विदेशी नराेकिएका कारण दार्जिलिङवासी चिन्तित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी नराेकिएका कारण दार्जिलिङवासी चिन्तित

काेराेना सन्त्रास
मनोज बोगटी

दार्जिलिङ — कोरोना भाइरस संक्रमण रोक्न भुटान र सिक्किममा विदेशी पर्यटकलाई रोक लगाइए पनि छिमेकी दार्जिलिङले रोक नलगाउँदा स्थानीय चिन्तित भएका छन् ।

फाइल तस्बिरः राेयटर्स


डुवर्सस्थित भुटान सीमामा भुटान सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न निःशुल्क ह्यान्ड स्यानिटाइजर वितरण गर्न कन्टेनर राखेको छ । स्वास्थ्यकर्मीका अनुसार भुटानभरि नै यसप्रकारको पहल सुरु गरिएको छ । भुटान प्रवेश गरिरहेका सबैको स्क्रिनिङ जारी छ । सिक्किममा पनि हरेक नागरिकको स्क्रिनिङ चलिरहेको छ ।


सिक्किम प्रहरीले भारतीय पर्यटकसम्मको जाँचलाई चुस्त गरिएको बताए पनि दार्जिलिङमा भने विदेशी पर्यटकको घुमफिरमा रोक लगाइएको छैन । दार्जिलिङमा दैनिक सयौं पर्यटकको आवातजावत हुने गरेको छ । कोरोना भाइरसलाई लिएर सबैतिर सतर्कता अपनाइँदा दार्जिलिङमा विदेशी पर्यटकलाई भ्रमण खुला गरिएको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पश्चिम बंगाल सरकारले विदेशीलाई रोक्न कुनै पहल नगरे पनि केन्द्रीय गृहसचिव अजय भल्लाले हरेक सीमा नाकामा सुरक्षा जाँच र निगरानी चुस्त गर्न निर्देशन दिएका छन् ।


संक्रमण नफैलियोस् भनेर दार्जिलिङका स्थानीय मास्क लगाएर हिँड्न थालेका छन् । हरेक विद्यालयले विद्याथीलाई ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न र मास्क लगाउन निर्देशन दिएसँगै यसको प्रयोगमा वृद्धि भएको छ, जसले गर्दा स्यानिटाइजरको स्टक सकिएको छ । यद्यपि मास्क भने पर्याप्त मात्रामा रहेको दार्जिलिङका अधिकारीहरूले बताएका छन् ।


दार्जिलिङका सांसद राजु विष्टले कोरोना भाइरसको प्रकोपबाट दार्जिलिङ पहाडी क्षेत्रलगायत तराई–डुवर्स क्षेत्रलाई सुरक्षित राख्न तत्काल प्रभावकारी कदम चाल्न र विशेषज्ञ टोली खटाउन राज्य तथा केन्द्र सरकारसँग माग गरेका छन् । उनले दार्जिलिङ र कालेबुङ जिल्लाका सीमामा तत्काल कोरोना भाइरस स्क्रिनिङको सुरुवात गर्न पनि आग्रह गरेका छन् ।


‘डुवर्स, नेपाल, भुटान, बंगलादेश र चीनको अन्तर्राष्ट्रिय सीमालगायत असम र सिक्किम राज्यको सीमासँग जोडिएका कारण पनि दार्जिलिङमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना छ,’ विष्टले भनेका छन्, ‘यसैले पनि यी संवेदनशील क्षेत्रमा तत्काल आवश्यक पहल अनिवार्य छ ।’


सांसद विष्टले दार्जिलिङवासीलाई आतंकित नबन्नका लागि पनि आह्वान गरेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना प्रभाव : भुटानमा पर्यटकलाई दुइ साता प्रवेश रोक

मनोज बोगटी

दार्जिलिङ — भुटान सरकारले दुइ साताको लागि पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ। भुटानमा एक अमेरिकी नागरिकलाई कोरोना भाइरस (कोविड-१९) संक्रमित भएको पुष्टि भएपछि भुटान सरकारले पर्यटकलाई प्रवेशमा रोक लगाएको हो । 

भारत-भुटान सिमा जयगाउँमा दुवैतिरबाट नागरिकहरूमा निगरानी चुस्त पारिएको छ। जयगाउँ ट्राभल्स वेलफेयर एसोसिएसनका अध्यक्ष सुरेश ठकुरीले पर्यटकमा रोक लागेकोले भारत र भुटानमा पर्यटन ठप्प भएको बताए ।

भारत-भुटान सिमा जयगाउँ र फुन्सोलिङमा स्क्रिनिङ जारी छ। यता दार्जिलिङका जिल्ला शासक दीपाप प्रिया पी.ले नेपालसित जोडिएको सिमा पानीट्यांकी र बंगलादशसित जोडिएको सिमा फाँसीदेवामा निगरानी कडा गरिएको जानकारी दिए । ‘बाघडुगरा हवाई अड्डामा अहिलेसम्म १ सय ८२ जना विदेशी नागरिकको स्क्रिनिङ भइसकेको छ,' जिल्ला प्रशासक प्रिया पी.ले भने, ‘सिक्किम र भुटानमा विदेशी पर्यटकलाई रोक लगाएको छ, तर भारत सरकारले यसप्रकारको कुनै आदेश जारी गरेको छैन् ।’

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले बंगालमा कोरोनालाई लिएर आतंकित हुनुपर्ने कुनै कारण नरहेको बताएकी छन् । बनर्जीले विभिन्न मन्त्रालयका अधिकारीहरूसित बैठक गरेकी छन्। उनले बंगालमा कोरोनालाई लिएर सरकारले सबै प्रकारका गतिविधिलाई चुस्त राखेको जानकारी दिइन ।

दार्जिलिङ क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले दार्जिलिङ भित्रिएका विदेशी पर्यटकहरूमाथि निगरानी भइरहेको बताए । जिल्ला अस्पतालमा आइसोलेसन वार्ड तयार पारिएको उनले बताए ।

दार्जिलिङ जिल्ला स्वास्थ्य अधिकारी प्रलय आचार्यले उत्तर बंगाल, नेपाल, भुटान, बंगलादश, चीनको सिमा क्षेत्र रहेकोले पनि अरूभन्दा धेर सतर्कता अपनाइनुपर्ने बताए । उनले उत्तरबंगाल मेडिकल कलेज एवं हस्पिटल र दार्जिलिङ जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमितको लागि उपचारका सबै प्रविधिलाई चुस्त राखिएको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २४, २०७६ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×