भारतमा पीपीई अभाव, रेनकोट र हेल्मेट लगाउँछन् चिकित्सक

रोयटर्स

नयाँदिल्ली — भारतमा पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) अभाव भएपछि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सकले प्लास्टिक, रेनकोट तथा हेल्मेट लगाउन बाध्य भएका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मीलाई पीपीईलगायत सुरक्षा सामग्रीको अभाव भएको गत साता स्वीकार गर्दै आवश्यक सामग्री दक्षिण कोरिया र चीनबाट तत्काल ल्याउने बताएका थिए । तर अझैसम्म पनि दर्जनौं चिकित्सक सुरक्षित मास्क तथा पीपीईबिना नै कोभिड–१९ का बिरामीको उपचारमा अग्रपंतिमा खटिएका छन् ।


कोलकताको बेलियाघाटा आईडी अस्पतालमा कोरोना उपचारमा खटाइएका डाक्टरहरूले आफूहरूलाई प्लास्टिकका रेनकोट दिइएको जनाएका छन् । उपचारका क्रममा उनीहरुले ती रेनकोट लगाएका तस्बिरहरू समेत सार्वजनिक भएका छन् ।

कतिपय चिकित्सकहरूले यस्तो अवस्थामा आफूहरूले काम गर्न नसक्ने बताए । एक चिकित्सकले भने, ‘हामी ज्यानको बाजी लगाएर काम गर्न सक्दैनौं ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.आशिश मन्नाले भने यसबारे कुनै प्रतिक्रिया दिएनन् ।


त्यसैगरी, हरियाणाको इएसआइ अस्पतालका चिकित्सक सन्दिप गार्गले आफूसँग एन–९५ मास्क नभएकाले हेल्मेट लगाउने गरेको बताए । उनले भने, ‘मैले सर्जिकल मास्क र हेलमेट लगाउने गरेको छु । यसको भाइजरले मेरो अनुहार पनि छेक्छ ।’


विश्व स्वास्थ्य संगठन (डब्लूटिओ) का अनुसार कोभिड–१९ संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकले अनिवार्य रुपमा पीपीई लगाउनुपर्छ । यसबारे आफ्नो प्रश्नमा भारतीय स्वास्थ्य मन्त्रालयले कुनै जवाफ नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।


भारतमा कोभिड–१९ संक्रमितको संख्या १ हजार २ नाघिसकेको छ । हालसम्म ३२ जनाले ज्यान गुमाएका छन् । मे महिनाको मध्यसम्ममा भारतमा एक लाखभन्दा बढी मानिसमा कोभिड–१९ को संक्रमण हुने एक अध्ययनले दाबी गरेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड–१९ परीक्षण एक हजार ६० को मात्रै, ६० वर्षमुनिलाई पनि जोखिम

विज्ञ भन्छन्– १५ हजार जनाको परीक्षण प्रतिवेदनका आधारमा मात्र संक्रमण स्थानीय रूपमा सरे–नसरेको थाहा पाइन्छ 
सरकार भन्छ– प्रदेशपिच्छे ल्याब स्थापना भइसकेपछि परीक्षण व्यापक हुन्छ
अतुल मिश्र

काठमाडौँ — टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ को परीक्षण सुरु भएको दुई महिनामा एक हजार ६० को मात्र र्‍यालको नमुना परीक्षण गरिएको छ ।  

पहिलो पटक गत माघ १३ मा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शंकास्पद ठानिएका तीन जनाको घाँटीको र्‍यालको नमुना प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म स्वास्थ्य परीक्षण गरिएकामध्ये पाँच जनामा मात्रै कोभिड–१९ संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले उपत्यकाबाहिर जनकपुर, पोखरा, बुटवल, सुर्खेत, धनगढी लगायतका स्थानमा ल्याब स्थापना गरेपछि परीक्षणको दायरा बढ्ने जनाएको छ । धरानमा सोमबारसम्म पाँच दर्जनभन्दा बढीको र्‍यालको नमुना परीक्षण हुने क्रम छ ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म एक हजार ६० को परीक्षण गरेको भन्ने गरेको भए त्यसमा दुई सय घटाउनुपर्ने तर्क प्रयोगशालाकै अधिकारीहरुको छ । ‘तर मन्त्रालयले भन्ने गरेको संख्यामा दुई सय घटाउनुपर्छ,’ प्रयोगशालाका एक अधिकारीले भने, ‘ती दुई सय भनेका चीनको वुहानबाट फर्किएका १ सय ७५, तिनीहरूलाई ल्याएको विमानमा रहेका १८ जना कर्मचारी र सात स्वास्थ्यकर्मी हुन् ।’

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले बुटवलबाट आएको शंकास्पद केसमा पहिलो पटक नेगेटिभ देखिएपछि थप यकिन हुन सोमबार चार पटकसम्म परीक्षण गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार थप सक्रिय भएर परीक्षणको दायरा व्यापक बढाउनुपर्छ,’ उनले भने । हालसम्म कोभिड–१९ को परीक्षणको दायरामा विदेशबाट फर्केर सरकारी निकायको सम्पर्कमा आएका शंकास्पद लक्षण देखिएकाहरू मात्र रहेका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले दिनमा करिब १५ सयको परीक्षण गर्नै पर्ने बताए । ‘यो क्रम १० दिनसम्म जारी रहेपछि १५ हजार जनाको परीक्षण प्रतिवेदनका आधारमा मात्र यो संक्रमण स्थानीय रूपमा सरे–नसरेको थाहा पाइन्छ,’ उनले भने ।

उनले सबै जिल्लाका ज्वरो, खोकीका शंकास्पद व्यक्तिहरूलाई परीक्षणको दायरामा ल्याउनुपर्ने बताए । मनाङ, मुस्ताङ, नाम्चे, लुक्ला लगायतका पहाडी क्षेत्रसंगै सीमावर्ती सहरबाट व्यापक नमुना संकलन गरेर परीक्षण गर्न जरुरी रहेको उनको भनाइ छ ।
वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले परीक्षण किटसमेत उपलब्ध भइसकेकाले भारत समेतबाट सम्पर्कमा आउनेहरूको परीक्षण गर्नुपर्ने बताए । ‘परीक्षण एकदमै पुगेको छैन,’ उनले भने ।

लक्षण नदेखिएका संक्रमितहरूले समेत कोभिड–१९ अन्य व्यक्तिमा सार्न सक्ने तथ्यलाई नबिर्सन आग्रह गर्दै डा. वन्तले भने, ‘सबैले बेलैमा बुझ्न जरुरी छ, लकडाउन कोभिड–१९ परीक्षणको विकल्प होइन ।’

नेपालमा कोभिड–१९ को संक्रमण किन कम भयो भनेर विदेशी विज्ञहरूले चासो राख्न थालेको डा. मरासिनीले बताए । ‘हामीकहाँ यो संक्रमण कम हुनुको कारण बीसीजी खोप लगाउने चलन त होइन भनेर अस्ट्रेलियामा अध्ययन सुरु भएको छ,’ उनले भने ।

लकडाउनका कारण संक्रमण फैलिने सम्भावना कम हुने भएकाले यो समय परीक्षण बढाएर संक्रमित फेला पार्दै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने विज्ञहरू बताउँछन् । एक साताका लागि लगाइएको लकडाउन एक साता थपिएको छ ।

‘६० वर्षमुनिलाई पनि जोखिम’
विश्व स्वास्थ्य संगठन (डब्लू्एचओ) का विशेषज्ञहरूले कोभिड–१९ बाट ६० वर्ष मुनिका व्यक्तिहरू पनि ढुक्क रहने स्थिति नरहेको बताएका छन् । कोभिड–१९ ले विभिन्न मुलुकमा ६० वर्ष ननाघेका धेरैलाई मृत्युको मुखमा पुर्‍याएको छ ।

डब्लूएचओको हेल्थ इमर्जेन्सीका कार्यकारी निर्देशक डा. माइकल रायनले जेनेभामा हालै भएको भर्चुअल पत्रकार सम्मेलनमा भनेअनुसार कोभिड–१९ बाट बढी उमेर र रोगको सिकार भएकाहरू अन्य उमेर समूहको दाँजोमा बढी प्रभावित भइरहेका छन् । ‘तर कोरियामा ज्यान गुमाएका २० प्रतिशत ६० वर्षमुनिका छन्,’ उनले भने, ‘जर्मनी र अन्य मुलुकमा ५० वर्षमुनिका १० देखि १५ प्रतिशत व्यक्तिमा कोरोनाको मध्यम वा गम्भीर संक्रमण देखिएको छ ।’

कोभिड–१९ संक्रमण धेरैजसो युवाका लागि हलुका संक्रमण भए पनि २० वर्षदेखि ६० वर्ष उमेरका व्यक्तिहरूमा बढी संक्रमण देखिएको डा. रायनको भनाइ छ । ‘म एउटा कुरा बारम्बार भन्छु, संक्रमित वयस्क र युवाका लागि यो रुघाखोकी (फ्लु) होइन,’ उनले भने ।

कम आयु भएका व्यक्तिका लागि कोभिड–१९ घातक र गम्भीर रोग नभए पनि यो अन्य थुप्रै व्यक्तिका लागि गम्भीर रोग बन्न सक्ने भएकाले विशेषज्ञहरू चिन्तित छन् । उनीहरूका अनुसार यो संक्रमण बढी युवामा फैलिएको छ तर पाको उमेर भएकाहरूको धेरै मृत्यु भएको छ ।

‘कोभिड–१९ सबै उमेर समूहमा संक्रमण र गम्भीर रोग उत्पन्न गर्न सक्षम छ,’ डब्लूएचओ इमर्जेन्सी डिजिज एन्ड जुनोसिसकी प्रमुख डा. मारिया वैन केरखोवले भनिन्, ‘चीन, अमेरिका, इटाली, इरान, कोरिया, जापानलगायत मुलुकको तथ्यांकअनुसार यो भाइरस सामान्य, मध्यम र गम्भीर रोगको कारण बन्न सक्छ ।’ उनले बच्चामा यो हलुका रोगका रूपमा देखिने बताइन् । ‘चीन र अमेरिकामा एक–एक जना बच्चाको यो रोगले मृत्यु भएको रिपोर्ट छ ।’

युवामा यो संक्रमण कम देखिए पनि उनीहरूले अन्य व्यक्तिलाई सारेर समाजमा फैलाउँछन् । युवा सबैभन्दा चलायमान समूह हो । नेपालमा पनि कोभिड–१९ संक्रमण देखिएका १९ देखि ३४ वर्षसम्मका छन् । उनीहरू विदेशबाट आएका हुन् ।

कोभिड–१९ को खोप आउन अझै एकदेखि डेढ वर्ष लाग्ने डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले बताए । ‘अझै हामीले चाँडै पहिचान गरी संक्रमितहरूलाई आइसोलेसनमा राखेर उपचारसँगै उनीहरूको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्नुपर्छ,’ उनले भने ।

प्रकाशित : चैत्र १८, २०७६ २०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×