बेलायतमा पीपीई अभावपछि निर्देशिका फेरियो

सरकारको नयाँ निर्णयले स्वास्थकर्मीहरूमा थप जोखिम बढेको ब्रिटिस मेडिकल एसोसिएसनको परामर्श समितिका अध्यक्ष डा. रब हारउडको भनाइ
नवीन पोखरेल

लन्डन — बेलायत सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) निर्देशिका परिवर्तन गरेको छ ।

बेलायतमा पीपीई अभावपछि निर्देशिका फेरियो

पब्लिक हेल्थ इंग्ल्यान्डको नयाँ निर्देशिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीलाई थप जोखिममा पार्ने चिन्ता व्यक्त भएका छन् । इंग्ल्यान्डमा पर्याप्त पीपीई मौज्दात नहुँदा हेल्थ केयर कामदारलाई गाउन पुनः प्रयोग गर्न वा अलग खालको किट (प्लास्टिक गाउन) प्रयोग गर्न सुझाइएको छ ।

चिकित्सक तथा नर्सहरूको हितमा काम गर्ने युनियनले सरकारको नयाँ निर्देशिकाप्रति चासो व्यक्त गरेका छन् । यो सप्ताहान्तभित्र केही अस्पतालका इन्टेन्सिभ केयर युनिटमा पीपीई सकिने समाचार आएका थिए ।

बेलायतमा कार्यरत नेपाली डाक्टरहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन यूके’ का अध्यक्ष डा. रमेश खोजू कतिपय पीपीईजस्तै ग्लोब्स, सर्जिकल गाउन, मास्कजस्ता सामग्री पुनः प्रयोग गर्न नमिल्ने तर केही सकिने बताउँछन् । ‘धेरै सर्टेज हुने अवस्थामा सरकारले विकल्प सोचेको हुन सक्छ,’ उनले भने ।

ब्रिटिस मेडिकल एसोसिएसनको परामर्श समितिका अध्यक्ष डा. रब हारउडले सरकारको नयाँ निर्णयले स्वास्थकर्मीहरूमा जोखिम बढेको बताए । उनले एक महिनासम्म पनि सरकारले पीपीई उपलब्ध गराउन नसक्नु दुःखको कुरा भएको जनाए ।

त्यस्तै बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियन युनिसनले उच्च जोखिम क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूले पीपीई अभावमा काम छाड्न सक्ने चेतावनी दिएको छ । सरकारले अस्पताललाई आवश्यक पीपीई स्टक उपलब्ध गराउन काम भइरहेको बताएको छ ।

चेसायरस्थित लेटन हस्पिटलको आइसीयूमा कार्यरत डा. सुमित्रा काफ्लेले विरामी निको पार्ने दायित्वसहित फ्रण्टलाइनमा खटिने स्वास्थ्यकर्मीको सरकारले सुरक्षा गर्नुपर्ने बताइन् । ‘सरकारले सेनालाई बिना हतियार युद्धमा पठाउंछ र ?’ उनको प्रश्न छ, ‘हामीलाई किन फरक व्यवहार ?’ हालसम्म ५६ जना स्वास्थ्यकर्मीले कोभिड–१९ का कारण ज्यान गुमाइसकेको जनाउँदै उनले पीपीई अभावमा यो संख्या बढ्ने चेतावनी दिइन् ।

सरकारले आवश्यक पीपीई उपलब्ध गराउन सेना नै परिचालन गरेको जनाएको छ । अहिलेसम्म महामारी सुरु भएयता बेलायतभर ७ सय ६१ मिलियन पीपीई आपूर्ति भइसकेको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ । यसमा १ सय ५८ मिलियन मास्क, १ सय ३५ मिलियन एप्रोन र ३ सय ६० मिलियन पन्जा पनि समावेश छन् ।

लकडाउन झन् कडा

कोभिड–१९ संक्रमण फैलन नरोकिएपछि बेलायतमा लकडाउन थप कडा पारिएको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बिहीबार प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा आयोजित दैनिक कोरोना ब्रिफिङका क्रममा लकडाउन अवधि तीन साता थप गरेका थिए ।

बेलायतमा कोभिड–१९ फैलन सुरु भएपछि मार्च २३ मा पहिलो पटक लकडाउन घोषणा गरिएको थियो । पहिलो तीन साताको लकडाउन समीक्षापछि संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्य र आर्थिक नोक्सानीबाट जोगाउन समयअवधि बढाइएको सरकारको भनाइ छ ।

लकडाउन खुकुलो गर्दा अहिलेसम्मको त्याग र प्रगति व्यर्थ खेर जाने भन्दै विदेशमन्त्री राबले मानिसलाई सचेत रहन आग्रह गरेका छन् । दैनिक मृत्युदरमा गिरावट तथा एनएचएसले चाप धान्न सक्ने अवस्था आएपछि लकडाउन खुकुलो गर्न सकिने राबको भनाइ छ ।

महारानीको जन्मदिन भव्य नहुने


ब्रिटिस महारानी एलिजाबेथ द्वितीयले आफ्नो जन्मदिन धुमधामसँग नमनाउने भएकी छन् । कोभिड–१९ को महामारीले बेलायतमा १५ हजारभन्दा बढीको निधन भइरहँदा महारानीले आफ्नो जन्मदिन भव्य नमनाउने भएकी हुन्।

६८ वर्ष लामो शासनकालमा महारानीले पहिलो पटक जन्मदिनमा तोप (गन स्यालुट्स) नगर्न र अप्ठेरो हुने भए सरकारी भवनमा झन्डा नफहराउन पनि अनुरोध गरेकी छन् । विन्डजोर क्यासलमा बसिरहेकी रानीले जन्मदिनमा कुनै भव्य समारोह नगर्ने योजना बनाएको बेलायती अखबारले जनाएका छन् । बेलायती शाही परिवारको जन्मदिन र अरू विशेष अवसरमा गन स्यालुट्स दिने परम्परा छ । ९३ वर्षीया महारानीको यही मंगलबार जन्मदिन परेको छ । बेलायती राजदरबारले रानीको परिवारमाझ हुने फोन, भिडियो कलसमेत सार्वजनिक नगरिने जनाएको छ । ब्रिटिस महारानीसँग कुनै राजनीतिक शक्ति नभए पनि यहाँको राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा पनि हेरिन्छ र यो विश्वमै लोकप्रिय छ ।

महारानीले गत साता विशेष सम्बोधन गर्दै कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी थिइन् । ब्रिटेन तथा राष्ट्र मण्डलको नाममा एक विशेष सन्देश दिँदै महारानी एलिजाबेथले एकताबद्ध र दृढनिश्चयी भए ब्रिटेनले यो संकटमाथि अवश्य पनि जित हासिल गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

मृत्यु हुने नेपाली १६ पुगे

कोभिड–१९ का कारण बेलायतमा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा अधिकांश पूर्वब्रिटिस गोर्खा सैनिक छन् ।

बेलायतभर करिब १५ जना नेपाली संक्रमित उपचारपछि निको भएका दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जनाए । उनका अनुसार हाल अस्पतालमा उपचार गराइरहेका सात तथा संक्रमणको आशंकामा घरमै आइसोलेसनमा ४० जना छन् । दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक अरू बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।

कोरोना कोषमा १५ लाख सहयोग

लन्डनका नेपाली व्यवसायी रविजंग लामिछानेले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ प्रदान गरेका छन् । लन्डनस्थित रवि फेमस लिमिटेडका प्रबन्ध निर्देशक लामिछानेले संकटका बेला मातृभूमिलाई सहयोग गर्नु कर्तव्य भएको जनाए ।

बेलायतजस्तो विकसित राष्ट्रले समेत कोरोना महामारी नियन्त्रणमा सकस खेपिरहेको बताउँदै लामिछानेले नेपालमा पूर्वसावधानी अपनाउन र विदेश बसेका नेपालीलाई सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन् । लामिछानेले २०७२ को भूकम्पका बेला पनि प्रधानमन्त्री कोषमा ५१ लाख १७ हजार ७ सय २७ रुपैयाँ जम्मा गरिदिएका थिए ।

प्रकाशित : वैशाख ७, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?