कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कोरोना संक्रमण रोक्न सिक्किममा विदेशीलाई प्रतिबन्ध

मनोज बोगटी

दार्जिलिङ — सिक्किम सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न ‘इनर लाइन’ पर्मिट बन्द गरेको छ । विदेशी आगन्तुकलाई सिक्किम प्रवेशमा रोक लगाउन पर्मिट बन्द गरिएको हो । यसमा नेपाली नागरिक पनि पर्ने छन् ।

कोरोना संक्रमण रोक्न सिक्किममा विदेशीलाई प्रतिबन्ध

भुटानमा एक अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमण भएलगत्तै सिक्किम सरकारले विदेशीलाई आफ्नो भूभाग प्रवेशमा रोक लगाएको हो । भारतभर कोरोना संक्रमितको संख्या ३० पुगेकाले सुरक्षात्मक उपाय खोज्दै ‘इनर लाइन पर्मिट’ बन्द गरेको सिक्किमका राज्यपाल गंगाप्रसादले जनाएका छन् ।


राजभवनले जारी गरेको विज्ञप्तिमा विदेशी नागरिक वा पर्यटकलाई सिक्किम प्रवेश गर्न अनुमति नदिने र विशेष नाकामा सतर्कता बढाउन निर्देशन दिइएको उल्लेख छ । चीनसँग सीमा जोडिएको व्यापारिक नाका ‘नाथुला पास’ जान पनि सिक्किम सरकारले रोक लगाएको छ । नेपालसँग सीमा जोडिएका नाकासहित रम्फू र मल्ली चेकपोस्टमा निगरानी बढाइएको छ भने चेकजाँचलाई चुस्त पारिएको छ । दुवै नाकामा खटिएका स्वास्थ्यकर्मीले हालसम्म कोभिड–१९ को लक्षण भएका कोही नभेटिएको जनाएका छन् । पर्टयनका हिसाबले चर्चित नाथुला र छाङ्गु दुवैमा विदेशी पर्यटक छिर्न दिइएको छैन । भर्खरै सिक्किम फर्किएका चीनमा अध्ययनरत पाँच विद्यार्थीमा पनि भाइरस संक्रमणको नभेटिएको सिक्किम स्वास्थ्य विभागले जनाएको छ ।


सिक्किमसँग सीमा जोडिएको पश्चिम बंगाल सरकारले पनि कोरोना भाइरस संक्रमण रोकथामका लागि विशेष सतर्कता सुरु गरेको छ । सिलगढी र वरपरका क्षेत्रमा स्वास्थ्य विभागका टोली तैनाथ गरिएका छन् । भारत–नेपाल सीमा पानीट्यांकीमा जाँच र निगरानी कडा गरिएको छ । सीमा वारपार गर्ने सबैलाई सशस्त्र सीमा बलको टोलीसहित पश्चिम बंगाल राज्य स्वास्थ्य विभागका कर्मचारीले निगरानी कडा गरेका छन् । बागडोगरा एयरपोर्टमा अलर्ट जारी गर्दै सबै विदेशी नागरिकलाई स्क्रिनिङ गर्ने गरिएको छ । विशेषगरी थाइल्यान्ड, भुटान र ढाका उड्ने यात्री निगरानीमा छन् । भुटानमा कोरोना संक्रमित पाइएलगत्तै निगरानी अझ चुस्त पारिएको हो ।

सिक्किममा ‘इनर लाइन पर्मिट’ बन्द गरेलगत्तै पर्यटन व्यवसायमा व्यापक असर देखिएको छ । सिलगढीका टुर अपरेटर तथा हिमालयन टुरिज्म एन्ड ट्राभल नेटवर्कका महासचिव सम्राट सन्यालले सिक्किममा महिनामा ४ सयभन्दा धैरै पर्यटक आउने गरेकोमा यो संख्यामा कटौती हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘सिक्किम युरोपलगायत दक्षिण पूर्वी एसियाका पर्यटकको गन्तव्य बनिसकेको छ । दक्षिण पूर्वी एसियामै कोरोना भाइरसको आतंक छ,’ सन्यालले भने, ‘अहिले पर्यटक आउन बन्द भइसकेका छन् । इनर लाइन पर्मिट बन्द गरेलगत्तै पर्यटन व्यवसाय चौपट बन्ने स्थिति बनेको छ ।’

प्रकाशित : फाल्गुन २३, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?