३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरियामा १६ वर्षयताकै उच्च मतदान

कोरोना भाइरसको त्रासबीच बुधबार भएको ३ सय सदस्यीय राष्ट्रिय सभा चुनावमा ६६.२ प्रतिशत मत खसको हो
एपी

सोल — कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा संसदीय चुनाव सम्पन्न भएको छ । निर्वाचन अधिकारीका अनुसार बुधबारको मतदानमा करिब ६६.२ प्रतिशत मत खसेको छ ।

कोरियामा १६ वर्षयताकै उच्च मतदान

जुन १६ वर्षयताकै उच्च भएको बीबीसीले जनाएको छ । सन् २०१६ को संसदीय चुनावमा ५८ प्रतिशत मत खसेको थियो ।

सामाजिक दूरी कायम गर्दै मास्क लगाएर मत केन्द्रहरूमा मतदाताहरू उपस्थित भएका थिए । स्वास्थ्यकर्मीले उनीहरूको शरीरको तापक्रम नापेका थिए । त्यसपछि उनीहरूलाई हातमा स्यानिटाइजर दलेर प्लास्टिकको पञ्जा लगाउन भनिएको थियो । त्यति गरेपछि मात्रै निर्वाचन अधिकारीहरूले मतदातलाई मतपत्र दिँदै बुथतर्फ जान दिएका थिए ।

तीन सय सदस्यीय राष्ट्रिय सभाको चुनावलाई राष्ट्रपति मुन जाए–इनको जनमत संग्रहका रूपमा हेरिएको छ । चुनावमा ३५ पार्टी सहभागी भए पनि सत्तारूढ डेमोक्र्याटिक र विपक्षी युनाइटेड फ्युचर पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुने बताइएको छ ।

कोरियाली मतदाताहरू विचारधारा, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि चुनावी सर्वेक्षणहरूले राष्ट्रपति मुनको दलले स्पष्ट बहुमत ल्याउने देखाएका छन् । सर्वेक्षणहरूमा मुनको दलले १ सय ५५ देखि १ ।य ७८ सिट जित्ने देखिएको छ ।

दक्षिण कोरियाली इतिहासमा चुनाव रोकिएको कुनै घटना छैन । सन् १९५२ मा कोरियाली युद्धका समयमा पनि दक्षिण कोरियामा राष्ट्रपतीय चुनाव सम्पन्न भएको थियो । प्रत्येक ४ वर्षमा ३ सय सिटका लागि हुने चुनावमा २ सय ५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । ४७ स्थान समानुपातिक प्रतिनिधित्वका आधार चयन हुन्छन् ।

चीन, युरोप तथा अमेरिकामा कोभिड–१९ ले निकै असर पुर्‍याइरहेका भए पनि चुनावका लागि गरिएको तयारी र सुरक्षा उपायका कारण ढुक्क देखिन्थे । ‘हामी अहिले कठिन मोडमा छौं, तर कोरोना भाइरस र राजनीति दुई भिन्न कुरा हुन्,’ राजधानी सोलको मतकेन्द्रमा भेटिएका ५७ वर्षीय ली कुमले भने ।

सोलकै ४५ वर्षीया चुङ युन–योङले लामो लाइनमा बस्नु नपरोस् भनेर बिहानै मतकेन्द्रमा आएको बताए । ‘म कोरोना भाइरसबाट निकै चिन्तित थिएँ,’ उनले भने, ‘तर अधिकारीहरूले मेरो शरीरको तापक्रम नापे, स्यानिटाइजर र पञ्जा दिए यहाँ मैले सोचेभन्दा राम्रो व्यवस्था रहेछ ।’

मतकेन्द्रहरू रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा निकै लामा लाइन थिए । करिब २६ प्रतिशत अर्थात् १ करोड १० लाख मतदाताले यसअघि नै मत दिइसकेका थिए । सरकारी अधिकारीहरूले सेल्फ क्वारेन्टाइनमा बसेका र कोरोना संक्रमित मतदातालाई चुनावअघि नै मोबाइलबाट मतदान गर्न सक्ने व्यवस्था गरेका थिए । ज्वरो नआएका वा श्वास प्रश्वासमा समस्या नदेखिएका व्यक्तिलाई साँझ ५ देखि ७ बजेसम्म मत दिन केन्द्रमा जान सक्ने व्यवस्था मिलाइएको थियो ।

क्वारेन्टाइनमा रहेका मतदातालाई ट्र्याकिङ एप्सको सहयोगमा अनुगमन गर्ने वा अर्को व्यक्तिको साथमा मत केन्द्रसम्म ल्याउने व्यवस्था गरिएको छ । यस्ता मतदातालाई एकअर्कासँग कम्तीमा २ मिटरको दूरीमा राखिने प्रबन्ध गरिएको थियो । अस्पतालमा उपचाररत व्यक्तिले भने हुलाकमार्फत मतदान गरेका छन् ।

दक्षिण कोरियामा १० हजार ५९० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कम्तीमा २ सय २५ जनाको मृत्यु भइसकेको छ । केही सातायता नयाँ संक्रमितको संख्या घटेको जनाइएको छ ।

प्रकाशित : वैशाख ४, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?