कोरियामा बुधबार आमनिर्वाचन

कोरोना भाइरसको संक्रमणबीच ३ सय सदस्यीय राष्ट्रिय सभाका लागि हुने चुनावलाई राष्ट्रपति मुनको कामको समीक्षाका रूपमा हेरिएको छ
गोकुल थोकर

(सोल) — ‘फत् कोत्’ अर्थात साकुरा जताततै फुलेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलिएको देशैभरि ‘चुक्छे’ भनिने फूल फेस्टिभल हुन्थ्यो । राजधानी सोलको योइदो पार्कमा झन्डै एक साता सडक पूरै बन्द गरेर ‘फूल फेस्टिभल’ हुन्थे । लाखौं मानिसले यो रमाइलो हेर्थे ।

कोरियामा बुधबार आमनिर्वाचन

कोरियामा जनवरी २० मा कोभिड–१९ देखिएपछि सामूहिक रूपमा मानिस भेला हुन रोक लगाइएको छ । सभासमारोह गर्ने कुरै भएन । त्यसैले कोरियामा सामाजिक दूरी कायम राखेरै बुधबार आमनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ४ करोड ४० लाख मानिस मतदाताको सूचीमा छन् । प्रत्येक ४ वर्षमा हुने निर्वाचनबाट ३ सय राष्ट्रिय सभाका सदस्य चुनिनेछन् ।


उम्मेदवारहरुले सामान्य घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रम गर्दा दुई/तीन जनाभन्दा बढी हिँड्न पाइँदैन । गाडीबाटै माइकिङ गरेर आफ्ना योजना सुनाउँछन् । कतैकतै ब्यानरमा उम्मेदवारले विज्ञापन गरेको देखिन्छ ।


कोरिनाको महामारी विस्तारै नियन्त्रण हुँदै छ । कोरियाली सरकारले कोरोना भाइरसको संक्रमणलाई सफलतापूर्वक घटाउन सफल भएको भनेर विश्वभरिबाटै प्रशंसा पाएको छ । यो हप्ता कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या दैनिकजसो ५० भन्दा कम छ । बढी प्रभावित भएको थेगुमा संक्रमण फैलिएयता पहिलोपटक आइतबार कुनै नयाँ बिरामी भेटिएन ।


यो सफलताको जस निर्वाचनमा डेमोक्र्याटिक पार्टीले लिने देखिएको छ । विभिन्न चुनावी सर्वेक्षणले वर्तमान राष्ट्रपति मुन जे ईनको डेमोक्र्याटिक पार्टीले बहुमत ल्याउने देखाएको छ । हाल यो पार्टीको १ सय २० सिट छ । विपक्षी युनाइटेट फ्युचर पार्टीको १ सय १२ सिट छ । युनाइटेट पार्टीका २० जना सदस्यहरुले नयाँ पार्टी खोलेका छन् । तर पनि युनाइटेड पार्टीले आफ्नो बहुमत आउने दाबी छाडेको छैन ।


राष्ट्रपति मुनले तीन वर्ष कार्यकाल बिताए । यो चुनावलाई उनकै कामको समीक्षाको रूपमा हेरिएको छ । राष्ट्रपति मुन पछिल्लो समय कोरियालीबीच निक्कै लोकप्रिय छन् । मार्चमा २ लाखभन्दा बढी मानिसले राष्ट्रपतिलाई हटाउने माग गर्दै हस्ताक्षर गरेका थिए । सरकारले चिनियाँ नागरिकलाई कोरिया आउन दिएको भन्ने समाचार सार्वजनिक भएपछि मानिसरु रुष्ट भएका थिए । तर अहिले अवस्था फेरिएको छ ।


आमनिर्वाचनबाट बहुमत प्राप्त भए मुनलाई आगामी दुई वर्ष काम गर्न सजिलो हुनेछ । उनले चाहे अनुसारका कानुन सजिलै बन्नेछन् । साथै उनको महत्त्वाकांक्षी योजनाको रूपमा हेरिएको कामदारको तलब प्रतिघण्टाको मान (१ हजार) वन पुर्‍याउनेलगायत नियम बनाउन सजिलो हुनेछ ।


कोभिड–१९ को संक्रमण घटे पनि सुरक्षाका व्यवस्था चुस्त बनाएको कोरियाली निर्वाचन आयोगले भनेको छ । मतदाताले लाइनमा उभिँदा एक मिटरको दूरी कायम गरेर बस्नुपर्ने नियम छ । सबैले अनिवार्य रूपमा माक्स लगाउनुपर्नेछ । निर्वाचन केन्द्र प्रवेश गर्नु पहिले ह्यान्ड सेनिटाइजर लगाउनुपर्नेछ । सबैको ज्वरो नापिनेछ । ३७.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएका मानिसलाई छुट्टै लाइनको व्यवस्था गरिनेछ । सेनिटाइजर लगाएकाले मत खसाल्नुअघि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्यास्टिकको पन्जा लगाउनुपर्नेछ ।


भाइरसबाट संक्रमितले पनि भोट हाल्न पाउने व्यवस्था गरिएको छ । उनीहरुले बिहान ९ बजे अगाडि र बेलुकी ६ बजेपछि मतदान गर्न सक्नेछन् । चुनावमा विदेशमा भएका कोरियालीले पनि मतदान गर्न सक्छन् । उनीहरुले दुई साताअघिदेखि नै मत दिएका छन् । बुधबार मतदान गर्न नसक्ने मतदाताले भने शुक्रबार र शनिबार नै मत दिइसकेका छन् ।



प्रकाशित : वैशाख १, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?