१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पत्रकारहरूले शत्रुतापूर्ण प्रश्‍न गरे : ट्रम्प

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले आफूलाई ‘शत्रुतापूर्ण प्रश्न मात्रै गरेर हैरान बनाएको’ बताएका छन् । उनले त्यस्ता प्रश्नले समयमात्र खर्च भएको भन्दै नियमित पत्रकार सम्मेलन नै स्थगित गरिदिएका छन् ।

पत्रकारहरूले शत्रुतापूर्ण प्रश्‍न गरे : ट्रम्प

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै ट्रम्पले राष्ट्रपति कार्यालयमा नियमित पत्रकार सम्मेलन गर्दै आएका थिए । तर राष्ट्रपतिले कहिलेसम्म सम्मेलन स्थगित गरेका हुन भन्नेबारे केही बताएका छैनन् ।

गत बिहीबारको पत्रकार सम्मलेनका क्रममा कोभिड–१९ को उपचारका लागि डिस्इन्फेक्टेन्ट (कीटनाशक पदार्थ) सुईबाट मानिसको शरीरमा हाल्नुपर्ने बताएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । त्यसको भोलिपल्ट गरिएको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले पत्रकारहरूका प्रश्नको जवाफ दिन अस्वीकार गरेका थिए ।

चिकित्सक तथा डिस्इन्फेक्टेन्ट उत्पादक कम्पनीहरूका अनुसार त्यस्ता पदार्थले मानिसको शरीरमा विषको काम गर्छन् । डिस्इन्फेक्टेन्टहरू मानिसको शरीरमा बाह्य तथा आन्तरिक प्रयोगका लागि निकै जोखिमयुक्त मानिन्छन् । खासगरी ती हाम्रो छाला, आँखा र श्वासप्रश्वास प्रणालीका लागि निकै घातक हुन्छन् ।

‘कमजोर मिडियाले शत्रुतापूर्णभन्दा अन्य प्रश्न नसोध्ने र सत्यतथ्य लेख्न अस्वीकार गर्ने भएपछि ह्वाइटहाउसमा पत्रकार सम्मेलन गर्नुको के अर्थ ?’ सञ्चारमाध्यममा डिस्इन्फेक्टेन्टको हानिबारे समाचार प्रकाशित भएपछि आक्रोशित बनेका ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘उनीहरूले अभूतपूर्व रेटिङ पाउँछन्, तर अमेरिकी नागरिकले मिथ्या समाचारबाहेक केही पाउँदैनन् ।’

न्युयोर्कका फार्मेसीमा परीक्षण

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अनियन्त्रित भएसँगै न्युयोर्क राज्यका फार्मेसीहरूलाई यसको परीक्षण गर्न अनुमति दिइएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रियु कुमोले फार्मेसीहरूलाई परीक्षणको अनुमति दिइएको बताए । उनका अनुसार न्युयोर्कका ५ हजार औषधि पसलमा कोभिड–१९ को परीक्षणका लागि आवश्यक पूर्वाधार छ । कुमोका अनुसार न्युयोर्कका फार्मेसीहरूले दैनिक ४० हजारभन्दा बढीको परीक्षण गर्ने उद्देश्यसहित आवश्यक तयारी गरिएको हो । न्युयोर्क कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य हो ।

अमेरिकामा सोमबार बिहानसम्म ९ लाख ६४ हजारभन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । त्‍यस्तै करिब ५५ हजारको मृत्यु भइसकेको छ । मृतकमध्ये करिब एकतिहाइ न्युयोर्कका छन् ।

प्रकाशित : वैशाख १५, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?