३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अमेरिका खोल्न किन हतारिँदै छन् ट्रम्प ?

नोभेम्बरअघि नै अर्थतन्त्र सुधारेर कोभिड–१९ ले बिथोलिदिएको चुनावी माहोल आफूतिर फर्काउन चाहन्छन् ट्रम्प । तर उनकै प्रशासनका विज्ञहरूको धारणा उनको चाहनाअनुकूल छैन ।
दिनेशजंग शाह

न्युयोर्क — अमेरिका यतिखेर कोभिड–१९ बाट पार पाउन संघर्षरत छ । संक्रमित संख्या ६ लाख नाघिसक्यो । मृतक पच्चीस हजार कटिसके । दैनिक जनजीवन ठप्प छ । संक्रमण अझै फैलने भन्दै विज्ञहरूले निरन्तर चेतावनी दिइरहेका छन् ।

अमेरिका खोल्न किन हतारिँदै छन् ट्रम्प ?

महामारीले अझै केही साता विध्वंस मच्चाउने अनुमान छ । यद्यपि नेतृत्वतहमा राजनीतिक बहस चर्किएको छ– अमेरिकालाई कहिले खोल्ने ? ठप्प भएको विश्वकै ठूलो अर्थतन्त्र कहिले नियमित गर्ने ? यसमा संघीय र राज्य सरकारका फरकफरक मत सार्वजनिक भइरहेका छन् । राजनीति र जनस्वास्थ्य नीति बाझिएका छन् ।

यो चुनावी वर्ष हो । सात महिनापछि राष्ट्रपति निर्वाचन हुँदै छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा छन् । हालसम्म सार्वजनिक गरिनसकिए पनि पूर्वउपराष्ट्रपति जोए वाइडेन विपक्षी पार्टीबाट प्रत्याशी बन्ने निश्चित छ । कोभिड–१९ को छायामा अहिले यी पक्ष गौण छन् । तर, कोभिडको यही ताण्डव आगामी अमेरिकी राजनीतिको भविष्यसँग जोडिएको विश्लेषकहरूको धारणा छ ।

भाइरसले अझ कुन परिणामसम्म पुर्‍याउला, यकिन छैन । यद्यपि राजनीतिक कोर्सलाई कोभिडको प्रभावसँग जोड्न वा निस्तेज पार्न आन्तरिक कसरत सुरु भइसकेको छ ।

अमेरिकी अर्थतन्त्र खोल्ने अहिलेको बहस यसको महत्त्वपूर्ण उदाहरण हो । आगामी निर्वाचनको पृष्ठभूमिमा बहस तातेको स्पष्ट छ । राष्ट्रपति ट्रम्प ठप्प रहेको अर्थतन्त्र सक्दो चाँडो खोल्ने पक्षमा छन् । उनी त यति हतारिएका छन् कि अप्रिल दोस्रो साता नै खोल्न चाहन्थे । तर कोभिडको उपद्रो झन् विकराल बनेपछि हच्किए ।

उनकै प्रशासनका स्वास्थ्यविज्ञहरूको धारणा पनि उनको चाहनाअनुकूल छैन । भनिरहेका छन्, ‘भाइरसको उपद्रो र संक्रमितहरूको तथ्यांकले कहिले खोल्ने विषय निर्धारण गर्नेछ । अहिले केही भन्न सकिँदैन ।’ हरेकजसो पत्रकार सम्मेलनमा राष्ट्रपति र विज्ञहरूको बोली परस्पर विरोधी छन् ।

चुनावी रणनीतिका दृष्टिले ट्रम्पका लागि अर्थतन्त्र महत्त्वपूर्ण छ । विज्ञहरूको चासो भने स्वास्थ्यमा अडिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसहित अर्थतन्त्रका विज्ञहरूले कोभिडको यो तीव्रताले अमेरिकालगायत विश्वकै अर्थतन्त्र संकटमा पार्ने औंल्याउँदै आएका छन् ।

अर्कातर्फ कोभिड आतंकपछि बेरोजगारी सुविधाका लागि परेका २ करोड हाराहारी आवेदन ट्रम्प प्रशासनका लागि सुखद छैनन् । यसले निर्वाचनमा पार्न सक्ने प्रभावप्रति ट्रम्प र उनको पार्टी सजग छन् । त्यसैले उनी अबको दुई साता पछि अर्थात् मे १ देखि अमेरिका खोल्ने कसरत गर्दै छन् । अनुदारवादी मिडियाहरू पनि यसैमा ताल मिलाउदै छन् । भन्दैछन्, ‘इतिहासकै सबैभन्दा उत्कृष्ट अवस्थामा रहेको देशको अर्थतन्त्रलाई यसरी बन्धक बनाउन पाइँदैन ।’ कोभिडले भन्दा खस्कँदो अर्थतन्त्रले झनै भयानक स्थिति निम्त्याउने उनीहरूको तर्क छ ।

अर्कातर्फ विपक्षी डेमोक्य्राटिक पार्टीले भाइरसको उपद्रो, मानवीय क्षति, ट्रम्पको लापरबाहीको प्रचार एवं अर्थतन्त्रको खस्कँदो अवस्थालाई चुनावी एजेन्डा बनाउने निश्चित छ । अहिले भने उनीहरू मौन देखिन्छन् । यो मौनतालाई अहिलेको राष्ट्रिय संकट र मानवीय संवेदनशीलतासँग जोडेर हेरिएको छ । यद्यपि उदारवादी नीतिका पक्षपाती मिडियाहरू ट्रम्पको शैली र लापरबाहीका दृष्टान्त पस्किँदै छन् ।

कोभिड–१९ ले यसै गरी थिचिरहे अमेरिकी अर्थतन्त्र झनै संकटमा पर्ने अवश्यम्भावी छ । अर्थतन्त्र चाँडै खोल्ने नीतिले यो आतंक झनै बल्झाउने सम्भावना पनि नकार्न सकिँदैन । अर्थविज्ञहरू नै भन्दै छन्, ‘जबसम्म मानिसहरू भाइरसको चिन्ताबाट मुक्त भएर निस्फ्रिकी काममा जान सक्दैनन् तबसम्म अर्थतन्त्र खोल्दैमा त्यसले काम गर्दैन ।’

उनीहरू सन् १९१८ को स्पेनिस फ्लुको उदाहरण दिइरहेछन् । त्यो महामारीमा अमेरिकाका जुन राज्य वा सहरले जनस्वास्थ्यलाई ध्यानमा राखी कडाइ गरे, पछि तिनै राज्यको अर्थतन्त्र बलियो बन्यो । जो अर्थतन्त्र खोल्न हतारिए, ती अझ संकटमा फसे ।

चुनावी दृष्टिले कोभिड आतंकअघि ट्रम्पको स्थिति राम्रै थियो । अर्थतन्त्र बलियो, बेरोजगारी दर न्यून थियो । चीनसँग नयाँ व्यापार सम्झौता भयो । महाभियोगको खड्गो पनि टरेकै थियो । त्यसैले पनि उनले भाइरसको सम्भावित खतराबारे खुफिया एजेन्सी एवम् विज्ञका सूचना र चेतावनीलाई बेवास्ता गरे । अमेरिका बन्द गर्न चाहेनन् । अन्ततः उनको त्यही लापरबाहीले अमेरिका अहिले यो मानवीय र आर्थिक नोक्सानी बेहोरिरहेछ । ट्रम्प अझै चेतेका छैनन् । उनको ध्यान नोभेम्बरमै केन्द्रित छ । त्यसैले उनलाई अमेरिका खोल्न हतार छ ।

प्रकाशित : वैशाख ३, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?