कोरोना प्रकोप : बेलायतमा थप तीन साता लकडाउन, मृतकको संख्या १३ हजार नाघ्यो

बेलायतमा रहेका १३ भूपू ब्रिटिस गोर्खाको कोरोनाबाट मृत्यु
नविन पोखरेल

लन्डन — बेलायतले कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रणका लागि लकडाउन ३ साताका लागि थप्‍ने निर्णय गरेको छ ।

कोरोना प्रकोप : बेलायतमा थप तीन साता लकडाउन, मृतकको संख्या १३ हजार नाघ्यो

विदेशमन्त्री डोमिनिक राबले बिहीबार प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा आयोजित दैनिक ‘कोरोनाबारे ब्रिफिङ’ का क्रममा ‘लकडाउन’ थपिएको घोषणा गरेका हुन् ।

कोभिड- १९ फैलन सुरु भएपछि गत २३ मार्चमा बेलायतमा पहिलो पटक लकडाउन गरिएको थियो । पहिलो ३ साताको लकडाउन समीक्षापछि संक्रमण अझै नियन्त्रणमा नआएकाले जनस्वास्थ्य र आर्थिक नोक्सानीबाट जोगाउन समयावधि बढाइएको सरकारले जनाएको छ ।

लकडाउन खुकुलो गर्दा अहिलेसम्मको बलिदानी र प्रगति व्यर्थ हुने जाने विदेशमन्त्री राबले बताए ।

दैनिक मृत्युदर घटेको अवस्थामा, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले संक्रमितको चाप धान्न सक्ने अवस्था, परीक्षण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मागको सहज आपूर्ति, कोरोना भाइरस पुनः फैलन नसक्ने अवस्थाको सुनिश्चिततापछि लकडाउन खुकुलो गर्न सकिने मन्त्री राबको भनाइ थियो ।

बेलायतमा कोभिड- १९ का कारण शुक्रबार बिहानसम्म अस्पतालमा मात्रै १३ हजार ७ सय ५९ जनाको मृत्यु भइसकेको छ । 'केयर होम'मा मर्नेको संख्या उपलब्ध छैन ।

लकडाउन अवधिमा अत्यावश्यक खाद्यान्‍न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई बाहिर निस्कन अनुमति छैन । सरकारको नियम पालना नगर्नेलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिएको छ । अहिले व्यापार व्यवसाय, स्कुल, विश्वविद्यालय सबै बन्द छन् ।

१३ नेपालीको मृत्यु

कोरोना भाइरसका कारण बिहीबारसम्म १३ नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक छन् । दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।

लन्डन बरो अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्य गुरुङले दिनदिनै भूतपूर्व गोर्खाहरूको निधन भइरहेको बताए । ‘गोर्खा वृद्धवृद्धामा यो समस्या झन् जटिल बन्दैछ,' पूर्वगोर्खा सैनिक गुरुङले भने, ‘हाम्रो काउन्सिलमा र्‍यापिड रेस्पोन्स टिमले अप्रेसन रुम खडा गरी काम गरिरहेको छ । स्वयंसेवकहरूले 'बार्नेट कम्युनिटी हब'मा बूढाबूढीलाई सहयोग गरिरहेकाले कोही नेपाली समस्यामा भए सम्पर्क गर्न अनुरोध छ ।’

बार्नेट काउन्सिलले ७० वर्ष काटेका करिब ४३ सय दीर्घरोगी वृद्धवृद्धालाई घरमै खाद्यान्न, औषधि पुर्‍याउने काम गरिरहेको पनि उनले जनाए । उक्त क्षेत्रमा बन्टोक नेपाली समाजले समेत स्वयंसेवक समूह खडा गरी संक्रमितको हेरचाह गरिरहेको छ ।

नेपाली दूतावास, एनआरएनए यूके, मर्जिङ नेपसक्सलगायत जातीय तथा सामाजिक संघसंस्थाले पनि प्रकोपका कारण समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छन् ।

प्रकाशित : वैशाख ५, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?