कोरियामा संक्रमितको संख्या कम हुँदै

गोकुल थोकर

दक्षिण कोरिया — कोरियामा झन्डै दुई महिनाछि कोरोना संक्रमित संख्या दैनिक एक सयभन्दा कम भएको छ । आइतबार जारी भएको सरकारी तथ्यांकले ९८ जना संक्रमित पुष्टि भएको देखाएको छ । बिहीबार, शुक्रबार र शनिबार पनि नयाँ संक्रमितको संख्या सयकै हाराहारी थियो ।

कोरियामा संक्रमितको संख्या कम हुँदै

रोग नियन्त्रण तथा रोकथाम विभागले कोभिड–१९ नियन्त्रण उन्मुख रहेको पनि जनाएको छ । संक्रमितमध्ये ६० प्रतिशत बिरामी सिनछन्जी धार्मिक समूह थेगुसँग सम्बन्धित छन् भने थेगुसँगैको छाङ्दो अस्पतालबाट संक्रमित हुने १५ प्रतिशत जति छ ।


दक्षिण कोरियामा पहिलो पटक जनवरी २० मा कोभिड–१९ को संक्रमण देखा परेको थियो । आइतबार साँझसम्म ८ हजार ८ सय ९७ जना संक्रमित भएका छन् भने १ सय ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ६० जना विदेशीलाई संक्रमण पुष्टि भएको कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभाग (केसीडीसी) ले जनाएको छ ।


रोजगार अनुमति प्रणली (ईपीएस) मार्फत कोरिया आएका ३५ हजार कामदार र अध्ययनका लागि विभिन्न विश्वविद्यालयमा आएका विद्यार्थीसहित विभिन्न व्यापारिक क्षेत्रमा संलग्न ४५ हजारको हाराहारीमा नेपाली कोरियामा छन् । हालसम्म सबै नेपाली सुरक्षित छन् ।


‘धेरै नेपाली कम्पनीबाट बाहिर निस्किएका छैनन् । त्यसैले पनि नेपाली सुरक्षित छन्,’ कोरियाली सहर थेगुस्थित दोङसान मेडिकल कलेजका चिकित्सक राजेशचन्द्र जोशीले भने, ‘यहाँका धेरै कम्पनीलाई सरकारले अनिवार्य रूपमा संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने निर्देशिका नै जारी गरेको छ । सरकारले दिएको निर्देशन नमाने कम्पनी बन्द गराउनेसम्मको कारबाही हुन्छ ।’


कोरियाली चाड सलनाल (नयाँ वर्ष) को लामो बिदापछि कोरियामा रहेका नेपाली बाहिर निस्किएका छैनन् । सप्ताह अन्तमा नेपालीको भेटघाट गर्ने थलो सोलको दोङदेमुन सुनसान छ । २१ वटा नेपाली रेस्टुरेन्ट शुक्रबार, शनिबार र आइतबार भरिभराउ हुन्थ्यो । दोङदेमुनको चहलपहल कोरोना संक्रमणसँगै घटेको शुभेच्छा रेस्टुरेन्टकी जुनु गुरुङले बताइन् । ‘खासै मान्छे आउँदैनन् । सोलतिर संक्रमितको संख्या बढेको छ । त्यसैले कोही बाहिर निस्किँदैनन् । कहिलेसम्म यस्तो हुन्छ, थाहा छैन,’ उनले भनिन् । केही सञ्चालक रेस्टुरेन्ट बन्द गरेर नेपाल गएका छन् ।


नेपालीको बाक्लै भेटघाट हुने सुवनको हालत पनि उस्तै छ । धेरै रेस्टुरेन्ट खुले पनि ग्राहक छैनन् । ईपीएसमार्फत काम गर्न आएका नेपाली कम्पनीभित्रै छन् । ‘हाम्रो त यहीं नै ‘आइसोलेसन’ जस्तो भएको छ । दुई महिना भयो, बाहिर निस्किएको छैन ।’ ह्वासाङ्सी ख्यङगीदोमा काम गर्ने कृष्ण न्यौपानेले बताए ।

प्रकाशित : चैत्र ९, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?