ला प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

कामदारको आवागमन ध्यानमा राख्दै सरकारले रेल्वे सेवा पनि नियमित गर्ने तयारी थालेको छ । सामाजिक दूरी राखेर रेल सञ्चालनको तयारी गरिएको उच्च अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो चरणको लकडाउनलगत्तै विदेशमा अलपत्र परेका भारतीयलाई स्वदेश फर्काउने तयारीसमेत हुँदै छ ।

लकडाउनका कारण दिल्ली र अन्य राज्यमा बीस हजारभन्दा बढी नेपाली कामदार अलपत्र परेको अनुमान छ । विद्यार्थी, तीर्थयात्री र उपचारका लागि आएका नेपालीलाई समेत जोड्दा संख्या अझै बढ्छ । तर, उनीहरूलाई उद्धार गर्न नेपाल सरकारबाट कुनै प्रतिबद्धता र निर्देशन नआएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । ‘दूतावासले अलपत्र परेका नेपाली जो सम्पर्कमा आएका छन्, उनीहरूको विवरण लिने गरेको छ तर नेपाल लैजाने प्रबन्धको विषयमा काठमाडौंबाट कुनै जानकारी आएको छैन,’ भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने ।

नेपाल सरकारले भारतमा कोरोनाको संक्रमणको अवस्था हेरेर नेपालीलाई स्वदेश फिर्ता गर्नेसम्बन्धमा निर्णय लिइने बताउँदै आएको छ । तर, भारतले लकडाउन खुकुलो बनाउँदै लगे पनि आफूहरूलाई स्वदेश फर्काउन सरकारले चासो नदेखाएको भन्दै नेपालीहरू आक्रोश पोख्न थालेका छन् ।

प्रकाशित : वैशाख १८, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?