कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी, करिब ९ लाख निको भए- विश्व - कान्तिपुर समाचार

कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी, करिब ९ लाख निको भए

मृतकको संख्‍या २ लाख ११ हजार १५९
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४१ हजार ७ सय ६४ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ११ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ८ लाख ९३ हजार ९६७ जना निको भएको पनि सेन्टरले जनाएको छ ।

पुष्टि भएकामध्ये करिब एकतिहाई संक्रमण अमेरिकामै देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ९ लाख ८८ हजार १ सय ९७ पुगेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार २ सय ४५ पुगेको छ भने निको हुनेको संख्या एक ला ११ हजार ५ सय ९ रहेको छ । अमेरिकाको न्युयोर्कमा मात्रै १७ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी स्पेनमा २ लाख २९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ५ सय २१ रहेको छ । त्यस्तै इटालीमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ४ सय १४ रहेको छ भने २६ हजार ९ सय ७७ को मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट मंगलबार बिहानसम्म फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२, बेल्जियममा ७ हजार २ सय ७, जर्मनीमा ६ हजार एक सय २६, इरानमा ५ हजार ८ सय ५, ब्राजिलमा ४ हजार ६ सय ३, नेदरल्यान्ड्समा ४ हजार ५ सय १८ र चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने केही दिनयता कोरोना संक्रमणबाट मृत्यु भएको छैन । त्यस्तै संक्रमण पनि नियन्त्रणउन्मुख रहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार सोमबार ६ जनामा मात्रै संक्रमण देखिएको छ ।

प्रकाशित : वैशाख १६, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

दागबत्ती दिएलगत्तै बाढीले शवसहित चिता बगायो

माधव घिमिरे

विराटनगर — दागबत्ती दिएलगत्तै अचानक आएको बाढीले शवसहित चिता बगाएको छ । इलामको पश्चिम क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकामा सोमबार भएको यो घटना देख्ने मलामी र सुनेका आसपासका बासिन्दा चकित बनेका छन् ।

फाकफोकथुम गाउँपालिका वडा ३ का अध्यक्ष राजन पौडेलका अनुसार लडेर मृत्यु भएका स्थानीय ४० वर्षीय तीरमान लकान्द्रीको अन्तिम संस्कार गर्ने क्रममा यस्तो भएको हो । उनको शव पोष्टमार्टम गरेपछि फाकफोकथुम २ र ३ को बीचमा पर्ने खप्परे घाट पुर्‍याइएको थियो ।

चितामा राखेर मृतकका १४ वर्षीय छोराले दागबत्ती दिए । उपस्थित करिब डेढ सयजना मलामीले अन्तिम दर्शन गरे । त्यसको करिब १५ मिनटपछि मास्तिरबाट अचानक आएको बाढीले चिता बगाएर लगेको पौडेलले बताए ।

‘मजाले घाम लागिरहेको थियो, चिताका दाउरामात्र बल्न थालेको थियो’ उनले भने, ‘एकाएक मास्तिरबाट भयंकर बाढी आयो, हेर्दाहेर्दै चिता बगाएर लग्यो, सपनाजस्तो लागिरहेको छ ।’ शव जल्न नपाएकाले स्थानीयले खोजी गरे । साँझसम्म तल्लो क्षेत्रमा खोज्दा फेला नपरेको पौडेलले बताए । मंगलबार पनि शव खोजी गरिने उनले सुनाए ।

एकपटक आगो लगाइसकेको चितामा फेरि आगो लगाउनु नहुने संस्कार रहेको स्थानीय बूढापाकाले भनेकाले अन्तिम संस्कार भएको मान्ने सल्लाह गाउँलेले गरेका छन् । ‘शव खोज्ने र भेटिए गाड्ने सल्लाह भएको छ’ पौडेलले भने, ‘त्यही भएर आज (मंगलबार) पनि खोजी गर्नेछौं ।

स्थानीय सञ्चारकर्मी गोविन्द लामिछानेले पञ्चमीलगायत माथिल्ला गाउँमा भीषण वर्षा भएकाले बाढी आएको पछि थाहा भएको थियो । त्यति ठूलो बाढी एक्कासी आएको अहिलेसम्म नदेखेको स्थानीय बूढापाकाले बताएको उनले सुनाए ।

मृतकका घरमा आमाबुबा, एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रकाशित : वैशाख १६, २०७७ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×