२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अस्ट्रेलियाले कसरी नियन्त्रण गर्दै छ कोरोना ?

६ वटा राज्य र दुई टेरिटोरीमा हालसम्म ६ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भए पनि ५ हजार ६ सय २६ जना निको भइसकेका छन्
नारायण खड्का

सिड्नी — अमेरिकालगायत अधिकांश युरोपेली देशमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढिरहेको भए पनि अस्ट्रेलियामा नियन्त्रण उन्मुख छ । पूर्ण लकडाउनबिना नै नयाँ संक्रमित घटिरहेका छन् भने निको हुने करिब ८० प्रतिशत छन् ।

अस्ट्रेलियाले कसरी नियन्त्रण गर्दै छ कोरोना ?

अस्ट्रेलियास्थित स्वास्थ्य बिभागको पछिल्लो तथ्यांकअनुसार यस भाइरसबाट अहिलेसम्म ८८ जनाले ज्यान गुमाएका छन् जसमा पनि ५० वर्षभन्दा माथिका नागरिक मात्र छन् । उनीहरुमा यस भाइरसको संक्रमण हुनुभन्दाअघि नै अन्य अन्य रोगहरु लागेको समाचारहरुमा जनाइएको छ ।

६ वटा राज्य र दुई टेरिटोरीमा हालसम्म ६ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भए पनि ५ हजार ६ सय २६ जना निको भइसकेका छन् । करिब ३ हजार आईसीयू क्षमता रहेको अस्ट्रेलियाको अस्पतालमा संक्रमितमध्ये जम्मा १ सय ९ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ४२ जना मात्र आईसीयूमा छन् ।

अस्ट्रेलियामा देखिएको संक्रमण मुख्य रूपले विदेशबाट आएका नागरिक र सामुद्रिक बाटो हुँदै आएको ठूला पानीजहाजमा रहेका नागरिकबाट सरेको सरकारको तथ्यांक छ । जनवरीको १९ तारिखमा पहिलो संक्रमण देखिएको थियो । संक्रमण देखिन सुरु गरेपछि प्रधानमन्त्री स्कट मरिसनले मार्च २० देखि नै विदेशीलाई आफ्नो देश आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई समेत विदेश यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको अस्ट्रेलियामा अहिले पनि ठूला सुपर मार्केट, साना पसलहरु र सडकमा सवारीसाधन प्रशस्त चलिरहेका छन् । पूर्ण लकडाउन नगरे पनि अस्ट्रेलिया भाइरस संक्रमण नियन्त्रणको नजिक पुगिसकेको विश्लेषण गरिएको छ ।

‘हामीले सामाजिक दूरी कायम राख्नका लागि जे उपायहरु गरेका छौं, यसले सकारात्मक सन्देश दिइरहेको छ,’ मरिसनले भनेका छन् । संक्रमितको संख्या हरेक दिन कम हुँदै गएको भए पनि उनले सामाजिक दूरी लगायतका केही उपायहरु करिब ६ महिनासम्म लागू हुने संकेत गरेका छन् । नर्सिङ होममा लगाइएको प्रतिबन्ध खुकुलो पारिने उनको भनाइ छ । मुख्य स्वास्थ्य अधिकारीले सरकारी उपाय प्रभावकारी देखिएको र केही समय यसलाई पालना गरिरहन आग्रह गरेका छन् ।

संक्रमण दर कम हुन थालेपछि र आफूले सोचेजति अस्पतालको बेडहरु नचाहिने भएपछि आफूले लगाएका केही प्रतिबन्धलाई सरकारले खुला गर्न सुरु गरेको छ । सिड्नीको पर्यटकीय सामुद्रिक किनारहरु सर्वसाधारणलाई पौडी खेल्न र कसरत गर्न खुला गरिसकिएको छ । अस्पतालमा हुने जरुरी सर्जरी एक सातापछि सुचारु गर्ने निर्णय गरिसकिएको छ । साथै, बन्द गरिएका ठूला केही ठूला खेल प्रतियोगितालाई समेत सञ्चालन गर्ने तयारी गरिएको छ । यद्यपि भाइरस परीक्षणको कार्यलाई भने राज्य सरकारले तीव्रता दिइरहेका छन् ।

के गर्‍यो सरकारले ?

भाइरसको संक्रमण देखिएलगत्तै अस्ट्रेलिया सरकारले केही क्षेत्रमा प्रतिबन्ध लगाउँदै कडाइ गरेको थियो । नियम नमान्नेलाई एक हजार डलरसम्म जरिवाना गरिएको थियो । सरकारी तथ्यांकअनुसार हालसम्म २ हजार जनाभन्दा बढीले त्यस्तो जरिवाना तिरेका छन् । योसँगै भाइरसका कारण जागिर गुमाएका नागरिकलाई ६ महिनासम्म मासिक ३ हजार डलर तलब दिने निर्णय गर्‍यो ।

अर्काेतिर यसैका कारण व्यवसाय बन्द भएका व्यवसायीलाई समेत विभिन्न सहुलियत क्रणका साथै नगद सहयोगसमेत दियो । यहाँ रहेका ठूला बैंकहरुले क्रण लिएका आफ्ना ग्राहकहरु यस भाइरसका कारण आर्थिक संकटमा परेका भए ६ महिनासम्म क्रण नमाग्ने निर्णय गरियो ।

‘अस्ट्रेलियाले जस्तो नियम र सहुलियत यहाँका जनता तथा व्यवसायीका लागि ल्यायो त्यो प्रभावकारी रूपमा कार्यन्वयन गर्‍यो,’ अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका विक्रम तिमिल्सिना भन्छन्, ‘कुनै पनि नागरिकलाई सरकारले लगाएको नियमहरु उल्लंघन गर्ने आवश्यकता नै परेन ।’ उनी सरकारले आफ्ना जनतालाई बाहिर ननिस्क भन्ने तर सामान्य आधारभूत आवश्यकता पूरा नगरिदिने हो भने त्यो प्रभावकारी नहुने दाबी गर्छन् ।

अस्ट्रेलियाले आर्थिक सहायतासँगै विदेशमा रहेका आफ्ना प्राय: सबै नागरिकलाई कूटनैतिक माध्यम प्रयोग गरेर आफ्नै देश फर्कायो । उनीहरु आउनेबित्तिकै सरकारी खर्चमा व्यवस्थापन गरिएका होटलहरुमा आइसोलेसन गरायो । जसले संक्रमित भए पनि उनीहरुले संक्रमण फैलाउन पाएनन् । त्यसका साथै हरेक राज्यले संक्रमणको जाँचलाई तीव्रता मात्र दिएनन् कि पोजिटिभ देखिएका हरेक बिरामीलाई दैनिक रूपमा स्वास्थ्य सेवा पुर्‍याए । अहिले अस्ट्रेलियाका सबैजसो राज्यमा रहेका नागरिकलाई सामान्य खोकी लागे वा ज्वरो आए पनि जाँच गर्न पाइने व्यवस्था गरिएको छ । दक्षिण अस्ट्रेलियाको एक अस्पतालमा कोरोना भाइरसको अग्रपंक्तिमा काम गरिरहेको नेपाली नर्स आसिका चापागाईं दैनिक रूपमा जाँच गर्न आउनेको संख्या नै ८० प्रतिशतभन्दा बढीले कमी आइसकेको बताउँछिन् ।

संक्रमण दर

अस्ट्रेलियाको दक्षिण अस्ट्रेलियालगायतका केही राज्यमा शुक्रबार संक्रमण दर शून्यमा झरिसकेको छ भने भाइरसका कारण सबैभन्दा पीडित न्यु साउथ वेल्समा पनि जम्मा ५ जना मात्र नयाँ संक्रमित पाइएका छन् । मार्चको दोस्रो र तेस्रो सातामा सबैभन्दा धेरै संक्रमण देखिएको भए पनि अन्त्यसम्ममा यो वृद्धि नियन्त्रणमा आइसकेको थियो ।

‘हामीले देशभरि नै संक्रमण दरलाई पातलो बनाउन सफल भएका छौं र यसलाई निरन्तरता दिन आवश्यक छ,’ प्रमुख स्वास्थ्य अधिकारी डा. ब्रेन्डन मर्फीले भनेका छन्् । उनले संक्रमण दर कम हुँदै गएको भए पनि आफूहरु सचेत भएर निर्णय लिनुपर्ने र सरकारको सुझावलाई पालन गर्नुपर्ने जनाएका छन् ।

अस्ट्रेलिया विश्वमा धेरै नागरिकमा भाइरसको संक्रमण जाँच गर्ने देशमा पर्दछ । सरकारी तथ्यांकअनुसार शनिबार साँझसम्म ५ लाख ३० हजार भन्दा बढीको परीक्षण गरिसकिएको छ । देशभरि दैनिक २० हजारभन्दा बढीको हाराहारीमा संक्रमण भए/नभएको जाँच हुने गरेको छ । करिब ३ साताअघि दैनिक ४ सयको दरमा नयाँ संक्रमण भइरहेको अस्ट्रेलियामा मंगलबार जम्मा ११ वटा मात्र नयाँ संक्रमणका बिरामी भेटिएको स्वास्थ्य विभागले जनाएको छ ।

न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले उक्त राज्यका जोकोही नागरिकले संक्रमण जाँच गर्न पाउने शुक्रबार बताएकी छन् । अस्ट्रेलियाको छिमेकी देश न्युजिल्यान्डले समेत संक्रमणलाई नियन्त्रण गर्दै आफूले लगाएको पूर्ण लकडाउनलाई खुकुलो बनाउने निर्णय गरिसकेको छ । अर्काेतिर कुनै पनि देशसँग जमिनबाट आफ्नो सिमाना नजोडिएका कारण समेत अस्ट्रेलियालाई संक्रमण नियन्त्रण गर्न सहज भएको सञ्चारमाध्यमको विश्लेषण छ ।

नेपालीको अवस्था

अस्ट्रेलियामा करिब १ लाख २० हजार नेपाली बसोबास गरिरहेको अनुमान भए पनि अहिलेसम्म जम्मा ९ जना यस भाइरसको संक्रमण परे । जसमध्ये सिड्नीका ४ र तास्मानियाका एक गरी ५ विद्यार्थी थिए भने मेलबर्नमा ४ जना थिए । उनीहरु सबै पूर्णरूपमा स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेको अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल सुनाउँछन् ।

उनी दूतावासका तर्फबाट दैनिक रूपमा नेपालीका बारेमा जानकारी लिने गरिएको बताउँदै अहिलेको अवस्थामा कोही पनि नेपाली यसको संक्रमण नरहेको दाबी गर्छन् । यद्यपि यस भाइरसका कारण रोजगारी गुमाएका हजारौं नेपाली विद्यार्थी भने अहिले पनि समस्यामा छन् । उनीहरुलाई अत्यावश्यक सामग्रीहरु एनआरएनलगायत अन्य केही संस्थाले सहयोग गरिरहेका छन् ।

प्रकाशित : वैशाख १७, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?