२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी

२० हजारभन्दा बढीको मृत्यु, ५ लाख २६ हजार संक्रमित
एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय ६ पुगेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी

त्यस्तै अमेरिकामा करिब ५ लाख २७ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ३१ हजार ४ सय २४ जना निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी इटालीमा १९ हजार ४ सय ६८ को मृत्यु भएको छ । आइतबार बिहानसम्म इटालीमा संक्रमितको संख्या एक लाख ५२ हजार २ सय ७१ रहेको छ भने करिब ३२ हजार निको भएका छन् । त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६ रहेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या करिब एक लाख ६३ हजार रहेको छ । स्पेनमा कोरोना संक्रमणपछि निको हुनेको संख्या करिब ५९ हजार रहेको छ ।

फ्रान्समा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । आइतबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ८ सय ५१ पुगेको छ । फ्रान्समा संक्रमितको संख्या एक लाख ३० हजार रहेको छ भने करिब २६ हजार निको भएका छन् ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट इरानमा ४ हजार ३ सय ५७, बेल्जियममा ३ हजार ३ सय ४६, चीनमा ३ हजार ३ सय ४३, जर्मनीमा २ हजार ७ सय ३६, नेदरल्यान्ड्समा २ हजार ६ सय ५३, टर्कीमा एक हजार एक सय एक, ब्राजिलमा एक हजार एक सय २४ र स्विजरल्यान्डमा एक हजार ३६ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ हजार ५ सय ३ पुगेको छ । त्यस्तै करिब १७ लाख ७१ हजार संक्रमित हुँदा करिब ४ लाख निको भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले लकडाउन हटाए वा खुकुलो पारेमा घातक हुने चेतावनी दिएको छ । संक्रमण अझै पनि नियन्त्रणउन्मुख नभएकाले लकडाउन, सामाजिक दूरी र व्यक्तिगत दूरी कायम गर्नुपर्ने डब्लूएचओले बताएको छ ।

प्रकाशित : चैत्र ३०, २०७६ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?