फ्रान्समा क्वारेन्टाइनको समय लम्बिने
पेरिस — फ्रान्स सरकारले तोकेको १५ दिनको क्वारेन्टाइनको समय लम्बिने भएको छ । राष्ट्रपति एमानुयल म्याक्रोद्वारा घोषणा गरिएको १५ दिनको समय लम्ब्याएर कम्तिमा एक महिनादेखि ६ हप्तासम्म पुर्याइने राष्ट्रपतिका विज्ञान सम्बन्धी सल्लाहकार तथा पेरिसको बिसे अस्पतालका संक्रामक रोग विशेषज्ञ प्राध्यापक यच्दान पानाहले सार्वजनिक गरेका हुन् ।
उनले क्वारेन्टाइनको १५ दिने समय अत्यन्तै छोटो भएकाले भाइरस नियन्त्रणका लागि नपुग्ने भन्दै अझै एक महिना लब्याउनुपर्ने बताएका छन् ।
हालसम्म कोरोना भाइरसको उपचार गर्ने भ्याक्सिन र औषधि दुवै नभएकाले पनि क्वारेन्टाइनको समय लम्बिने तर्क उनले गरेका हुन् । 'हामीसित न भ्याक्सिन छ । न त औषधि नै पत्ता लागेको छ । यस्तो स्थितिमा क्वारेन्टाइनको अवधि डेढ महिना पुर्याउनुपर्छ,' उनले भने ।
यसैबीच सरकारले क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि नगरिकहरुले त्यसको पूर्ण पालना नगरेको भन्दै सरकारले क्वारेन्टाइनको अझै कडा नियम लागू गर्न आन्तरिक तयारी गरिरहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस्ः
कोरोना प्रभाव : फ्रान्समा हिँडडुल गर्न रोक
फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली
प्रकाशित : चैत्र ८, २०७६ १७:१३