चीनद्वारा सगरमाथा आरोहण तत्कालका लागि स्थगित

लक्ष्मी लम्साल

(बेइजिङ) — विश्वव्यापी कोभिड १९ महामारीका कारण चीनले पनि उत्तरी मोहडाबाट हुने सगरमाथा लगायत सबै खालका हिमाल आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। यसअघि नेपालले पनि गत फागुनको अन्तिममा वसन्त ऋतुका लागि पूर्वनिर्धारित आरोहणका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

चीनद्वारा सगरमाथा आरोहण तत्कालका लागि स्थगित

तिब्बत स्वशासित क्षेत्रले विदेशी आरोहण टोलीको यस वसन्त ऋतुको लागि पूर्वनिर्धारित तालिका रद्द गरेको घोषणा गरे पनि परिस्थिति विचार गरेर पुनः निर्णय लिने बताएको छ । आगामी हप्ता वा महिनामा विश्वव्यापी कोरोना महामारीको स्थिति कस्तो हुन्छ, त्यस बमोजिम पर्वतारोहण पुनः खुल्ला गर्नेबारे निर्णय गर्ने जारी विज्ञप्तिमा छ ।


कोरोना भाइरसको महामारीको संभावित खतरा टार्नका लागि मंगलबार यस्तो निर्णय गरिएको तिब्बतले जनाएको छ । यसअघि गत बिहीबार तिब्बत पर्वतारोहण संघले विश्वका विभिन्न ठाउँमा फैलिँदै गएकोले कोरोना भाइरसको संक्रमणप्रति चिन्ता व्यक्त गर्दै भनेको छ, ‘तिब्बत क्षेत्र उच्च लेकाली वातावरण र सीमित औषध स्रोतका कारण स्वासप्रश्वास समस्यामा ध्यान दिनुपर्ने हुन्छ।’

तिब्बतमा ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल, ७ हजार मिटरभन्दा अग्ला ७० वटा र ६ हजार मिटरभन्दा अग्ला १ हजारवटा हिमाली चुचुराहरू भएकाले विश्व पर्वतारोहणको आकर्षक केन्द्र मानिन्छ । सन् २०१८ मा वसन्त र शरद ऋतुमा ७५२ पर्वतारोही, पथप्रदर्शक र भरियासहित ३६ मुलुकका आरोहीले तिब्बती पर्वतहरू आरोहण गरेका थिए । गत वर्ष सन् २०१९ मा शरद ऋतुको आरोहण स्थगित भएपछि २९५ पर्वतारोहीमा तिब्बत पुगेका थिए । तीमध्ये २४१ ले मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेका थिए । तीमध्ये ९४ जना विदेशी र १०८ जना नेपाली पर्वतारोही पथप्रदर्शक रहेको चाइना डेलीले जनाएको छ ।


प्रकाशित : चैत्र ४, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?