कोरोना संक्रमण : अमेरिकामा न्यून परीक्षण

दिनेशजंग शाह

न्युयोर्क — कोभिड–१९ को महामारी अमेरिकाको ५० मध्ये ४९ राज्यमा फैलिएको छ । संक्रमितको संख्या मंगलबारसम्म ४ हजार ४ सय नाघेको छ । मृत्युको आँकडा सय नाघ्ने अवस्थामा छ । घण्टैपिच्छेका समाचार र सूचना अत्यासलाग्दा छन् । व्यापारिक, शैक्षिक एवं खेल प्रतियोगिता बन्द हुने क्रम बढ्दो छ । भाइरसले अमेरिकी अर्थतन्त्रलाई समेत प्रभावित बनाएको छ ।

कोरोना संक्रमण : अमेरिकामा न्यून परीक्षण

विश्व स्वास्थ्य संगठनले भाइरस नियन्त्रणका लागि ‘परीक्षण’ को रटान लगाइरहेको पृष्ठभूमिमा अमेरिकी सरकार भने परीक्षणको साटो आफ्ना नागरिकलाई घरभित्रै बस्न उर्दी जारी गरिरहेको छ । विकसित अन्य देशमा भइरहेको परीक्षण अनुपातमा अमेरिकामा निकै कम संख्यामा मात्र परीक्षण भइरहेको छन् । जब कि, गत आइतबारसम्म अमेरिकामा सम्भावित १६ हजार संक्रमित परीक्षण भएको तथ्यांक बाहिरिँदा उक्त मितिमै जनसंख्याका हिसाबले ६ गुणा सानो दक्षिण कोरियामा अढाइ लाखको परीक्षण भइसकेको थियो ।


गत जनवरी तेस्रो सातातिर जब केही चिनियाँलाई अमेरिका प्रवेशमा निषेध गरियो तब राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस कुनै ठूलो कुरा नभएको सार्वजनिक अभिव्यक्ति दिए । उनको कथन थियो, ‘अहिले पाँच जना मात्र संक्रमित छन् । विश्वास गरौं, सबै ठीक हुन्छ । हामीले प्रभावित देशलाई प्रतिबन्ध लगाउँदै छौं ।’ जब फेब्रुअरी ८ मा चिनियाँलाई अमेरिका भिसा पूर्णतः प्रतिबन्ध गरियो तब ट्रम्पको सार्वजनिक भनाइ आयो, सबै नियन्त्रणमा छ, चिन्ता छैन ।’ यतिसम्म कि, तीन साताअघिको भारत भ्रमणका क्रममा कोरोना भाइरससम्बन्धी पत्रकारको प्रश्नमा ट्रम्पको दाबी थियो, ‘हाम्रो देशमा कोरोना भाइरस, राम्रो तरिकाले नियन्त्रणमा छ ।’


अहिले पनि ट्रम्पले कोरोना भाइरस नियन्त्रणका हकमा आफ्नो मूल्यांकन, १० मा १० अंक रहेको अभिव्यक्ति दिँदै आएका छन् । यथार्थमा अमेरिकाको स्थिति ट्रम्पका आकलन र अभिव्यक्तिभन्दा फरक छ । अन्ततः धेरैको शंका एवं तारो, राजनीति र नीति निर्माणतर्फ सोझिएको छ । उदारवादीहरूको खुला चुनौती छ, ‘ग्लोबल वार्मिङ’ लाई वाहियात भन्ने अमेरिकी अनुदार राजनीति र उसको विज्ञानको तथ्यमाथि धावा प्रवृत्तिकै कारण यो महामारीमा अमेरिका संघर्षरत छ ।


एक थरीले कोरोना भाइरस आतंकलाई सन् ८० को दशकमा अमेरिकामा फैलिएको एड्स (एचआईभी) सँग तुलना गर्दै छन् । त्यतिखेर अमेरिकी अनुदार राजनीतिका आदर्श रोनाल्ड रेगन ह्वाइटहाउसमा आसीन थिए । रेगन सकभर एड्स शब्दावली उच्चारण गर्न रुचाउँदैनथे । उनको मान्यता थियो, यो ‘समलिंगी क्यान्सर’ हो । तर सन् १९८५ मा एचआईभी पीडित हलिउड स्टार रक हड्सन पेरिसमा संक्रमणमा परे । रेगनका पुराना दौंतरी हड्सन पेरिसस्थित सैनिक अस्पतालमा उपचार गर्न मरिहत्ते गर्दै थिए । गैरफ्रान्सेली भएका कारण, त्यो सम्भव थिएन । भनसुनका लागि उनले ह्वाइट हाउसमा सम्पर्क गरे । दौंतरीप्रति रेगनले खासै चासो दिएनन् । धेरै अनुनय विनयमा हड्सनले भर्ना त पाए तर रेगनको खासै सहानभूति थिएन । आलोचकहरू ठान्छन्, ८० को दशकमा अमेरिकामा तीव्र रूपमा एड्स फैलिनुमा रेगन प्रशासनको नीति सबैभन्दा जिम्मेवार थियो । अर्थात्, नियन्त्रणका प्रभावकारी प्रयास गरिएन ।


अहिले कोरोना आतंकमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले लिएको नीतिको तीव्र आलोचना भइरहेको छ । तीन महिनाअघि नै चीनमा आतंक मच्चाइसकेको भाइरसप्रतिको विशेषतः सावधानी र पूर्वतयारीमा ट्रम्प प्रशासन चुकेको प्रस्ट छ । सबैभन्दा डरलाग्दो पक्ष के भने, सटडाउनको प्रक्रिया यही रफ्तारले अघि बढे सम्भावित आर्थिक मन्दीको भयावहलाई नकार्न सकिँदैन । जसको भागीदारबाट ट्रम्प प्रशासन उम्किन सक्दैन ।


कोरोना भाइरसको आतंक, प्राकृतिक प्रकोप जस्तै हो । जहाँ, जसरी पनि फैलिन सक्छ । तर ट्रम्प प्रशासनका पक्षपाती एवं अनुदारवादी मिडियाले यो महामारीको दोष चिनियाँ सरकार र चिनियाँ खानातर्फ थोपरिरहे । बोर्डर सटडाउनको रटान लगाइरहे । यथार्थमा अमेरिकामा सबैभन्दा बढी युरोपको हवाई मार्गमार्फत भाइरस संक्रमित बढेको बताइन्छ । सरकारको बुद्धिमत्ता, पूर्वतयारी र आक्रमक नियन्त्रण उपायले कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने ताइवान, दक्षिण कोरिया र सिंगापुरको उदाहरणबाट अमेरिका चुक्यो ।


दुई वर्षअघि एटलान्टाको एक कार्यक्रममा ट्रम्प प्रशासनको स्वास्थ्यसम्बन्धी निर्देशक लुसियाना बोरियोले सरुवा रोगको महामारी अमेरिकामा खतरा हुन सक्ने चेतावनी दिएकी थिइन् । त्यसको अर्को दिन ट्रम्प प्रशासनले उनको नेतृत्वको विभाग नै खारेज गरिदियो । अर्कोतर्फ सरुवा रोग नियन्त्रणसम्बन्धी संघीय निकाय सीडीसीले बजेटमा ट्रम्प प्रशासनले भारी रूपमा बजेट कटौती गर्दै आएको तथ्य यहाँनेर स्मरणीय छ ।

प्रकाशित : चैत्र ५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?