लकडाउन खुलाउने वुहानको शैली

कार्यालय पुग्नैपर्नेका लागि हेल्थ कोड लागू गरिएको छ भने शिक्षालयहरू अनलाइनबाटै चलाइएको छ। वुहानमा कार्यरत कतिपय नेपाली पनि प्रशासनले दिएको प्रमाणपत्र बोकेर कार्यालय जाने गर्छन्।
लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ को महामारी फैलिएपछि चीनको वुहान सहरमा जनवरी २३ देखि गरिएको लकडाउन ७६ दिनपछि खुल्यो। अप्रिल ८ मा हुबेई प्रान्तको वुहान सहरको लकडाउन खुलेकै दिन देशभित्र र बाहिर गरी करिब ६ लाख ६१ हजारले विमान, सडक तथा रेलमार्गद्वारा यात्रा गरे।

लकडाउन खुलाउने वुहानको शैली

वुहान सहरका उपमेयर लिउ चछिङका अनुसार हुबेई प्रान्तबाट बाह्य सम्पर्क हुने रेलवे, एयरपोर्ट र हाइवे क्रमशः खोलिएको छ। त्यस क्रममा बाहिरबाट भित्रिन सक्ने कोरोना भाइरसको संक्रमण र घरेलु संक्रमण फैलिन सक्ने खतरालाई निकै गम्भीरतासाथ लेखाजोखा गरिएको छ। त्यहाँ तत्काल ७० देखि ८० प्रतिशत सार्वजनिक यातायातका साथै १५ हजार ट्याक्सी चलाउन अनुमति दिइएको छ।

लकडाउन खोलिएपछि वुहानमा अप्रिल १० देखि स्थान र अवस्थाबमोजिम कामकाज पुनः सुरु गर्नेसम्बन्धी नीति लागू गरिएको थियो। कार्यालय पुग्नैपर्नेहरूका लागि हेल्थ कोड लागू गरिएको छ भने शिक्षालयहरू अझै अनलाइनबाटै चलाइएको छ। वुहानमा कार्यरत कतिपय नेपाली पनि प्रशासनले दिएको प्रमाणपत्र साथमा बोकेर कार्यालय जाने गर्छन्। इन्डियन मार्कामा कार्यरत बाग्लुङका रमेश थापाले कान्तिपुरसित भने, ‘प्रशासनले दिएको कागजात बोकेर कार्यालय आउजाउ गर्न सकिन्छ।’

स्थानीय प्रशासनले लकडाउन खुलेपछि पुनः महामारीको अवस्था दोहोरिन नदिन केही समयका लागि ३ प्रकारका स्वास्थ्य कोडको अवधारणा ल्याएको छ। पहेँलो र रातोबाहेक हरियो स्वास्थ्य कोड पाएकाले मात्रै घरबाहिर निस्किन र कामकाजमा जान पाउने व्यवस्था गरिएको छ। अलिपे वा ‘ई-हुई’ अफिसको वीच्याट एपलेट मार्फत सर्वसाधारणले प्रान्तीय महामारी रोकथाम डाटाबेस पार गरेर आफ्नै मोबाइलमा क्यूआर कोड पाउँछन्।

ग्रीन कोड भएको मानिस कोरोना भाइरसबाट मुक्त रहेको ठहर्छ। आवेदकको रेकर्डअनुसार उसको संक्रमितसँग घनिष्ठ सम्पर्क थिएन भने कम तथा मध्यम जोखिमयुक्त क्षेत्र भएर यात्रा गर्न, सबवे, रेल, सार्वजनिक यातायात, होटल वा पसलमा प्रवेश गर्न पाउनेछ। ग्रीन कोड लिएकाहरूले स्थानीय रोकथाम तथा नियन्त्रण प्रावधानको समन्वयमा यात्रा गर्न पाउँछन्। यस्तो व्यवस्था स्थानीय सहर, जिल्ला वा काउन्टीले मुख्यालयसँगको समन्वयमा गर्छन्। वुहानकी स्थानीय मिनले कान्तिपुर भनिन्, ‘कुनै पनि व्यक्तिलाई २ सातासम्ममा रूघा, खोकी, ज्वरोलगायत स्वास्थ्य समस्या नभएको पुष्टि भएपछि ग्रीन हेल्थ कोड दिइन्छ। अनि मात्र घरबाट बाहिर निस्किन सकिन्छ।’

पहेँलो कोड पाउने व्यक्ति पहिला संक्रमित थियो वा शंकास्पद थियो र ज्वरो वा एसिम्प्टोम्याटिक इन्फेक्सन भएको थियो भने यस्तो कोड पाउनेहरू पनि घर बाहिर निस्किन पाउँदैनन्। रातो कोडधारीलाई महामारी रोकथामको मापदण्डअनुरूप भर्ना वा क्वारेन्टाइनमा राखिन्छ।

आवेदकले इमानदारीपूर्वक स्वास्थ्य सूचना दिए/नदिएको जिम्मा सम्बन्धित निकायले लिएपछि स्थानीय जिम्मेवार निकायले सूचना पूर्ण र अद्यावधिक गर्छ। स्वास्थ्य कोड लिएका मानिसले यात्राका क्रममा निश्चित मापदण्ड तथा अनुसन्धान अधिकारीहरूको व्यवस्थापन प्रणालीअनुसार जाँचमा सहयोग गर्नुपर्ने नियममा उल्लेख छ।

स्मार्ट फोनले चल्दै वुहान

कोरोना भाइरसले सबैभन्दा नराम्रोसँग प्रभावित वुहान सहर हेल्थ कोड देखिने एउटा स्मार्ट फोनको भरमा चलायमान हुन थालेको छ। त्यसका साथै पूर्ववत् अनिवार्य मास्क र अन्य परीक्षणहरू निरन्तर छन्। कुनै पनि व्यक्तिको हातमा स्मार्ट फोन हुन्छ जसमा हरियो, रातो र पहेँलो हेल्थ क्यूआर कोड हुन्छ। चीनको सर्वाधिक लोकप्रिय भुक्तानी एप ‘च फु पाउ’ अर्थात् अलिपेभित्र सो क्यूआर कोड हुन्छ। कुनै पनि क्षेत्रमा प्रवेश गर्दा स्क्यान गरेर हरियो कोड देखाउन सकेपछि मात्रै अनुमति पाइन्छ।

त्यसका साथै ग्रीन कोड लिएको मानिस कार्यालयको काममा जान लागेको हो भने उसको कार्यालयले जारी गरेको प्रमाण देखाउनुपर्ने हुन्छ। हरियो कोड लिएको मानिस कुनै पनि क्षेत्रमा प्रवेश गर्दा त्यहाँ गेटमै सरकारले व्यवस्था गरेको स्वास्थ्य टोलीको परीक्षणमा सहभागी हुनुपर्छ। दैनिक जीवन सञ्चालनका लागि परिवारका कुनै एक सदस्य मात्रै किनमेलका लागि निश्चित घन्टाका लागि सुपरमार्केटसम्म जान पाउने व्यवस्था छ।

प्रकाशित : वैशाख १३, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?