बेलायतमा किन अनियन्त्रित भयो कोरोना ?

बुद्धिसागर मरासिनी

काठमाडौँ — दैनिकीमा व्यस्त बेलायतीहरू त्यतिबेलामा झसंग भए, जतिबेला आफ्नै युवराजलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । त्यसअघि उपस्वास्थ्यमन्त्री नदिन डोरिसलाई पनि भाइरसको संक्रमण देखिएको भए पनि अधिकांश बेलायतीहरु गम्भीर रुपमा लिएका थिएनन् । 

बेलायतमा किन अनियन्त्रित भयो कोरोना ?

चीनको वुहानबाट गतवर्षको अन्त्यमा फैलिएको भाइसरले इटालीलाई गाँजिसकेको थियो । स्पेनमा पनि संक्रमणको दर तीव्र रुपमा बढिरहेको थियो । युरोपका अन्य केही देशका सरकारहरू पनि भाइरसविरुद्धको अभियानमा लागिसकेका थिए ।

तर बेलायतीहरु भने आफ्नो दैनन्दिनका उल्झनमा व्यस्त थिए । सार्वजनिक कार्यक्रममा खासै सहभागी नहुने र निकै कम भेटघाट गर्ने युवराजलाई पनि कोभिड–१९ को संक्रमण देखिएपछि आम नागरिक त्रसित हुनु स्वभाविक नै हो । बेलायती सञ्चारमाध्यमका अनुसार चार्ल्स हाल स्कटल्याण्डस्थित निवासमा आइसोलेसनमा छन् ।


चार्ल्सलाई देखिएको पर्सिपल्ट प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री म्याट हानककमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भयो । भाइरसविरुद्धको देशव्यापी अभियानको नेतृत्व गरिरहेका प्रधानमन्त्री र उनका निकट सहयोगी स्वास्थ्यमन्त्रीमा संक्रमण देखिएपछि भने बेलायतीहरू थप सतर्क बने । हिँडडुलमा कमी ल्याए, अनि मनोरञ्जनका क्रियाकलाप रोके ।


बेलायतमा जनवरी ३१ मा पहिलोपटक कोभिड–१९ को संक्रमण देखिएको हो । चीनको वुहानबाट बेलायत पुगेका एकै परिवारका दुईजनामा भाइरस देखिएको हो । त्यतिबेलासम्म वुहानमा २ सय भन्दा बढी मानिसले ज्यान गुमाउनुका साथै १० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो ।


चीनबाहिर जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अमेरिका, सिंगापुर, फ्रान्स, भियतनामा र क्यानडामा पनि भाइरसको संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूटिओ) ले जनवरी ३० मा ‘अन्तर्राष्ट्रिय आपतकाल’ घोषणा गरेको थियो । पहिले बिरामी देखिएलगत्तै बेलायतले वुहानबाट हुने सम्पूर्ण उडानहरू स्थगित गरेको थियो । तर यसले मात्र बेलायतमा कोभिड–१९ को संक्रमण फैलिन भने रोकिएन ।


बेलायती व्यापारी स्टेभ वाल्समा फेब्रुअरी ६ मा भाइरस देखियो । तर पुष्टि हुनुअघिसम्म उनीमार्फत् कम्तीमा ११ जना संक्रमित भइसकेका थिए । सिंगापुरबाट भाइरस बोकेर फ्रान्स हुंदै आफ्नो देश फर्केका वाल्सले ५ जना बेलायती, ५ जना फ्रान्सेली र १ जना स्पेनी नागरिकमा सारिसकेका थिए । उनी भने हाल पूर्णरुपमा स्वस्थ छन् ।


त्यसयता बेलायतमा कोभिड–१९ को संक्रमणको गति सुस्त भएकाले पनि सरकार त्यति गम्भीर भइसकेको थिएन् । चीन तथा इटालीबाट सिकेर प्रधानमन्त्री जोनसनले तत्काल कडा कदम चाल्नुपर्थ्यो । तर त्यसमा उनी चुके । केही समय पर्ख र हेरको रणनीतिमा देखिएका कारण भाइरसको संक्रमण भित्रभित्रै निकै फैलियो । जब उनले त्यो चाल, स्थिति भयावह भइसकेको थियो ।

जोनसन नेशनल हेल्थ सर्भिसेज (एनएचएस) को भरमा पर्दा समेत भाइरस फैलनबाट रोक्न असफल भएका आंकलन गरिएको छ । एनएचएसका करिब १५ लाख स्वास्थ्यकर्मीले २४ घण्टामा १० लाख विरामी हेर्दै आएका भएपनि पछिल्लो समय यसको समयानुकूल सेवाप्रति आधाजसो बेलायतीले प्रश्न उठाउँदै आएका छन् ।


विभिन्न अनुसन्धानकर्ता तथा जनस्वास्थविद्हरूले बेलायत भाइरसको उच्च बढ्दै गएकाले अत्यावश्यकबाहेकका क्षेत्र तत्काल बन्द गर्न मार्च सुरूमै गरेको आग्रहलाई जोनसनले गम्भीरतापूर्वक लिएनन् ।


अनुसन्धाताहरूले हजारौं बेलायती नागरिकको ज्यान बचाउन १८ महिनासम्म कडा प्रतिबन्ध लगाउनुको विकल्प नरहेको मार्च १६ मै बताएका थिए । लन्डनस्थित इम्पेरियल कलेजका अनुसन्धाता तथा स्वास्थ्य मन्त्रालयका सल्लाहकार निल फर्गुसनले तत्काल लकडाउन नगरे २ लाख ६० हजार मानिसको मृत्यु हुनसक्ने तथ्यांक पेश गरेपछि भने मार्च २३ मा तीन साता लामो देशव्यापी लकडाउन घोषणा गर्न जोनसन बाध्य भए । तर स्थिति अनियन्त्रित भइसकेको थियो ।


फर्गुसनले यसअघि विश्वव्यापी रुपमा फैलिएका स्वाइन फ्लू, मेर्स–कोरोना भाइरस, इबोला, जिका भाइरस तथा डेंगूलागतका महामारीबारे अध्ययन, अनुसन्धान गरेको अनुभव छ ।

बेलायतमा कोभिड–१९ का कारण हालसम्म १ हजार २ सय जनाभन्दा बढीको ज्यान गइसकेको छ । तीमध्ये दुई जना नेपाली छन् । करिब २० हजार जनामा संक्रमण पुष्टि भएको छ ।


बेलायतमा १६ लाख मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका एज हेल्थ युकेलाई उद्धृत गर्दै तर डेलीमेलले जनाएको छ । तीमध्ये ७ लाख ६० हजार ५ सय ९० जना लन्डनबासी रहेका दाबी गरिएको छ । हाल करिब २० हजारमा मात्र संक्रमण पुष्टि भएपनि अन्यमा परीक्षण नगरिएको संस्थाको दाबी छ ।


यदि एज हेल्थको दाबीअनुसार संक्रमण फैलिइसकेको भए स्थिति नियन्त्रणमा लिन असम्भव देखिन्छ । जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरूले लकडाउनका लागि आग्रह गर्दागर्दै पनि ढिलाइ गरेपछि निकै आलाचित प्रधानमन्त्रीले आइसोलेसनबाटै पनि नागरिकलाई आश्वस्त पार्न खोजिरहेका छन् ।


३ करोड गृहणीलाई पठाइने पत्रमा कोभिड–१९ प्रति थप सतर्क बन्न आग्रह गरेका जोनसनले आइतबार एनएचएसका २० हजार पूर्वस्वास्थ्कर्मीलाई काममा फर्काइएको जनाएका छन् । तर चिकित्सा उपप्रमुख डा. जेनी ह्यारीले बेलायतको जनजीवन सामान्य अवस्थामा फर्कन कम्तीमा ६ महिना लाग्ने बताइरहेका बेला जोनसनको ३ साता लामो लकडाउनले के नतिजा ल्याउने छ त्यो हेर्न भने दुई साता कुर्नैपर्छ ।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : चैत्र १७, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?