कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अमेरिकामा संक्रमितको संख्या १० लाख नाघ्यो

कोरोना भाइरसका कारण विश्वभर संक्रमित भएकामध्ये एक तिहाइभन्दा बढी अमेरिकामा
एजेन्सीहरू

वासिङ्टन/लन्डन — कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १० लाख नाघेको छ ।

अमेरिकामा संक्रमितको संख्या १० लाख नाघ्यो

कोभिड–१९ बारे विश्वव्यापी रूपमा तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार साँझसम्म अमेरिका १० लाख १३ हजार जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वभर संक्रमित हुने करिब एक तिहाइ हो । विश्वभर ३१ लाख २८ हजाभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकामा हालसम्म ५८ हजार ४ सयभन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन् । यो भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको संख्याभन्दा पनि बढी हो । विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूले धेरै परीक्षण गरेकाले संक्रमितको संख्या बढी देखिएको बताए । विस्तारै संक्रमितको संख्या शून्यमा झर्ने उनको भनाइ छ । ट्रम्पले गत फेब्रुअरीमा कोभिड–१९ संक्रमितको संख्या शून्यमा झार्ने बताएका थिए । त्यतिबेला अमेरिकामा कोभिड–१९ का १५ जना बिरामी थिए ।

भाइरसको संक्रमणप्रति समयमै गहन अध्ययन नगर्दा गम्भीर परिणाम उत्पन्न भएको भन्दै राष्ट्रपति ट्रम्पको निकै आलोचना हुने गरेको छ । स्वास्थ्यविद्हरूले भाइसरको संक्रमण सुरुवाती चरणमै रहेका बेला देशव्यापी लकडाउन गर्न उनलाई सुझाव दिएका थिए । तर उनले अमेरिका बन्द गर्ने देश नभएको भन्दै अस्वीकार गरिदिएका थिए ।

भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राज्यहरूले लकडाउन घोषणा गरेका थिए । तर राष्ट्रपतिले अमेरिकी अर्थतन्त्र अप्ठ्यारोमा परेको, बेरोजगारहरूको संख्या बढेकोलगायत कारण देखाउँदै लकडाउन अन्त्य गर्न गभर्नरहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रपतिको निर्देशनसँगै कतिपय राज्यले लकडाउनलाई खुकुलो पारिसकेका छन् । मंगलबारसम्म जर्जिया, ओक्लाहोमा, अलास्का, साउथ क्यारोलिनाले केही व्यवसाय खुला गरिसकेका छन् । त्यसैगरी, टेनेसी र मिसिसिपीमा यसअघि घोषित लकडाउन अवधि सकिए पनि थपिएको छैन ।

रिपब्लिकन दलका गभर्नर रहेका आठ राज्य अर्कान्सस, आयोवा, नेब्रास्का, नर्थ डकोटा, ओक्लाहोमा, साउथ डकोटा, युट र वायोमिङले भने अनिवार्य घरमै बस्नुपर्ने आदेश हालसम्म जारी गरेका छैनन् ।

बेलायतले दैनिक एक लाख परीक्षण गर्ने

भाइरसको संक्रमण फैलिन नरोकिएपछि बेलायतले परीक्षणलाई थप तीव्रता दिने भएको छ । अधिकारीहरूले देशका विभिन्न ४३ स्थानमा परीक्षण केन्द्र स्थापित गरिएको जनाएका छन् । अब ६५ वर्ष उमेर कटेका तथा कामका लागि घरबाहिर जानुपर्ने सबैले तत्काल भाइरसको संक्रमण परीक्षण गराउन सक्नेछन् ।

त्यसैगरी, केयर होमहरूमा राखिएका सबै नागरिक तथा कार्यरत कर्मचारीहरूको परीक्षण सुरु गरिएको छ । अधिकारीहरूका अनुसार संक्रमणको कुनै पनि लक्षण नदेखिएकाहरूमा पनि यो परीक्षण हुनेछ । यसले लाखौं मानिसहरूलाई परीक्षणको दायरमा ल्याउने ठानिएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयले दैनिक १ लाख मानिसको परीक्षण गर्ने योजना अघि सारेको बीबीसीले जनाएको छ । हाल दैनिक सरदर ७३ हजार जनाको परीक्षण हुँदै आएको छ । गत सोमबार ४३ हजार जनाको परीक्षण गरिएको थियो । बेलायतमा बुधबार साँझसम्म भाइरसका संक्रमितको संख्या १ लाख ६२ हजार नाघेको छ । ९ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् ।

परीक्षण संयोजक प्राध्यापक जोन न्युटनले सरकारी वेबसाइटमार्फत २ करोड ५० लाख मानिसले परीक्षणका लागि समय लिन सक्ने व्यवस्था गरिएको जनाए । कारोना भाइरस कार्यदलको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री म्याट हानककले भने, ‘परीक्षणको दायरा बढाइएकाले निर्माण मजदुरदेखि अत्यावश्यक सेवाका कर्मचारी, अनुसन्धानकर्मीदेखि उद्योगमा काम गर्नेहरू सबै अब सुरक्षित हुनेछन् ।’

फ्रान्समा मे ११ देखि लकडाउन खुकुलो

फ्रान्स सरकारले मे ११ देखि लकडाउन खुकुलो गरिने घोषणा गरेको छ । लकडाउन खुकुलो भएसँगै विद्यालय तथा अन्य व्यवसायहरू सञ्चालन हुने जनाइएको छ । सरकारले त्यहाँका सार्वजनिक यातायात तथा विद्यालयहरूमा अनिवार्य मास्क लगाउनुपर्ने जनाएको छ ।

प्रधानमन्त्री एडुवार्ड फिलिप्पेका अनुसार सुरुमा प्लेग्रुप र प्राथमिक तहका कक्षा सुचारु गरिनेछ । उनका अनुसार मे ११ देखि बार तथा रेस्टुराँबाहेक अन्य पसलहरू सञ्चालन हुनेछन् । पसलहरूले ग्राहकलाई सामाजिक दूरी कायम गर्न तथा मास्क प्रयोग गर्न लगाउनुपर्ने एडुवार्डले बताए ।

कोभिड–१९ का कारण युरोपमा बेलायत, इटाली, स्पेनपछि फ्रान्स प्रभावित छ । बुधबार साँझसम्म फ्रान्समा २३ हजार ६ सय ६० जनाको भाइरसका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ लाख ३० हजारभन्दा बढी छ । फ्रान्समा दुई सातायता दैनिक सरदर २ हजार १ सय ६० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य अधिकारीहरूले अस्पतालका सघन उपचार कक्षमा बिरामीहरूको संख्या घटेको जनाएका छन् । केही सकारात्मक संकेतहरू देखिएका भए पनि स्थिति अझै नियन्त्रणमा आइनसकेको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री एडुवार्डले स्थिति सहज भइनसके पनि अर्थतन्त्र सुचारु गर्नुको विकल्प नभएको बताए । संंसद्मा सम्बोधन गर्दै उनले भने, ‘खोप तथा प्रभावकारी उपचारको टुंगो नलागेसम्म हामीले भाइससँग जुध्दै बाँच्न सिक्नुको विकल्प छैन ।’ सामाजिक दूरी कायम गर्दै अर्थतन्त्र सुचारु गर्ने उनको प्रस्तावप्रति अधिकांश सांसदहरूले समर्थन जनाएका छन् ।

रुसमा पीपीई अभाव

कोभिड–१९ का संक्रमितको संख्या बढेसँगै रुसमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) अभाव भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिकित्सकहरूलाई पीपीई तथा उपकरणहरूको अभाव रहेको स्विकारेका छन् ।

‘उत्पादन र आयातमा निकै ठूलो वृद्धि गरिए पनि अभाव देखिएको छ,’ पुटिनले भने, ‘आवश्यकताअनुसार हामीलाई अझै पुगेको छैन ।’ उनका अनुसार मार्चमा ३ हजारको हाराहारीमा उत्पादन हुने पीपीई हाल दैनिक १ लाखको संख्यामा उत्पादन भइरहेको छ ।

पुटिनले रुसमा कोभिड–१९ को संक्रमण उच्च तहमा पुगिनसकेको भन्दै नागरिकलाई सचेत रहन सुझाव दिएका छन् । ‘भाइरसको भयानक खतरा अझै बाँकी छ,’ उनले भने । भाइरस थप फैलिन नदिन गरिएको लकडाउन मे ११ सम्मका लागि बढाइएको उनले जनाए ।

कोभिड–१९ संक्रमितका आधारमा रुस हाल आठौं स्थानमा छ । बुधबार साँझसम्म संक्रमितको संख्या १ लाख नाघेको छ । तीमध्ये करिब आधार अस्पतालमा छन् । संक्रमितको संख्या बढेसँगै सैनिक पार्क र एक्स्पो सेन्टरमा अस्थायी अस्पताल बनाइएको छ । हालसम्म ९ सय ७२ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : वैशाख १७, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?