१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

नवीन पोखरेल

लन्‍डन — बेलायतमा कोभिड-१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो । युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् ।

बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन् । उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन् ।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन् । बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन् ।

‘वाटर एड यूके’ मा सिनियर वास म्यानेजरका रुपमा कार्यरत जनस्वास्थ्य विज्ञ डा. ओमप्रसाद गौतम ‘कोभिड -१९’ को पहिलो केस देखिएको करिब ४ महिनाभित्र ‘भ्याक्सिन’ परीक्षणको तहसम्म आइपुग्नुलाई ‘क्विक टर्न अराउण्ड’ का रुपमा लिन सकिने बताउँछन् । तर उनले यो ‘भ्याक्सिन’ सफल हुने नहुने अहिले भन्न नसकिने बताए ।

‘भ्याक्सिनको परीक्षणमा ‘ट्रायल एण्ड इरर’ चलिरहन्छ । कहिले, कुन चरणमा पुगेर सफल हुन्छ थाहा हुँदैन’, उनले भने । गौतमका अनुसार, कुनै पनि रोगको ‘भ्याक्सिन’ तयार हुन १२ देखि १८ महिनासम्म लाग्न सक्छ ।

तर, अक्सफोर्ड विश्वविद्यालयले आउंदो सेप्टेम्बरसम्म ‘कोभिड-१९’ विरुद्धको भ्याक्सिन तयार गरिसक्ने बताउनु आफैमा चुनौतीपूर्ण देख्छन् उनी ।

परीक्षणमा भाग लिन १८ देखि ५५ वर्षका इच्छुक स्वयंसेवकका लागि आव्हान गरिएको छ । परीक्षणमा सहभागी हुनेले जनही १९० देखि ६२५ पाउण्डसम्म पाउनेछन् । तर, आवेदक स्वास्थ्य हुनुपर्नेछ । अनुसन्धानकर्ताहरुले एकहजार एकसय १२ जना स्वयंसेवकको आवेदन मागेका छन् जसमा ५५१ जनालाई भने कन्ट्रोल भ्याक्सिन दिइनेछ ।

स्काइ न्‍युजका अनुसार, खोप परीक्षणमा सहभागी हुन कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएका, कोभिड-१९ को अति जोखिम अवस्थामा रहेका व्यक्तिसंगै बसेका, गर्भवती भएका र हुने चाहना राखेका एवं नवजात शिशुलाई दूध खुवाइरहेकाले पाउने छैनन् ।

खोप विकासका लागि बेलायत सरकारले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको टिमलाई २०-२० गरी ४० मिलियन पाउण्ड कोष उपलब्ध गराएको छ ।

इम्पेरियल कलेज लन्डनले जुनदेखि मानव परीक्षण सुरु गर्ने बताइएको छ । स्वास्थ्यमन्त्री म्याट हयानककले दुवै टिमले गरेका प्रयासको प्रशंसा गरेका छन् । यूके चिफ मेडिकल एड्भाइजर प्रोफेसर क्रिस ह्वीटीलाई कोरोना भाइरसविरुद्धको खोप वा औषधि अर्को वर्षसम्म उपलब्ध हुने विश्वास छ ।

बेलायतमा मृत्‍यु हुनेको संख्या १८ हजारभन्दा बढी

यसैबीच, बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ९१ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बेलायतमा अहिलेसम्म १ लाख ३९ हजार २ सय ४६ जनामा संक्रमण भेटिएको उल्लेख गरेको छ ।

त्यस्तै, कोरोना भाइरसका कारण बेलायतमा मृत्‍यु हुने नेपालीको संख्या बिहीबारसम्म २२ पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?