कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लन्डनमा कार्यरत नेपाली चिकित्सकको अनुभव : ‘स्थिति भयावह देखिन्छ’

बेलायतका सबै अस्पताल कोभिड बिरामीले मात्रै भरिन थालेका छन् । हाम्रोमा अन्य अस्पतालजस्तै ‘डेडिकेटेड कोभिड वार्ड’ छ । सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुनसक्‍ने र नन कोभिड बिरामीका लागि क्लिन एरिया छुट्टाइएको छ ।

काठमाडौँ — करिब दुई दशकदेखि चिकित्सा पेसामा आबद्ध मोहन थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उनी विगत १७ वर्षदेखि बेलायतमा छन् । 

लन्डनमा कार्यरत नेपाली चिकित्सकको अनुभव : ‘स्थिति भयावह देखिन्छ’

यतिखेर कोभिड १९ संक्रमण बढेसँगै उनको दिनचर्या बदलिएको छ । कोभिड १९ बिरामीसँग प्रत्यक्ष घुलमिल गर्ने डा. थापाको अनुभव उनकै शब्दमा यस्तो छ:


कोभिड १९ चीनमा भर्खर सुरु हुँदा धेरै टाढाको रोगजस्तो लाग्थ्यो । जब युरोपमा संक्रमण देखिन थाल्यो, फेब्रुअरीदेखि हाम्रो अस्पतालमा तयारी सुरु भयो ।


हाम्रोमा ९ मार्चमा कोरोना भाइरसले पहिलोपटक एकजना बिरामीको मृत्यु हुँदा बीबीसीमा समाचार बनेको थियो । अहिले बेलायतमा दिनहुँ सयौं जना मर्न थालेका छन् । सुरुका दिन थोरै केस आउँदा व्यवस्थापन सजिलो थियो । अहिले बिरामी यति हुन थाले कि विशेष वार्डभित्र क्याबिनमा नराखी एकै ठाउँमा ओपन वार्डमा राख्नुपर्ने स्थिति छ ।


दुई सातादेखि अरु बिरामी धेरै कम आउन थालेका छन् । अहिले शंकास्पद कोभिड बिरामी दिनमा करिब ३० देखि ४० जनासम्म आउँछन् । बेलायतका सबै अस्पताल कोभिड बिरामीले मात्रै भरिन थालेका छन् । हाम्रोमा अन्य अस्पतालजस्तै ‘डेडिकेटेड कोभिड वार्ड’ छ । सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुनसक्ने र नन कोभिड बिरामीका लागि क्लिन एरिया छुट्टाइएको छ ।


अहिले संक्रमण ‘पिक’ मा पुगिरहेको छ । यसको मतलब केही साताभित्र कोभिड १९ बेलायतमा झन् भयावह हुने अवस्थामा छ । कोभिडका शंकास्पद बिरामी कोही हिँडेरै आउँछन् । कोही जीपी सर्जरीले अस्पताल जानु भनेर आउँछन् । कति एनएचएस–१११ नम्बरमा फोन गरेर अनि केही एम्बुलेन्समार्फत आफैं अस्पताल आइपुग्छन् ।


श्वासप्रश्वासमा गाह्रो, ज्वरो ३७.८ वा त्योभन्दा बढी, नयाँ सुक्खा खोकी निरन्तर लागिरहने, सिंगान बगिरहने, घाँटी, जीउ दुख्ने कोभिड १९ का लक्षण हुन् ।


बिरामीलाई एम्बुलेन्सबाट निकालेपछि सुरुमा कोभिड वेटिङ एरियामा राखिन्छ अनि ब्लड प्रेसर, तापक्रम, अक्सिजन लेभल, निमोनिया छ/छैन जाँचिन्छ । नेजल स्वाब लिइन्छ । डाइबिटिज, ब्लडप्रेसर, क्यान्सर, श्वासप्रश्वासको समस्या छैन, गर्भवती होइन र स्टेबल बिरामी अर्थात् एक्सरे गर्दा निमोनिया देखिएन, सबै क्लियर छ भने घर पठाउँछौं हामी ।

त्यस्ता बिरामीलाई अस्पतालले १४ दिनसम्म घरैमा बस्न सुझाउँछ र दैनिक फोन गरेर अवस्था बुझ्छ । पुरानो रोग भएका वृद्धवृद्धा वा सिभियर सिम्टम्स् ग्रुप आए भर्ना गरिहाल्नुपर्ने हुन्छ । कोभिड बिरामी भनेर आए पनि आधाजस्तो बिरामी घरैमा उपचार गरेर निको भएको पाइएको छ ।


अहिले डाक्टर, नर्स सबैमा त्रास छ । हाम्रो अस्पतालमा प्रत्यक्ष खटिइरहेका जुनियर डाक्टर, नर्स, हेल्थ केयर असिस्टेन्ट, पोर्टर, क्लिनर धेरै नेपाली छन् । सबैको सक्रिय योगदान छ । ती सबैको आत्मविश्वास (मोरल बुस्ट) बढाउनुपर्ने बेला आएको छ ।


बिरामी जाँच्न विश्व स्वास्थ्य संगठनको गाइडेन्सअनुसार पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाएर जानु भनेका छौं । पीपीई लगाएर लामो सिफ्ट काम गर्न सकिँदैन । त्यसकारण स्वास्थ्यकर्मीलाई कोभिड एरियामा बढीमा ३ देखि ४ घण्टा राख्ने गरिएको छ ।


बेलायतमा सरकारको पूर्ण तयारी देखिएको छैन । ब्रिटिस मेडिकल एसोसिएसनले पनि पर्याप्त पीपीईको व्यवस्था हुन सकेन भनेको छ । इन्टेन्सिभ केयर युनिट र हाई फ्लो अक्सिजन दिएर राखिएको वार्डमा बिरामी जाँच्न फूल पीपीई लगाउनैपर्छ ।


मास्क, सर्जिकल गाउन, पन्जा बेसिक पीपीई भए । हेड कभर, आँखा छोप्ने भाइजर, एफएफपी थ्री मास्क, सर्जिकल गाउन, डबल ग्लोभ्स, खुट्टा छोप्ने ओभर बुट्स आदि फूल पीपीई हुन् । अक्सिजन लेभल कम भएर हाइ फ्लो अक्सिजन दिन परे बिरामीलाई बेहोस बनाई इन्टेन्सिभ केयरमा ट्युब छिराएर भेन्टिलेटरबाट अक्सिजन दिइन्छ । यस्तो बेला फूल पीपीई आवश्यक पर्छ ।


कोरोना भाइरस सबैका लागि नयाँ अनुभव भएकाले मनोवैज्ञानिक डर, त्रास हुनु स्वाभाविक हो । व्यक्तिगत रुपमा मलाई पनि डर छ तर कन्सल्टेन्ट फिजिसियन भएकाले जुनियर डाक्टरलाई ‘पोजिटिभ इनर्जी’ दिनुपर्छ मैले । कोरोनालाई परिवार आउन, भेट्न नपाउने ‘क्रुल डिजिज’ भन्छु म त । त्यसकारण बिरामीले हामीलाई बढी विश्वास र भरोसा गरेका हुन्छन् । उनीहरूको रेखदेख हाम्रो दायित्व हो । अस्पताल भर्ना भएका बिरामी डिस्चार्ज हुँदा हामीलाई थप उत्साह मिल्छ ।


रोग लाग्दैमा आत्तिहाल्नुहुँदैन । धेरैलाई निको पनि भएको छ । युवा र पुरानो रोग नभएकालाई केही हुन्न भन्नेचाहिँ छैन । वृद्धवृद्धा र पुरानो रोग भएकालाई छिटो संक्रमण हुन्छ र उनीहरु बढी जोखिममा छन् ।


नेप्लिज डक्टर्स एसोसिएसन यूकेले पनि हालै जानकारीमूलक लिफ्लेट सार्वजनिक गरेको छ, त्यो अनुसरण गर्नुस् । तपाईंहरु सबै बेलायत सरकारको सल्लाह मानेर नियमित हात धुनुहोस् । जमघट नगर्नुहोस् । मानवीय संकटको बेला वरपरका असक्त, वृद्धवृद्धालाई पनि रेखदेख गर्नुस् ।


अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस्, मानसिक स्वास्थ्यको ख्याल गर्नुस्, आफूलाई बिजी राख्ने गर्नुस्, कोरोनाका आधिकारिकबाहेक समाचार धेरै नहेर्नुस्, यति मरे उति मरे भनेर गणना नगर्नुस् । रोग लागे पनि स्वास्थ्य हुनुहुन्छ भने नियन्त्रण हुन्छ तर समय लाग्छ । यसमा धैर्यता आवश्यक छ । सबैजना घरैमा बसेर कोभिड १९ नियन्त्रणमा सहयोग गर्नुस्, हाम्रो त्यही अपिल छ ।


प्रस्तुति: नवीन पोखरेल

प्रकाशित : चैत्र १७, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?