२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दक्षिण कोरियाले ९० दिन भिसा थपिदिने 

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाली सरकारले भिसा सकिन लागेका विदेशीलाई थप ९० दिनको भिसा दिने निर्णय गरेको छ । कोभिड–१९ का कारण विदेशी नागरिकहरू स्वदेश फर्कन नसक्ने अवस्था रहेकाले भिसा थपिएको कोरियाली कानुन मन्त्रालयले जनाएको छ ।

यो निर्णयसँगै रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नेपाली पनि लाभान्वित हुनेछन् ।

मन्त्रालयले मे ३१ सम्म ६० हजारभन्दा बढी विदेशीको भिसा सकिने भए पनि थप ९० दिन बस्न सकिने जनाएको छ । यसअघि फेब्रुअरीमा ईपीएसमार्फत आएका कामदारको भिसा ५० दिन थप्ने नियम ल्याइएको थियो । त्यसरी थपिएको भिसा पनि अप्रिल १९ मा सकिँदै छ । प्रत्येक दिन २५ सयभन्दा बढी विदेशी भिसा थप्नकै लागि अध्यागमन कार्यालय जाने–आउने गरेका छन् । यसरी हिँडडुल गर्दा कोरोना सर्न सक्ने भन्दै स्वतः भिसा थपिने व्यवस्था गरिएको हो ।

‘नेपालले हवाई सेवा बन्द गरेसँगै भिसा सकिने नेपालीको संख्या बढेको थियो । अहिलेसम्म ५ सयभन्दा बढीको भिसा सकिएको छ,’ सोलस्थित नेपाली दूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले भने, ‘यहाँको सरकारलाई पनि धेरै देशमा हवाई सेवा बन्द भएको जानकारी छ । त्यसैले यस्तो निर्णय गरेको होला ।’

कोरोना संक्रमण बढेसँगै १ लाख ३० हजारभन्दा बढी विदेशीको भिसा थपिएको यहाँको कानुन मन्त्रालयले जनाएको छ । यिनमा आधाभन्दा बढी ईपीएस कामदार छन् ।


विदेशीलाई प्रवेशमा कडाइ

कोरोना संक्रमणको जोखिमकै कारण दक्षिण कोरियाले अध्यागमन नियमसमेत परिवर्तन गरेको छ । आगामी सोमबारदेखि कुनै पनि विदेशीले एराइभल भिसा पाउने छैनन् । ९० दिनभन्दा छोटो अवधिका सबै भिसा प्रणाली हटाइएको छ । अप्रिल ५ अघि लिइएका छोटो अवधिको भिसा स्वतः रद्द हुने नियममा उल्लेख छ । यहाँ बिहीबारसम्म १० हजार ४ सय २३ जना कोरोना संक्रमित भेटिएकामा ८ सय ६१ जना विदेशबाट आएकाहरू छन् ।


संक्रमित घट्दै

कोरियामा झन्डै दुई महिनापछि नयाँ बिरामी ४० भन्दा कम संख्यामा देखिएका छन् । बिहीबार ३९ जना संक्रमित मात्र थपिएका हुन् । नत्र तीन सातादेखि दैनिक एक सय हाराहारी संक्रमित भेटिने गरेका थिए । गत सोमबार र मंगलबार ४७/४७ र बुधबार ५३ बिरामी थपिएका थिए ।


प्रकाशित : चैत्र २७, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?