कोरियामा कोरोना संक्रमण घट्यो, जनजीवन सामान्य

नयाँ संक्रमितको संख्या घटेपछि विद्यालय, सिनेमा हल, रेस्टुराँ, नाइट क्लब मे ५ देखि खुल्ने
गोकुल थोकर

सोल — दक्षिण कोरियाको राजधानी सोलमा चल्ने ‘मेट्रो लाइन–१’ सबैभन्दा पुरानो रेलसेवा हो । सोलका अधिकांश भाग छिचोल्न यसले २ सय किलोमिटर लामो दूरी तय गर्छ । ३ मिनेटको अन्तरमा चल्ने यो रेल देशकै सबैभन्दा व्यस्त पनि हो ।

कोरियामा कोरोना संक्रमण घट्यो, जनजीवन सामान्य

कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि भने यसमा यात्रु निकै पातलिए । त्यसयता १० देखि १५ मिनेटको अन्तरमा चल्न थालेको रेलले संक्रमितको संख्या घट्दै गएपछि पहिलेको जस्तै सेवा दिइरहेको छ ।

पछिल्लो समय कोरियामा नयाँ संक्रमितको संख्या १० को हाराहारी छ । गत मंगलबार ९, बुधबार ११, बिहीबार ८ र शुक्रबार ६ जनामा संक्रमण देखियो । शनिबार, आइतबार र सोमबार १०/१० जना नयाँ संक्रमित थपिए । अहिले भेटिएका अधिकांश नयाँ बिरामी अन्य देशबाट आएका हुन् । सोमबार भेटिएका १० जनामध्ये ७ जना विदेशबाट आएका हुन् ।

कोरियामा पहिलोपटक जनवरी २० मा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । त्यसको तीन दिनपछि सलनाल भनिने कोरियाको नयाँ वर्ष सुरु भयो । नयाँ वर्षमा लामो बिदा हुने भएकाले कोरियालीहरू आफन्त भेट्न विभिन्न स्थानमा पुगे । जसका कारण संक्रमण कोरियाभर फैलियो ।

फेबु्रअरी महिनामा संक्रमण थप विस्तार भयो । फेब्रुअरी २९ का दिन मात्रै ८ सय १३ जना संक्रमित भए । थेगु र ख्याङसान क्षेत्र कोरोनाको केन्द्रबिन्दु बन्यो । हाल ती स्थानमा नयाँ बिरामी भेटिएका छैनन् । मानिसको दैनिकी सामान्य हुँदै छ ।

अप्रिल ३० देखि मे ५ सम्म कोरियामा लामो बिदा हुँदै छ । अप्रिल ३० मा बुद्धजयन्तीमा सार्वजनिक बिदा छ भने मे १ मजदुर दिवस, २ र ३ तारिख सप्ताहन्त र ५ तारिखमा बाल दिवस छ । दुइटा सार्वजनिक बिदाको बीचमा भएको काम गर्ने दिनलाई प्राय: ठाउँमा बिदा नै दिने चलन छ । त्यसैले यो समयमा यात्रा गर्नेलाई सचेत रहन कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र (केसीडीसी) ले आग्रह गरेको छ ।

सरकारको क्रियाशीलता

कोरियाले कोभिड–१९ अन्त्य गर्न निकै मिहिनेत गरेको छ । झन्डै ५ करोड जनसंख्या भएको कोरियाले करिब ६ लाख २ हजार जनाको परीक्षण गरिसकेको छ । तीमध्ये २ लाख सिन्चान्जी चर्चसँग सम्बन्धित हुन् ।

कोभिड–१९ को परीक्षण गराउन जो कसैले सजिलै सक्छन् । सरकारले टोल फ्री नम्बर दिएको छ । बिरामी भएर शंका लागे त्यसैमा कल गर्न सकिन्छ । गाडी चलाकहरूलाई ‘ड्राइभ एट टेस्ट’ सुविधा पनि छ । कतै नयाँ संक्रमित देखिए त्यो क्षेत्रमा बसोबास गर्ने सबैको मोबाइलमा म्यासेज जान्छ । संक्रमित व्यक्ति कुन समय कता–कता घुम्यो भन्ने सम्पूर्ण जानकारी पनि म्यासेजमै पठाउँछ ।

८ हजार ७ सय संक्रमित निको

दक्षिण कोरियामा सोमबारसम्म १० हजार ७ सय ३८ कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ८ हजार ७ सय ६४ जना सफल उपचार गरेर घर फर्किएका छन् । बिरामीमध्ये २ सय ४३ जनाको मृत्यु भएको छ । यो बिरामीको २.२६ प्रतिशत मात्रै हो ।

विदेशबाट आउनेलाई कडाइ

विदेशबाट आउने यात्रुबाट कोभिड–१९ संक्रमितको संख्या बढेसँगै कोरिया प्रवेशमा कडाइ गरिएको छ । सोमबारसम्म १ हजार ४४ जना विदेशबाट आएका यात्रुहरूमा संक्रमण देखिएको छ । यसमा ९० प्रतिशत बिरामी कोरियाली नागरिक छन् ।

विदेशबाट कोरिया आएका यात्रुले अनिवार्य दुई साता क्वारेन्टाइनमा बस्नै पर्ने नियम छ । यदि कसैले नियम उल्लंघन गरे विदेशीलाई २ करोड वन (२० लाख रुपैयाँ) जरिवाना, ३ वर्ष जेल वा डिपोट गर्ने नियम छ । कोरियाली नागरिकका लागि १ करोड वन (१० लाख रुपैयाँ) जरिवाना र १ वर्ष जेल हुने नियम छ ।

कोरियाली सरकारको कडा नियमका कारण न्यून संख्यामा मात्रै यात्रुहरू कोरिया आएका छन् । यसअघि नै छोटो समयका लागि दिइने भिसाहरू दिन बन्द गरिएका छन् । अनएराइभल्स भिसा नदिने निर्णय गरेको छ । अहिले दैनिक ३ हजार जना मात्रै कोरिया आउने गरेका छन् ।

अहिलेसम्म क्वारेन्टाइनको नियम उल्लंघन गरेको आरोपमा ३ जना भियतनामका विद्यार्थीलाई डिपोट गरिएको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत आएका एक इन्डोनेसियालीलाई पनि स्वदेश फर्काइएको कोरियाली सरकारले जनाएको छ ।

मे ५ पछि प्रत्येक दिन क्वारेन्टाइन

मे ५ पछि भने प्रत्येक दिन क्वारेन्टाइन भन्ने नियम लागू हुनेछ । विद्यालय र कार्यस्थलको दैनिकी सामान्य रूपमा चल्नेछ ।

कोरियाका विद्यालयमा अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा विभिन्न प्रकारका नयाँ नियम लागू हुनेछ । नयाँ व्यवस्थाअनुसार विद्यालयको क्षमताअनुसार विद्यार्थीलाई फरक–फरक समयमा पढाउनुपर्नेछ ।

संक्रमणका कारण बन्द भएका नोरेबाङ (गीत गाउने रेस्टुराँ), नाइट क्लबहरू पनि खुल्ने छन् । कोरियाकै ठूलो सिनेमा हलको सञ्जाल भएको सीजीभी सिनेमाले पनि मे ५ पछि सेवा सुचारु हुने जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?