पेरिसमा पानीका पाइपमा पनि भेटियो कोरोना भाइरसको 'निसान'

ददि सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको 'निसान' भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।

पेरिसमा पानीका पाइपमा पनि भेटियो कोरोना भाइरसको 'निसान'

यस प्रकारका पानीका पाइपलाइनमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पापलाइनहरुको सञ्‍जाललाई अनिश्चित कालका लागि विच्छेद गरिएको पेरिस महानगरपालिकालाई उद्धृत गर्दै फ्रान्सेली सञ्‍चारमाध्‍यम ले मोन्‍डेले जनाएको छ ।

'कोरोना भाइरसको सानो संकेत सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको हो । तर पिउने पानीका लागि भने जोखिम छैन्,' पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मिडियाहरुसित भनिन् ।

महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरसको अंश फेला परेको हो । त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।

भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ । यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा विच्छेद गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले पानीका पाइपलाइनहरुमा कसरी कोरोना भाइरस संक्रमित भयो भन्ने बताउन सकेका छैन । प्रयोगशालामा हाल अनुसन्धान भइरहेको र त्यसको कारण पूर्ण अनुसन्धानपछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ ।

प्रकाशित : वैशाख ९, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?